नेपाल हेल्थ न्युज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता नवीकरण नभएका ४० भन्दा बढी औषधि तथा फार्मेसी पसलहरू बन्द गर्न निर्देशन दिएको छ।
औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगर्ने औषधि पसलहरूको सञ्चालन अनुमति (लाइसेन्स) रद्द गरेपछि सोही निर्णय कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभरका यस्ता पसलहरूलाई बन्द गर्न निर्देशन दिएको हो।
कार्यालयले बुधबार एक सूचना जारी गर्दै देशभरका ५ हजार ३०२ वटा औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरिएको जानकारी दिँदै मकवानपुरमा पनि ४० भन्दा बढी औषधि तथा फार्मेसी पसलहरू नवीकरण नगरेको कारणले तत्काल बन्द गर्न भनिएको जनाएको छ।
निर्देशनअनुसार दर्ता खारेज भएका औषधि पसलहरूले आजैदेखि आफ्नो सम्पूर्ण कारोबार पूर्ण रूपमा बन्द गर्नुपर्नेछ। औषधि व्यवस्था विभाग, बिजुलीबजारले गत असार २ गते सार्वजनिक सूचना जारी गर्दै कानुनी समयसीमाभित्र नवीकरण प्रक्रिया पूरा नगर्ने औषधि पसल, अनुज्ञापत्र, सिफारिस पत्र तथा सम्बन्धित प्रमाणपत्रहरू स्वतः रद्द भएको स्पष्ट पारेको थियो।
सोही निर्णय कार्यान्वयन गर्दै मकवानपुर प्रशासनले फार्मेसी, भेट (पशु) औषधि पसल तथा आयुर्वेदिक औषधि पसलहरू समेत बन्द गर्न निर्देशन दिएको प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेले जानकारी दिएका छन्।
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
बिहीबार, असार ४, २०८३
स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिबद्ध छः मन्त्री मेहता
बुधबार, असार ३, २०८३
विपन्न बिरामीलाई १० प्रतिशत निःशुल्क शैया दिँदैनौंः निजी अस्पताल सञ्चालक
बुधबार, असार ३, २०८३


