नेभिगेशन
संघको गरिमा जोडिएको चुनाव—सहकार्य भयो भने जित सहज

एफएनसीसीआई कार्यकारिणीमा एपोन अध्यक्ष विप्लव अधिकारीको उम्मेदवारी घोषणा

औषधि उद्योगको आवाज महासंघमा पुर्‍याउने तयारी, एकतामा जोड

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष विप्लव अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगत तर्फको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

एपोन हेल्थ मिडियामार्फत सार्वजनिक सन्देश दिँदै अध्यक्ष अधिकारीले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो। उहाँले संघको तर्फबाट प्रतिनिधित्व गर्दै महासंघमा पुनः प्रभावकारी उपस्थिति कायम गर्ने लक्ष्यसहित चुनावमा होमिने बताउनुभयो।

अधिकारीले आफ्नो सन्देशमा भन्नुभएको छ-'मैले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको कार्यकारिणी सदस्यका रूपमा नेपाल औषधि उत्पादक संघको तर्फबाट उम्मेदवार दिने निर्णय गरेको छु।'

उहाँले वस्तुगत तर्फको उम्मेदवार व्यक्तिगत नभई संस्थागत हुने भएकाले यसले संघको गरिमा र प्रतिष्ठासँग प्रत्यक्ष सम्बन्ध राख्ने स्पष्ट पार्नुभयो।

'यो विषय संघको गरिमा र प्रतिष्ठासँग जोडिएको हुन्छ। हामी सबैले मेहनत गर्‍यौं भने सहजै चुनाव जित्न सक्छौं भन्ने विश्वास लिएको छु'- उहाँले उल्लेख गर्नुभयो।

अधिकारीले सम्पूर्ण सदस्य तथा सरोकारवालासँग साथ र सहयोगको अपेक्षा पनि व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार लामो समयपछि एपोनलाई पुनः महासंघमा स्थापित गर्ने अवसर आएको छ। 'सबै मिलेर यसलाई सफल बनाऔं,' भन्दै उहाँले एकतामा जोड दिनुभएको छ।

एपोनले विगत केही वर्षदेखि औषधि उद्योगको नीति, उत्पादन प्रवर्द्धन र स्वदेशी औषधिको सुदृढीकरणका लागि सक्रिय भूमिका खेल्दै आएको छ। यस्तो अवस्थामा महासंघमा प्रतिनिधित्व बढाउन खोजिएको यो पहललाई औषधि उद्योगको रणनीतिक कदमका रूपमा समेत हेरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फर्मा अपडेट