नेपाल हेल्थ न्युज, काठमाडौं । यतिबेला वर्षा याम चलिरहेको छ। हरियाली छ प्रकृति। खेतबारीमा धान रोपाइँको चहलपहल बाँकी नै छ। नदी, खोलानाला, खहरेमा पानीको बहाव बढेको छ।
वर्षाले वायुमण्डलमा रहेका धुलोका कण तथा अन्य प्रदुषण पखालेर वातावरणलाई स्वच्छ बनाएको छ। प्राकृतिक सौन्दर्यका बीच बाढी, पहिरो, डुबान जस्ता विपद्सँगै फैलिने विभिन्न सरुवा रोग भने वर्षायामका जोखिमयुक्त पक्ष हुन्।
यस समयमा बाढी पहिरो र डुबानले खानेपानीलाई प्रदूषित बनाउँछ। वर्षायामसँगै विभिन्न सरुवा रोगको जोखिम पनि बढ्ने गरेको छ। डेङ्गु, झाडापखाला, हैजा, स्क्रब टाइफस, लेप्टोस्पाइरोसिस, फङ्गल सङ्क्रमण लगायतका रोग प्रत्येक वर्ष मनसुनमा बढ्ने भएकाले स्वास्थ्य क्षेत्रको प्रमुख चिन्ताको विषय बनेको छ।
नेपालमा स्क्रब टाइफस सङ्क्रमण विज्ञान, क्लिनिकल विशेषता, निदान र जटिलताः एक व्यवस्थित समीक्षा (२०२३) ले मनसुन र त्यसपछिको समय स्क्रब टाइफसको उच्च जोखिम अवधि भएको निष्कर्ष निकालेको छ।
उक्त अनुसन्धानले नेपालमा स्क्रब टाइफसलाई मनसुन र मनसुनपछिको समयमा बढ्ने महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्य समस्याका रूपमा औँल्याएको छ। उक्त स्क्रब टाइफसको सङ्क्रमणसँगै ज्वरो आउने, भोक नलाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, छालामा डाबर आउने, जन्डिस हुने लगायतका समस्या आउने अध्ययनले देखाएको छ।
विशेषगरी यस समयमा रोगको निगरानी बढाउने, समुदायमा जनचेतना फैलाउने, छिटो परीक्षण गर्ने र समयमै उपचार उपलब्ध गराउने हो भने सङ्क्रमण, जटिलता र मृत्युदर घटाउन सकिने अध्ययनको निष्कर्ष छ।
अध्ययन अनुसार वर्षा र आद्र्रताले त्यस समयमा झाडी तथा घाँस बढी बढाउने, स्क्रब टाइफस सार्ने चिगर ९लार्भा माइट० का लागि अनुकूल वातावरण बन्ने, किसान तथा खेतबारीमा काम गर्ने मानिससँग सम्पर्क बढ्ने भएकाले सङ्क्रमणको जोखिम पनि बढ्छ। स्वास्थ्यविज्ञका अनुसार वर्षायामको वातावरण रोग फैलनका लागि अत्यन्त अनुकूल हुन्छ।
मनसुन सुरु भएसँगै पानी तथा खानाजन्य रोगका बिरामी बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ। अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले वर्षायाममा दूषित पानी र अस्वस्थ खानाका कारण झाडा पखाला, आउँ (डिसेन्ट्री) लगायतका पानीजन्य रोगका बिरामी बढ्ने गरेको बताए। “यससँगै डेङ्गु र मलेरियाका बिरामी पनि अस्पतालमा आउने क्रम बढ्ने गरेको छ। मनसुनको समयमा झाडा पखाला, आउँ, डेङ्गु र मलेरियाका बिरामी अस्पतालमा नियमित रूपमा देखिने गर्छन्”, उनले भने, “यो मौसममा यस्ता रोगको जोखिम बढ्ने भएकाले खानपान र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ।”
डा. बास्तोलाले यस्ता सरुवा रोगबाट जोगिन उमालेर वा सुरक्षित पानी पिउन, ताजा तथा सफा खाना खान, हात धुने बानी बसाल्न र लामखुट्टेको टोकाइबाट जोगिन झुलको प्रयोगलगायतका उपाय अवलम्बन गर्न आग्रह गरे। उनले ज्वरो, पखाला वा अन्य सङ्क्रमणका लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा उपचार गराउन पनि सुझाए।
यस कारण बढ्छ मनसुनमा सरुवा रोगको जोखिम
