नेभिगेशन

गर्मीमा शरीर हाइड्रेट राख्न यी खानेकुरा खानुहोस्

नेपाल हेल्थ न्युज, काठमाडौं । गर्मी मौसम सुरु भएसँगै तापक्रम क्रमशः बढ्न थालेको छ। तापक्रम बढेसँगै अत्यधिक पसिना आउने भएकाले शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुने जोखिम पनि बढ्छ। त्यसैले गर्मीमा पर्याप्त मात्रामा पानी पिउनुका साथै पानीको मात्रा बढी भएका खानेकुरा खानु स्वास्थ्यका लागि आवश्यक मानिन्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार शरीरलाई स्वस्थ राख्न पर्याप्त हाइड्रेसन आवश्यक हुन्छ। शरीरमा पानीको कमी हुँदा तापक्रम नियन्त्रणमा समस्या आउनुका साथै विभिन्न शारीरिक प्रक्रियामा असर पर्न सक्छ। सामान्यतया शरीरले आवश्यक पानीमध्ये करिब २० प्रतिशत खाना तथा बाँकी ८० प्रतिशत पानी पिएर प्राप्त गर्छ।

यदि पर्याप्त पानी पिउने बानी छैन भने दैनिक खानामा पानीको मात्रा धेरै भएका फलफूल र तरकारी समावेश गर्न सकिन्छ। यस्ता खानेकुराले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्नुका साथै आवश्यक पोषक तत्व पनि प्रदान गर्छन्।

काँक्रो

काँक्रोमा करिब ९६ प्रतिशत पानी हुन्छ, जसका कारण यसलाई सबैभन्दा बढी पानी भएको खानेकुरामध्ये एक मानिन्छ। गर्मीमा काँक्रो नियमित रूपमा सेवन गर्दा शरीरमा पानीको मात्रा कायम राख्न मद्दत मिल्छ।

मूला

मूलामा करिब ९५ प्रतिशत पानी पाइन्छ। सलाद वा अचारका रूपमा सेवन गरिने मूलामा भिटामिन ‘सी’ र फाइबर पनि प्रशस्त हुन्छ। यसले शरीरलाई हाइड्रेट राख्नुका साथै पाचन प्रणालीलाई पनि सहयोग पुर्‍याउँछ।

गोलभेँडा

गोलभेँडामा करिब ९४ प्रतिशत पानी हुन्छ। यसमा रहेको लाइकोपिन नामक एन्टिअक्सिडेन्टले शरीरका कोषलाई क्षति हुनबाट जोगाउन सहयोग गर्ने विश्वास गरिन्छ। गर्मीमा यसको नियमित सेवन लाभदायक मानिन्छ।

खरबुजा

गर्मी मौसममा लोकप्रिय फल खरबुजामा करिब ९२ प्रतिशत पानी हुन्छ। पानीसँगै यसमा विभिन्न भिटामिन, खनिज तथा अन्य पोषक तत्व पनि पाइने भएकाले यसले शरीरलाई हाइड्रेट राख्न र ऊर्जा दिन सहयोग गर्छ।

स्ट्रबेरी

स्ट्रबेरीमा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ। साथै, यसमा फाइबर र भिटामिन ‘सी’ पनि प्रशस्त मात्रामा पाइने भएकाले गर्मी मौसममा स्वास्थ्यका लागि उपयोगी फलका रूपमा लिइन्छ।

गर्मी मौसममा पर्याप्त पानी पिउनु, ताजा फलफूल तथा तरकारी नियमित सेवन गर्नु र अत्यधिक गर्मीमा आवश्यक सावधानी अपनाउनु स्वास्थ्यका लागि महत्त्वपूर्ण हुने स्वास्थ्य विज्ञहरूको सुझाव छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वाद पनि स्वास्थ्य पनि
ट्रेन्डिङ