नेभिगेशन
हेपाटाइटिस बी विरुद्धको सबैभन्दा प्रभावकारी उपाय खोप

‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा 

हेपाटाइटिस बी अझै चुनौती, हेपाटाइटिस सीको निःशुल्क परीक्षण र उपचारमा सरकारको विशेष जोड

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालले सन् २०३० सम्म हेपाटाइटिस सी उन्मूलन  गर्ने महत्वाकांक्षी लक्ष्यसहित रोकथाम, परीक्षण र निःशुल्क उपचारका कार्यक्रमलाई तीव्र बनाएको छ। विश्व हेपाटाइटिस दिवस–२०२६ को अवसरमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएससी) ले उपचारमा पहुँच विस्तार, संक्रमण रोकथाम र सामाजिक विभेद अन्त्यलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

हरेक वर्ष जुलाई २८ मा मनाइने विश्व हेपाटाइटिस दिवस यस वर्ष ‘लेट्स ब्रेक इट’ अर्थात हेपाटाईटिस बाधाहरु हटाऔं भन्ने नारासहित मनाइँदैछ। यस नाराले उपचारमा रहेका अवरोध तोड्ने, संक्रमितप्रतिको सामाजिक विभेद (स्टिग्मा) अन्त्य गर्ने र सबैलाई समान रूपमा उपचारको पहुँच सुनिश्चित गर्ने सन्देश बोकेको छ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार नेपालले विशेषगरी रगतबाट सर्ने हेपाटाइटिस बी र हेपाटाइटिस सी नियन्त्रणमा काम गरिरहेको भए पनि हालको मुख्य प्राथमिकता हेपाटाइटिस सी रहेको छ । 

किन प्राथमिकतामा छ हेपाटाइटिस सी ?

नेपालमा सुईमार्फत लागुऔषध प्रयोग गर्ने व्यक्तिहरूमा एउटै सिरिन्ज धेरैजनाले प्रयोग गर्ने प्रवृत्तिका कारण एचआईभीसँगै हेपाटाइटिस सीको संक्रमण पनि उच्च देखिएको छ। यही कारण सरकारले जोखिमयुक्त समूहलाई लक्षित गर्दै ड्रप–इन सेन्टर, सुरक्षित सिरिन्ज वितरण, ओरल सब्स्टिच्युसन थेरापी (ओएसटी) तथा नियमित परामर्श सञ्चालन गरिरहेको छ। डा.शर्माका अनुसार सुरक्षित सिरिन्जको प्रयोगले संक्रमण मात्र रोक्ने नभई भविष्यमा उपचारमा लाग्ने ठूलो आर्थिक भारसमेत घटाउन मद्दत गर्छ। त्यसैले सरकारले हार्म रिडक्सन कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ।

निःशुल्क परीक्षणदेखि १२ हप्तासम्मको उपचार

सरकारले अहिले हेपाटाइटिस सीका बिरामीका लागि भाइरल लोड परीक्षण, आवश्यक प्रयोगशाला परीक्षण तथा १२ हप्तासम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ।विशेषगरी एचआईभीसँगै हेपाटाइटिस सी भएका बिरामी, सुईमार्फत लागुऔषध प्रयोग गर्ने संक्रमित व्यक्ति, नियमित डायलाइसिस गराइरहेका तथा उच्च जोखिममा रहेका बिरामी लाई प्राथमिकतामा राखेर उपचार सेवा प्रदान भइरहेको निर्देशक डा. शर्माले नेपाल हेल्थ न्युजलाई जानकारी दिनुभयो।

२०३० सम्म संक्रमण र मृत्युदर घटाउने लक्ष्य

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तय गरेको रणनीतिअनुसार नेपालले पनि सन् २०३० सम्म नयाँ हेपाटाइटिस संक्रमण ९५ प्रतिशतले घटाउने, हेपाटाइटिसका कारण हुने मृत्यु ६५ प्रतिशतले कम गर्ने तथा हेपाटाइटिस सी उन्मूलन गर्ने लक्ष्य लिएको छ। डा. शर्माका अनुसार यी लक्ष्य प्राप्त गर्न परीक्षण, उपचार, जनचेतना र रोकथामका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिएको छ।

नेपालमा कति छन् संक्रमित ?

राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका अनुसार नेपालमा हेपाटाइटिस बीको प्रिभेलेन्स दर ०.८–०.९ प्रतिशत अर्थात हरेक  १,००० जनामध्ये ८–९ जना मा हेपाटाइटिस बी संक्रमण र हेपाटाइटिस सीको प्रिभेलेन्स ०.३–०.४ प्रतिशत अर्थात हरेक १,००० जनामध्ये करिब ३–४ जना मा हेपाटाइटिस सी संक्रमण रहेको अनुमान गरिएको छ ।

हेपाटाइटिस बी अझै ठूलो चुनौती

हेपाटाइटिस सीमा सरकारको कार्यक्रम प्रभावकारी रूपमा अघि बढे पनि हेपाटाइटिस बी नियन्त्रण अझै चुनौतीपूर्ण बनेको छ। डा. शर्माका अनुसार आर्थिक स्रोतको अभाव, दातृ निकायको सहयोगमा आएको कमी तथा छुट्टै राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न नसकिएका कारण हेपाटाइटिस बीमा अपेक्षित लगानी हुन सकेको छैन। अहिले हेपाटाइटिस बीका बिरामीले चिकित्सकको सल्लाहअनुसार दीर्घकालसम्म आफ्नै खर्चमा औषधि सेवन गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।  उहाँका अनुसार हेपाटाइटिस बी दीर्घकालीन अवस्थामा पुगेमा लिभर सिरोसिस र लिभर क्यान्सर (हेपाटोसेलुलर कार्सिनोमा) जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ।

खोप नै सबैभन्दा प्रभावकारी सुरक्षा

हेपाटाइटिस बी विरुद्धको सबैभन्दा प्रभावकारी उपाय खोप हो। नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत जन्मेका सबै बालबालिकालाई एक वर्षभित्र तीन मात्रा हेपाटाइटिस बी विरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ। विशेषज्ञहरूका अनुसार यही कार्यक्रमले भविष्यमा हेपाटाइटिस बीको संक्रमण उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ।

संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानी

केन्द्रका निर्देशक डा. शर्माले हेपाटाइटिस बी र सीबाट बच्न उटै सिरिन्ज वा सुई धेरैजनाले प्रयोग नगर्न, सुरक्षित यौन सम्पर्कका लागि कन्डम प्रयोग गर्न, लागुऔषध प्रयोगकर्ताले सुरक्षित सेवा तथा ओएसटी कार्यक्रममा सहभागी हुन, जोखिममा परे समयमै परीक्षण गराउन, हेपाटाइटिस बी विरुद्धको खोप अनिवार्य लगाउन, संक्रमित व्यक्तिप्रति विभेद नगरी उपचारमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । 

स्टिग्मा होइन, उपचार आवश्यक

डा.शर्माका अनुसार हेपाटाइटिसविरुद्धको लडाइँ  भाइरससँग मात्र नभई संक्रमितप्रति समाजमा रहेको भेदभाव र गलत धारणासँग पनि हो।

उहाँका अनुसार यस वर्षको ‘लेट्स ब्रेक इट’ अभियानले उपचारमा रहेका सबै अवरोध हटाउने, सबैलाई समान अवसर उपलब्ध गराउने र हेपाटाइटिसमुक्त समाज निर्माण गर्ने सन्देश दिएको छ।

समयमै परीक्षण, सुरक्षित व्यवहार, जोखिम समूहसम्म उपचारको पहुँच विस्तार तथा जनचेतना अभिवृद्धि गर्न सके नेपालले सन् २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्य हासिल गर्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

हेपाटाइटिस विश्वव्यापी रूपमा जनस्वास्थ्यको महत्वपूर्ण चुनौती हो। हेपाटाइटिस बी र सी संक्रमित धेरै व्यक्तिमा प्रारम्भिक चरणमा कुनै लक्षण नदेखिने भएकाले समयमै परीक्षण गराउनु अत्यन्त आवश्यक हुन्छ। हेपाटाइटिस बी र सी प्रायः संक्रमित रगत तथा शरीरका तरल पदार्थको सम्पर्क, असुरक्षित यौन सम्पर्क, दूषित सुई वा सिरिन्जको प्रयोग तथा हेपाटाइटिस बीको हकमा संक्रमित आमाबाट नवजात शिशुमा सर्न सक्छ।हेपाटाइटिस ए र ई मुख्यतः दूषित खाना तथा पानीबाट सर्ने भएकाले सुरक्षित खानेपानी, सरसफाइ र व्यक्तिगत स्वच्छतामा विशेष ध्यान दिन आवश्यक छ। हेपाटाइटिसबाट बच्नका लागि हेपाटाइटिस बी विरुद्धको खोप समयमै लगाउने, सुरक्षित रगतको प्रयोग गर्ने, सुरक्षित यौन व्यवहार अपनाउने, सुई तथा सिरिन्ज साझा नगर्ने, सुरक्षित खानेपानी र सरसफाइमा ध्यान दिने तथा जोखिममा रहेका व्यक्तिहरूले नियमित रूपमा हेपाटाइटिस बी र सी को परीक्षण गराउनु अत्यन्त आवश्यक छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष