नेपाल हेल्थ न्युज, काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि देशभर जारी चिकित्सक आन्दोलन फिर्ता भएको छ। सहमतिसँगै वीरगञ्जस्थित नारायणी अस्पतालसहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य सेवा बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुधबार भएको छलफलपछि नेपाल सरकार र नेपाल चिकित्सक सङ्घबीच पाँच बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो। छलफलमा स्वास्थ्य, कानुन, गृह तथा उद्योग मन्त्रालयका प्रतिनिधिसँगै नेपाल चिकित्सक सङ्घका पदाधिकारी सहभागी थिए।
सहमतिअनुसार सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशिका यथाशीघ्र तयार गर्ने र स्वास्थ्य संस्थामा हुने तोडफोड, हिंसा तथा चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्ने सहमति भएको छ।
यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुदृढ बनाउन विशेष कार्ययोजना तयार गर्ने, नेपाल चिकित्सक सङ्घको सहकार्यमा संयुक्त कार्यदल गठन गर्ने तथा सहमति कार्यान्वयनको प्रगतिबारे नियमित समीक्षा गर्ने व्यवस्था पनि सहमतिपत्रमा समेटिएको छ।
सरकारसँग सहमति भएपछि नेपाल चिकित्सक सङ्घले देशभर सञ्चालन गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। संघले आफ्ना सबै सदस्य तथा मातहतका स्वास्थ्य संस्थालाई ओपिडीसहित नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन गर्न आह्वान गरेको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा सुरु भएको आन्दोलनका कारण देशभरका अधिकांश अस्पतालमा आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवा प्रभावित भएका थिए। आन्दोलनका कारण हजारौं सेवाग्राही नियमित उपचारबाट वञ्चित भएका थिए।
सरकार र चिकित्सकबीच भएको पछिल्लो सहमतिसँगै देशभरका अस्पतालमा स्वास्थ्य सेवा पुनः सामान्य अवस्थामा फर्किन थालेको छ। अब सहमतिमा उल्लेखित प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन हुने वा नहुने विषयलाई चिकित्सक समुदाय र सर्वसाधारणले चासोका साथ हेरिरहेका छन्।
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३

