नेभिगेशन

महेन्द्रनगरमा पहिलो पटक फोक्सो जाँचका सेवा सुरु, सुदूरपश्चिमका बिरामीलाई राहत

नेपाल हेल्थ न्युज, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक कञ्चनपुरको महेन्द्रनगरस्थित मन्त्र अस्पताल मा ब्रोंकोस्कोपी सेवा सफलतापूर्वक सुरु गरिएको छ। शनिबार अस्पतालमा चार जनामा श्वासनली हेर्ने उपकरण (ब्रोंकोस्कोप) को सहायताले फोक्सो परीक्षण गरिएको हो।

कृष्णपुर नगरपालिका–३ का ३८ वर्षीय वीरेन्द्र मल्ल एक वर्षदेखि समय–समयमा लाग्ने सुख्खा खोकीबाट पीडित हुनुहुन्थ्यो। फोक्सोमा देखिएको समस्याको परीक्षण गराउन उहाँ कैलालीस्थित सेती प्रादेशिक अस्पताल पुग्नुभएको थियो। तर आवश्यक उपकरण अभावका कारण त्यहाँ परीक्षण सम्भव नभएपछि चिकित्सकले उहाँलाई महेन्द्रनगर जान सुझाव दिएका थिए।

“कैलालीका अधिकांश अस्पतालमा फोक्सो परीक्षणका लागि सोधपुछ गरेको थिएँ,” मल्लले भन्नुभयो, “सेती प्रादेशिक अस्पतालका चिकित्सकको सुझावपछि महेन्द्रनगरमा परीक्षण गराएको छु।” उहाँका अनुसार ब्रोंकोस्कोपीका लागि करिब १६ हजार रुपैयाँ र औषधिमा झन्डै ३५ हजार रुपैयाँ खर्च भएको छ।

त्यसैगरी बझाङकी ५६ वर्षीया एक महिलाले पनि शनिबार मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी गराउनुभएको छ। तीन दशकदेखि दमको औषधि सेवन गर्दै आएकी ती महिलाले फोक्सोमा थप समस्या देखिएपछि परीक्षणका लागि महेन्द्रनगर आएको बताउनुभयो। चिकित्सकले परीक्षण सफलतापूर्वक सम्पन्न गरे पनि रिपोर्ट आउन बाँकी रहेको जानकारी दिनुभयो। ब्रोंकोस्कोपी गराउन बुटवल वा काठमाडौं जानुपर्दा अत्यधिक खर्च लाग्ने भएकाले सुदूरपश्चिममै सेवा सुरु हुनु सहज भएको उहाँको भनाइ छ।

मन्त्र अस्पतालका सञ्चालक डा. गोविन्द रोकायाका अनुसार चिकित्सक अभावका कारण चार वर्षअघि खरिद गरिएको ब्रोंकोस्कोप प्रयोगमा ल्याउन सकिएको थिएन। विसं २०७८ सालमा झन्डै ५० लाख रुपैयाँ लागतमा उपकरण खरिद गरिए पनि विशेषज्ञ अभावले सेवा सुरु हुन ढिलाइ भएको उहाँले बताउनुभयो।

“उपकरण भए पनि विशेषज्ञ चिकित्सक नहुँदा फोक्सोसम्बन्धी परीक्षण गर्न सकिएको थिएन,” उहाँले भन्नुभयो, “हालै फोक्सो रोग विशेषज्ञसँग समन्वय भएपछि उपकरण सञ्चालनमा ल्याएका हौँ।”

फोक्सो रोग विशेषज्ञ डा. नारायण जोशीका अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा ब्रोंकोस्कोपी सेवा उपलब्ध नहुँदा बिरामीलाई बुटवल, काठमाडौँलगायत अन्य शहर पठाउनुपर्ने बाध्यता थियो। अब महेन्द्रनगरमै सेवा सुरु भएसँगै बाहिर जानुपर्ने अवस्था धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ।

अस्पतालको आग्रहमा शनिबारदेखि फुर्सदको समयमा महेन्द्रनगर पुगेर ब्रोंकोस्कोपी सेवा दिन थालिएको डा. जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार क्यान्सर बाहेकका अधिकांश फोक्सो रोगको उपचार अब सुदूरपश्चिममै सम्भव हुने छ।

ब्रोंकोस्कोपीमार्फत चिकित्सकले क्यामेरा जडित पातलो लचिलो नली मुख वा नाकबाट फोक्सोसम्म पुर्‍याएर श्वासनली र फोक्सोको भित्री भागको जाँच गर्छन्। यस विधिबाट फोक्सोको क्यान्सर, क्षयरोग (टीबी), निमोनियाजस्ता संक्रमण तथा रगत बग्ने कारण पत्ता लगाउन सकिन्छ। लगातार खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने वा रगत आउने बिरामीका लागि यो परीक्षण उपयोगी मानिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट