नेपाल हेल्थ न्युज, जनकपुरधाम । महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनी देवी पासवानको निजी अस्पतालमा शल्यक्रियापछि मृत्यु भएपछि उनका आफन्तहरूले अस्पतालमा तोडफोड गरेका छन्।
जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको र त्यसपछि बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार १६ गते साँझ शल्यक्रिया गरिएको र शुक्रबार बिहान करिब ३ बजेतिर बिरामीको मृत्यु भएको हो।
तर मृतकका परिवारले उपचारमा लापरबाही भएको आरोप लगाएका छन्। परिवारका अनुसार चिकित्सकको सल्लाहमा ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया हुने भनिए पनि पछि पेट चिरेर अपरेशन गरिएको र त्यसकै कारण बिरामीको मृत्यु भएको उनीहरूको दाबी छ।
मृतकका ससुरा दयाराम पासवानका अनुसार गाउँकै स्वास्थ्यकर्मीको सल्लाहमा गत वैशाख ७ गते अस्पतालमा चेकजाँचका लागि ल्याइएको थियो। त्यसपछि सर्जन अमरेश कर्णको सल्लाहअनुसार १६ गते भर्ना गरी शल्यक्रिया गरिएको उनले बताए।
“१ लाख २५ हजार रुपैयाँमा ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्ने सहमति भएको थियो, तर पेट चिरेर अपरेशन गरियो,” उनले आरोप लगाए। उनले उपचारमा लापरबाही भएको भन्दै डाक्टर र अस्पतालमाथि कारबाही तथा क्षतिपूर्तिको माग गरेका छन्।
यता शल्यक्रियामा संलग्न चिकित्सक अमरेश कर्णले भने बिरामीको अवस्था हेरेर परिवारको सहमतिमै शल्यक्रिया गरिएको दाबी गरेका छन्। उनका अनुसार बिरामीको युरेटर र किड्नीमा समेत पत्थरी देखिएकाले जोखिम नहोस् भनेर निर्णय लिइएको थियो।
“शल्यक्रियापछि बिरामीको अवस्था सामान्य थियो, खाना पनि सुरु गरिएको थियो। तर राति अचानक रक्तचाप घटेर अवस्था बिग्रियो र मृत्यु भयो,” डा. कर्णले भने। उनले उपचारमा कुनै लापरबाही नभएको दाबी गर्दै घटना आफ्नो करियरमा पहिलो भएको बताएका छन्।
घटनापछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। मृतकका आफन्त र अस्पताल प्रशासनबीच पोस्टमार्टमपछि कानुनी प्रक्रिया अगाडि बढाउने वा आपसी सहमतिमा मिलाउने विषयमा छलफल भइरहेको जनाइएको छ। मृतकका श्रीमान वैदेशिक रोजगारीमा रहेको र उनीहरूको तीन सन्तान रहेको बताइएको छ।
वीर अस्पतालमा पहिलो पटक ईयुएस कोइल इन्जेक्सनबाट ग्यास्ट्रिक भेरिक्सको सफल उपचार
शुक्रबार, वैशाख १८, २०८३
एनएमएको नयाँ नेतृत्वका लागि काठमाडौं उपत्यकामा आजदेखि निर्वाचन सुरु
शुक्रबार, वैशाख १८, २०८३
१९ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख १८, २०८३
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष पौडेलले दिए राजीनामा
शुक्रबार, वैशाख १८, २०८३

