नेपाल हेल्थ न्युज, काठमाडौं । गर्मी बढेसँगै सर्वसाधारणलाई दैनिक जीवनयापनमा विभिन्न स्वास्थ्य चुनौती सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ। अत्यधिक गर्मीका कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन), थकान, पाचनसम्बन्धी समस्या तथा विभिन्न संक्रमणको जोखिम बढ्ने भएकाले खानपानमा विशेष सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।
पोषणविद्हरूका अनुसार गर्मी याममा शरीरबाट अत्यधिक पसिना निस्कने हुँदा इलेक्ट्रोलाइट असन्तुलन हुन सक्छ। यस्तो अवस्थामा नियमित भोजनसँगै प्रशस्त मात्रामा पानी, फलफूल, सागसब्जी तथा सलाद सेवन गर्नु आवश्यक हुन्छ। शरीरलाई शीतल राख्न र पानीको कमी हुन नदिन पानीको मात्रा बढी हुने तरकारी तथा सागसब्जी जस्तै लौका, फर्सी, करेला, पालुंगो र हरियो सिमी खान सिफारिस गरिएको छ।
गर्मीमा मौसमी फलफूलको सेवन स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ। गाँजर, गोलभेँडा, काँक्रो, खरबुजा, तरबुजा, मेवा, आँप, लिची तथा स्याउजस्ता फलफूलले शरीरमा आवश्यक पानीको आपूर्ति गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने विज्ञहरूको भनाइ छ। यस्ता फलफूलले एसिडिटी लगायतका समस्याबाट पनि राहत दिलाउने बताइन्छ।
त्यस्तै, खाजामा दूध, फलफूल, जुस तथा टुसा उमारेको गेडागुडी समावेश गर्न सुझाव दिइएको छ। बिहानको खानामा दालभात र बेलुकाको भोजनमा फाइबरयुक्त सागसब्जी, बन्दा, काउली तथा रोटीको सेवन स्वास्थ्यका लागि उपयुक्त हुने जनाइएको छ।
गर्मीका कारण पाचन प्रणालीमा समेत असर पर्न सक्ने भएकाले हल्का र सजिलै पच्ने खाना खानु उपयुक्त हुने विज्ञहरू बताउँछन्। एकैपटक धेरै खानेभन्दा थोरै–थोरै मात्रामा पटक–पटक खाना खाँदा पाचन प्रणालीलाई सहज हुने उनीहरूको सुझाव छ।
डिहाइड्रेसनबाट जोगिन ग्रीन टी, कोल्ड कफी, दही, लस्सी, नरिवल पानी तथा उखुको रस सेवन गर्न सकिने उल्लेख गरिएको छ। बजारमा पाइने अत्यधिक चिसो तथा गुलियो पेय पदार्थको सट्टा प्राकृतिक पेय पदार्थ रोज्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।
विज्ञहरूले तेलमा तारेका तथा भुटेका खानेकुरा सकेसम्म कम खान र पकाएको खाना लामो समयसम्म नराख्न पनि सुझाव दिएका छन्। बासी खानेकुराको सेवनले संक्रमण तथा खाद्यजन्य रोगको जोखिम बढाउने भएकाले ताजा खाना खाने बानी बसाल्नुपर्ने उनीहरूको भनाइ छ।
गर्मीको मौसममा सन्तुलित आहार, पर्याप्त पानी र स्वस्थ जीवनशैली अपनाउन सके डिहाइड्रेसन तथा अन्य स्वास्थ्य समस्याबाट बच्न सकिने विज्ञहरूको निष्कर्ष छ। एजेन्सी
(यो सामग्री सामान्य जानकारीका लागि मात्र हो। यसलाई कुनै पनि प्रकारको चिकित्सकीय सल्लाहको विकल्पका रूपमा लिनु हुँदैन।)
गर्मीमा लोकप्रिय उखुको जुस सबैका लागि उपयुक्त नहुन सक्छ
मंगलबार, असार ९, २०८३
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुको फाइदा
बुधबार, जेठ २७, २०८३
क्यान्सर रोक्नदेखि सुगर नियन्त्रणसम्म उपयोगी हरियो प्याज
आइतबार, फागुन ३, २०८२
प्रोसेस्ड फूड, ट्रान्स फ्याट र खाद्य स्वच्छता
मंगलबार, माघ २७, २०८२