मनसुनको समयमा मानिसको जीवनशैली, दूषित पानीको प्रयोग र जलवायु परिवर्तनका कारण सरुवा तथा मौसमी रोगको जोखिम बढ्ने बताउँछन् सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन। उनका अनुसार वर्षा याममा मानिस बाहिर खाने, दूषित पानी पिउने तथा सरसफाइमा कमी हुने भएकाले पानी तथा खानाजन्य सङ्क्रमण बढ्ने सम्भावना रहन्छ। “मनसुनमा मानिसको व्यवहार पनि रोग फैलिने एउटा महत्वपूर्ण कारण हो”, डा. पुनले भने, “यो समयमा तिर्खा बढी लाग्ने भएकाले जहाँ पायो त्यहीँको पानी पिउने प्रवृत्ति हुन्छ। यदि पानी दूषित भयो भने विभिन्न सरुवा रोग फैलिने जोखिम बढ्छ।”
उनका अनुसार मनसुनमा भाइरल सङ्क्रमणका घटनासमेत बढ्ने सम्भावना रहन्छ। पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि भइरहेकाले लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने र त्यसले डेङ्गुजस्ता रोग थप फैलिन सक्ने उनको भनाइ छ। “तापक्रम बढ्दै जाँदा डेङ्गुको जोखिम पनि बढ्न सक्छ”, उनले भने, “जलवायु परिवर्तन र मौसमी रोगबीचको सम्बन्धबारे थप अनुसन्धान आवश्यक छ। अनुसन्धानका आधारमा रोगको पहिचान, नियन्त्रण र नीतिगत व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। ”
डा. पुनका अनुसार डेङ्गुको प्रारम्भिक लक्षणमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, शरीरमा राता दाना देखिने तथा अत्यधिक कमजोरी महसुस हुने गर्छ। समयमै उपचार नपाए केही बिरामीमा रक्तस्राव र रक्तचाप घट्न गई ज्यानै जोखिममा पर्ने अवस्था आउन सक्ने उनले बताए। मनसुनजन्य रोग रोकथामका लागि प्रभावकारी अनुसन्धान र नीतिगत कार्यान्वयन आवश्यक रहेको छ।
विशेषज्ञका अनुसार डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको प्रजननस्थल नष्ट गर्नु हो। डा. पुन घर वरिपरि पानी जम्न नदिने, पानी राख्ने भाँडालाई छोपेर राख्ने, त्यस्ता भाँडाकुडा कम्तीमा हप्तामा एकपटक सफा गर्ने, झुलको प्रयोग गर्ने तथा लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउनुपर्ने सुझाए। उनले मनसुनको समयमा ज्वरो वा अन्य सङ्क्रमणका लक्षण देखिएमा घरमै बसेर औषधि सेवन गर्नुको सट्टा स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन पनि आग्रह गरे।
जलवायु परिवर्तनले बढाएको चुनौती
जलवायु परिवर्तनका कारण वर्षाको स्वरूप फेरिँदै जाँदा मनसुनजन्य रोगको जोखिम पनि बढ्दै गएको विज्ञहरूले बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा जलवायुविद् डा। धर्मराज उप्रेतीले छोटो समयमा अत्यधिक वर्षा हुने, लामो समयसम्म पानी जमिरहने, तापक्रम र आर्द्रतामा हुने परिवर्तनले विभिन्न सरुवा रोग फैलाउने जीवाणु, भाइरस तथा रोग सार्ने कीटको जीवनचक्रलाई अनुकूल बनाएको बताए।
जलवायु परिवर्तनले मनसुनजन्य विपद्सँगै जनस्वास्थ्यमा पनि नयाँ चुनौती थपिएको उनको भनाइ छ। “अत्यधिक वर्षाका कारण धेरै स्थानमा पानी जम्ने अवस्था सिर्जना हुन्छ। त्यसले खानेपानीका स्रोत दूषित बनाउँछ र पानीजन्य रोग फैलिने जोखिम बढाउँछ”, उप्रेतीले भने, “अर्कोतर्फ बढ्दो तापक्रम र अत्यधिक गर्मीले पनि विभिन्न सरुवा रोगको जोखिम बढाउन सक्छ। बाढी, पहिरो र डुबानले स्वास्थ्य सेवा प्रभावित बनाउँदा रोग नियन्त्रण अझ चुनौतीपूर्ण बन्छ र यसले मानवीय क्षति पनि बढाउन सक्छ।”
उनका अनुसार जलवायु परिवर्तन अब वातावरणीय मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको चुनौती बनेको छ। त्यसैले विपद् व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रको पूर्वतयारी र समुदाय स्तरको सचेतनालाई पनि सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको उप्रेतीको भनाइ छ।
रोक नियन्त्रणका लागि सरकारी तयारी के छ ?
