नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले स्वदेशी औषधि उत्पादनले राष्ट्रिय अर्थतन्त्रलाई मजबुद बनाउन महत्वपूर्ण टेवा पु¥याएको बताउनुभएको छ । आयातित औषधिलाई प्रतिस्थापन गर्दै स्वदेशी उद्योगले गुणस्तरीय र सर्वसुलभ औषधि उत्पादन गर्न थालेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।
ललितपुरस्थित हिमालय होटलमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ को दशौं संस्करणको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक ढकालले स्वदेशी औषधि उत्पादकहरुलाई आफ्ना कमी–कमजोरी सुधार गर्दै अझ प्रतिस्पर्धी र व्यवसायिक बन्न आग्रह गर्नुभयो । ‘आन्तरिक उत्पादन वृद्धि हुँदै जानु सकारात्मक संकेत हो, अब गुणस्तर, पारदर्शिता र नवप्रविधिमा थप ध्यान दिनुपर्छ’— उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगले उच्च प्रविधिको प्रयोगमार्फत देशमै गुणस्तरीय औषधि उत्पादन गरिरहेको दाबी गर्नुभयो । उपभोक्तालाई पूर्ण विश्वस्त बनाउन उद्योगहरू सफल भएको उहाँको भनाइ थियो ।
‘हामीले हिजो गरेका अनुसन्धान र आविष्कार आजको औषधि उद्योगको आधार बनेका छन् । आजको नवीन सोच र प्रविधिमा गरिने लगानीले भोलिको स्वस्थ नेपालको भविष्य सुनिश्चित गर्नेछ’— अध्यक्ष अधिकारीले भन्नुभयो—‘यो एक्स्पो केवल प्रदर्शनी मात्र होइन, नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने बलियो खुड्किलो हो ।’
एक्स्पो संयोजक सन्तोष बराल आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा ‘फर्मामा नवीनताः भोलिको लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ एक्स्पो आयोजना गरिने जानकारी दिनुभयो । एक्स्पोले नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य राखेको आयोजकको भनाइ छ ।
यस पटकको एक्स्पोमा २०० भन्दा बढी स्टल रहनेछन् । औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चापदार्थ, प्याकिङ सामग्री तथा मेसिनरीहरूको प्रदर्शन गरिनेछ । विशेषगरी ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहनेछ जसले विश्व बजारमा उपलब्ध नवीनतम प्रविधि नेपाली बजारसँग जोड्नेछन् । बाँकी १० प्रतिशत स्टलमा स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरू प्रदर्शन गरिनेछ ।
संघका महासचिव बरालले नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधि उत्पादन हुने विषय धेरैलाई थाहा नभएको उल्लेख गर्दै एक्स्पोमार्फत सरोकारवाला र सर्वसाधारणमा विश्वास अभिवृद्धि गर्ने लक्ष्य रहेको बताउनुभयो । औषधि क्षेत्रको ज्ञान लिन इच्छुक सबैका लागि प्रवेश निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो ।
यसपटक एक्स्पोलाई उत्सवका रूपमा मनाउन विभिन्न पूर्व–कार्यक्रमहरू पनि आयोजना गरिएको छ । माघ २ र ३ गते १६ उद्योगको सहभागितामा फुटसल प्रतियोगिता सम्पन्न भइसकेको छ भने फागुन ८ र ९ गते ८ उद्योगको सहभागितामा ‘क्रिकसल’ प्रतियोगिता आयोजना गरिनेछ ।
एक्स्पोका मिडिया कोअर्डिनेटर शैलेश वैद्यले फागुन ४ र ५ गते १०० जना म्यानेजर र १०० जना औषधि बजार प्रतिनिधि (एमआर) का लागि विशेष तालिम तथा सेमिनार सञ्चालन गरिने जानकारी दिनुभयो । प्राविधिक क्षमता अभिवृद्धिका लागि एक्स्पोको एक दिनअघि फागुन २७ गते क्वालिटी कन्ट्रोलमा कार्यरत फर्मासिस्टहरूका लागि अन्तर्राष्ट्रिय प्राविधिकबाट विशेष सेमिनार आयोजना गरिने आयोजकले जनाएको छ ।
एक्स्पोको पहिलो दिन फागुन २८ गते बिहान ८ बजे भव्य प्रभातफेरीसहित औपचारिक उद्घाटन गरिनेछ ।
एफएनसीसीआई कार्यकारिणीमा एपोन अध्यक्ष विप्लव अधिकारीको उम्मेदवारी घोषणा
बुधबार, चैत ११, २०८२
खुद्रा औषधि व्यवसायीलाई क्षयरोग नियन्त्रणमा साझेदार बनाउन आग्रह
मंगलबार, चैत १०, २०८२
नेपालमै क्यान्सर औषधि—स्वदेशी सम्भावनाको कथा
बुधबार, चैत ४, २०८२
‘नेपाल फर्मा एक्स्पो २०२६’ मा १२ हजारभन्दा बढीको अवलोकन
आइतबार, चैत १, २०८२
