नेभिगेशन

एचआईभी संक्रमितमा यौनरोगको समस्या

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । रोजगारीका लागि विदेश गएर स्वदेश फर्किएका व्यक्तिहरूमा यौनजन्य रोगको समस्या तुलनात्मक रूपमा बढी देखिएको एक अध्ययनले देखाएको छ।

भरतपुर अस्पताल र नारायणी अस्पताल वीरगञ्जस्थित एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) केन्द्रले संयुक्त रूपमा गरेको परीक्षणमा यस्तो तथ्य सार्वजनिक भएको हो।

दुवै अस्पतालमा गरिएको परीक्षणका क्रममा कुल एक हजार ६३७ जनामध्ये १०२ जनामा विभिन्न प्रकारका यौनजन्य रोग फेला परेका छन्। भरतपुर अस्पताल एआरटी केन्द्रका प्रमुख कृष्णहरि सापकोटाका अनुसार संक्रमितमध्ये ३२ जना वैदेशिक रोजगारीबाट फर्किएका कामदार रहेका छन्।

त्यस्तै, यौन व्यवसायमा संलग्न ६ जना, उनीहरूका २२ जना साझेदार, ११ जना तेस्रो लिङ्गी र अन्य ३१ जना विभिन्न समूहका व्यक्तिमा पनि संक्रमण देखिएको छ।

अध्ययनअनुसार सबैभन्दा बढी ८८ जनामा भिरिङ्गी (सिफिलिस) को संक्रमण पुष्टि भएको छ। यसबाहेक भेरिना, पाठेघरसम्बन्धी संक्रमण तथा ढुसीजन्य समस्या समेत देखिएको जनाइएको छ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले असुरक्षित यौन सम्पर्क नै यस्ता रोग फैलिनुको मुख्य कारण रहेको बताउनुभयो। उहाँले सुरक्षित यौन व्यवहार अपनाउन र नियमित स्वास्थ्य परीक्षण गराउन सबैलाई आग्रह गर्नुभएको छ। स्वास्थ्यकर्मीहरूले जोखिम समूहमा पर्ने व्यक्तिहरूलाई सचेतना कार्यक्रममार्फत सुरक्षित व्यवहार अपनाउन प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट