नेपाल हेल्थ न्युज, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर सुँगुर तथा बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सम्भावित जोखिम रहेको भन्दै किसानलाई सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका अनुसार हालसम्म यस रोगविरुद्ध प्रभावकारी खोप उपलब्ध नभएकाले फार्महरूमा कडाइका साथ जैविक सुरक्षा मापदण्ड अपनाउनुपर्ने आवश्यकता रहेको छ।
मन्त्रालयले अस्वाभाविक रूपमा सुँगुर वा बङ्गुर मरेको देखिएमा नजिकैको पशु सेवा केन्द्र, स्थानीय तह वा सम्बन्धित निकायमा तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ। रोगको संक्रमण घरपालुवा सुँगुर, बङ्गुर र जंगली बँदेलमा देखिने बताइएको छ।
संक्रमित पशुमा उच्च ज्वरो (१०४–१०७ डिग्री फारेनहाइटसम्म), कान, पुच्छर तथा पेटको तल्लो भाग रातो देखिनु, शरीरमा निलो धब्बा देखापर्नु, खाना नखानु, बान्ता गर्नु तथा अस्वस्थ व्यवहार देखिनुजस्ता लक्षण देखा पर्न सक्छन्। यो रोगका कारण पशुमा मृत्यु दर उच्च रहने भए पनि मानिसमा भने नसर्ने पशु स्वास्थ्य विज्ञहरूले स्पष्ट पारेका छन्।
संक्रमण फैलिन नदिन फार्ममा बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्ने, उपकरण र सवारी साधनको सरसफाइमा ध्यान दिने तथा मासुजन्य वस्तुको अवैध ओसारपसार रोक्ने जस्ता सावधानी अपनाउन सुझाव दिइएको छ। संक्रमित वा शंकास्पद पशु अन्य स्वस्थ पशुसँग सम्पर्कमा आएमा रोग तीव्र रूपमा फैलिन सक्ने भएकाले थप सतर्कता आवश्यक रहेको जनाइएको छ।
केन्द्रका अनुसार नेपालमा केही वर्षअघि पहिलो पटक अफ्रिकन स्वाइन फिभर देखिएको थियो। विशेषगरी काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा सुँगुर तथा बङ्गुर प्रभावित भएको विवरण सार्वजनिक भइसकेको छ। मन्त्रालयले सबै सरोकारवालालाई समयमै सूचना आदानप्रदान र समन्वय गरेर रोग नियन्त्रणमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।
विराटनगरमा कार्यरत फार्मेसीकर्मीको विवरण सात दिनभित्र उपलब्ध गराउन आग्रह
शुक्रबार, फागुन १, २०८२
नेपालमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वाल टालियो
शुक्रबार, फागुन १, २०८२
वीर अस्पतालमा बीमाबाट पाइने सेवा कटौती
शुक्रबार, फागुन १, २०८२
लहानका २४ वटै वडामा निःशुल्क क्यान्सर शिविर
शुक्रबार, फागुन १, २०८२
