नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व क्यान्सर दिवस २०२६ को अवसरमा नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले क्यान्सरविरुद्ध जनचेतना अभिवृद्धि, सुलभ औषधि पहुँच र नैतिक औषधि व्यवसाय प्रवर्द्धनप्रति प्रतिबद्धता व्यक्त गरेको छ।
सन्देशमा क्यान्सर नेपालका लागि गम्भीर सार्वजनिक स्वास्थ्य चुनौती बन्दै गएको उल्लेख गर्दै समयमै सही जानकारी, प्रारम्भिक पहिचान र वैज्ञानिक उपचारबाट क्यान्सर नियन्त्रण सम्भव रहेको स्पष्ट पारेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सर विश्वव्यापी रूपमा मृत्युको दोस्रो प्रमुख कारण भए पनि करिब ४० प्रतिशत क्यान्सर जीवनशैली सुधार र सचेतनाबाट रोकथाम गर्न सकिने रोग भएको संघको भनाइ छ।
नेपालमा अझै पनि क्यान्सरको वास्तविक अवस्था पूर्ण रूपमा अभिलेखमा नआएको, ग्रामीण क्षेत्रमा नियमित स्क्रिनिङको अभाव, सामाजिक डर, गरिबी र उपचार पहुँचको कमीका कारण धेरै बिरामी समयमै उपचारबाट वञ्चित भइरहेका छन्। फोक्सो, पाठेघरको मुख, स्तन, पेट, मुख तथा रगतसम्बन्धी क्यान्सर नेपालमा उच्च दरमा देखिएको संघले जनाएको छ।
संघले नक्कली औषधि, स्वयम् औषधि सेवन, भ्रामक उपचार पद्धति तथा अवैध औषधि कारोबारले क्यान्सर उपचारलाई थप जटिल बनाइरहेकोप्रति चिन्ता व्यक्त गर्दै औषधि व्यवसायीहरू स्वास्थ्य प्रणालीका विश्वसनीय मार्गदर्शक र सचेतनाका संवाहक भएको उल्लेख गरेको छ।
विश्व क्यान्सर दिवसको अवसरमा संघले क्यान्सरसम्बन्धी जनचेतना अभियान विस्तार गर्ने, बिरामीमैत्री औषधि पहुँच सुनिश्चित गर्न सरोकारवालासँग सहकार्य गर्ने, औषधि व्यवसायलाई अझ नैतिक, पारदर्शी र उत्तरदायी बनाउने तथा सुलभ क्यान्सर औषधि र उपचार प्रणालीका लागि वकालत गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।
संघले क्यान्सरविरुद्धको लडाइँ चिकित्सक वा अस्पतालको मात्र जिम्मेवारी नभई राज्य, स्वास्थ्यकर्मी, औषधि व्यवसायी, समुदाय र प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै क्यान्सरविरुद्धको अभियानलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउन आह्वान गरेको छ।
धूम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग, पोषणयुक्त खानपान, सक्रिय जीवनशैली, एचपिभी खोप प्रवर्द्धन र नियमित स्वास्थ्य परीक्षणलाई क्यान्सर रोकथामका प्रमुख आधारका रूपमा अंगाल्नुपर्ने संघको जोड छ।
औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र महासचिव शुभ मान श्रेष्ठले संयुक्त रूपमा जारी गरेको सन्देशमा क्यान्सरसँग होइन, क्यान्सरविरुद्ध लड्न, डर होइन आशा जगाउन र जीवनसँग उभिन सबैलाई आग्रह गरेका छन्।
देउराली जनताको फड्कोः चितवनमा ४.७५ अर्बको अत्याधुनिक नयाँ कारखाना बनाउँदै
बुधबार, माघ २१, २०८२
माघ २ गतेदेखि सुरु हुँदै ‘एपोन कप फूटसल २०२६’, १६ टिमको सहभागिता
सोमबार, पुस २८, २०८२
राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिको सरकारलाई आग्रहः 'सहमति समयमै कार्यान्वयन होस्'
मंगलबार, मंसिर १६, २०८२

