नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो कुल बजेटको ५.६२ प्रतिशत हो ।
विश्व स्वास्थ्य संगठनले नेपालजस्ता विकासोन्मुख मुलुकले स्वास्थ्य क्षेत्रमा कम्तीमा कुल बजेटको १० प्रतिशत विनियोजन गर्नुपर्ने सुझाव दिँदै आएको छ । सरकारले भने आगामी पाँच वर्षभित्र उक्त लक्ष्य हासिल गर्ने प्रतिबद्धता यसअघि नै नीति तथा कार्यक्रममार्फत जनाएको थियो ।
यसपटक स्वास्थ्य क्षेत्रको बजेट सिलिङ अपेक्षाकृत कम भए पनि सरकारले स्वास्थ्य बीमा, मेडिकल शिक्षा, औषधि उत्पादन, डिजिटल स्वास्थ्य प्रणाली र अस्पताल स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ ।
स्वास्थ्य बीमामा १५ अर्ब
संकटग्रस्त अवस्थामा पुगेको स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्जीवित गर्ने लक्ष्यसहित सरकारले १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनःसंरचना गर्ने घोषणा गर्दै छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गरी “एकल भुक्तानी प्रणाली” लागू गर्ने जनाएको छ ।
आगामी तीन वर्षभित्र ९० प्रतिशत नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने तथा नागरिकले आफ्नै खर्चमा उपचार गर्नुपर्ने भार उल्लेख्य रूपमा घटाउने सरकारको लक्ष्य छ ।
आधारभूत स्वास्थ्य सेवामा नीतिगत फड्को
अर्थमन्त्री डा। स्वर्णिम वाग्ले ले बजेट भाषणमार्फत स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारको नयाँ चरण सुरु गर्ने बताएका छन् ।
सरकारले दक्ष स्वास्थ्य जनशक्ति, आधुनिक प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवासहितका आधारभूत स्वास्थ्य संस्थालाई “स्वास्थ्य सेवाको पहिलो विन्दु” बनाउने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ ।
नेपाल औषधि लिमिटेडलाई बलियो बनाइने
सरकारले निःशुल्क वितरण गरिने कम्तीमा २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न नेपाल औषधि लिमिटेड लाई सक्षम बनाउने घोषणा गरेको छ ।
यसले औषधिमा विदेशी निर्भरता घटाउने तथा सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव कम गर्ने अपेक्षा गरिएको छ ।
सरकारी अस्पताललाई शिक्षण अस्पताल बनाइने
सरकारले सार्वजनिक–सार्वजनिक साझेदारी मोडेल अन्तर्गत सातवटै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रूपमा विकास गरी विदेशी विद्यार्थीलाई समेत अध्ययन गराउन सक्ने बनाइने उल्लेख गरिएको छ ।
स्वास्थ्य पूर्वाधारमा लगानी
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानीयोग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा तथा विशिष्टीकृत सेवा विस्तारमा परिचालन गरिने सरकारले जनाएको छ ।
राष्ट्रिय ट्रमा नीति आउने
सरकारले राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना तथा आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने घोषणा गरेको छ ।
नेपालमा बढ्दो सडक दुर्घटना र आकस्मिक उपचार सेवाको अभावबीच ट्रमा प्रणालीलाई व्यवस्थित बनाउन यो नीति महत्वपूर्ण मानिएको छ ।
खानेपानी र स्वास्थ्यलाई जोड
सरकारले आगामी पाँच वर्षभित्र स्मार्ट वितरण प्रणालीमार्फत २४सै घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
आगामी तीन वर्षभित्र ६५ प्रतिशत तथा पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ ।
काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न निकाय गाभेर एउटै संरचना बनाइने पनि बजेटमा उल्लेख छ ।
गेटामा एमबिबिएस कार्यक्रम
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मा शैक्षिक सत्र २०८३र८४ देखि एमबिबिएससहित चिकित्सा शिक्षाका चारवटा कार्यक्रम सञ्चालन गरिने सरकारले घोषणा गरेको छ ।
यसलाई सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको पहुँच विस्तारतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