मनसुनसँगै विभिन्न सरुवा तथा पानीजन्य रोगको जोखिम बढ्ने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयले वर्षायाममा सरुवा रोगको जोखिम न्यूनीकरणका लागि देशभर निगरानी प्रणाली सक्रिय पारिएको, तीन तहकै सरकारसँग समन्वय गरी रोगको सूचना सङ्कलन, प्रयोगशाला परीक्षण, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन र जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएको छ।
मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकारीले वर्षायाममा झाडा पखाला, हैजा, आउँ, टाइफाइड, डेङ्गु लगायतका रोग फैलिने जोखिम हुने भएकाले व्यक्तिगत सरसफाइ र सुरक्षित खानपानमा विशेष ध्यान दिन आग्रह गरे। “बर्खा याममा तापक्रम बढ्छ, बाढी र डुबानका कारण खानेपानीका स्रोत दूषित हुने तथा खाद्यान्न बिग्रने सम्भावना बढ्छ”, उनले भने, “खाना बनाउनुअघि साबुनपानीले हात नधोए सङ्क्रमण सजिलै फैलिन सक्छ। त्यसैले सुरक्षित पानी, ताजा खाना र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ।”
अधिकारीका अनुसार वर्षायाममा लामखुट्टेको वृद्धि हुने भएकाले डेङ्गु तथा अन्य कीटजन्य रोगको जोखिम पनि बढ्छ। घरका झ्याल–ढोकामा जाली लगाउने, घर वरिपरि पानी जम्न नदिने तथा लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउन उनले आग्रह गरे।
डा. अधिकारीले ताजा तथा पोषणयुक्त खाना खाने, प्रशस्त झोलिलो पदार्थ र सुरक्षित पानी पिउने तथा धूमपान र मद्यपानबाट टाढा रहन पनि सुझाए। उनका अनुसार सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ कार्यान्वयन गर्दै मनसुनजन्य स्वास्थ्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिरहेको छ। सो कार्ययोजनाअनुसार मनसुनजन्य विपद्बाट प्रभावितको उपचारका लागि आवश्यक औषधि, स्वास्थ्य सामग्री, जनशक्ति तथा साधन–स्रोत तयारी अवस्थामा राखिएको छ।
त्यस्तै, सञ्चार माध्यम मार्फत महामारी तथा मनसुनजन्य स्वास्थ्य समस्याबारे जनचेतनामूलक सन्देश प्रवाह गर्ने, सङ्घ र प्रदेशमा रहेका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई थप सक्रिय बनाउने तथा स्वास्थ्य क्षेत्रको समन्वय र प्रतिकार्यलाई प्रभावकारी बनाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
डा। अधिकारीले ज्वरो, झाडापखाला, बान्ता, शरीर दुख्ने वा अन्य सङ्क्रमणका लक्षण देखिएमा घरेलु उपचारमा अल्झिनुभन्दा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण र उपचार गराउन आग्रह गरे।
मनसुनमा बढ्न सक्छ, कान–नाक–घाँटीका सङ्क्रमण
मनसुनसँगै बढ्ने आर्द्रता, पानीजन्य प्रदूषण तथा सङ्क्रमणका कारण कान, नाक र घाँटीसम्बन्धी रोगको जोखिम बढ्न सक्ने बताउँछन् वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा बिमलेश कुमार गुप्ता।
“वर्षायाममा विशेषगरी कानको सङ्क्रमण, घाँटीको सङ्क्रमण तथा नाकसम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने गर्छ”, उनी भन्छन्, “मनसुनमा वातावरणमा आर्द्रता बढी हुने भएकाले जीवाणु र फङ्गसको वृद्धि सहज हुन्छ। त्यसैले कानको सङ्क्रमण, घाँटी दुख्ने, टन्सिलको सङ्क्रमण तथा नाकका विभिन्न सङ्क्रमण अन्य मौसमको तुलनामा बढी देखिने गरेका छन्।”
डा. गुप्ताका अनुसार प्रदूषित पानी र वातावरण तथा व्यक्तिगत सरसफाइमा कमी हुँदा सङ्क्रमणको जोखिम अझ बढ्छ। “दूषित पानीको प्रयोग, वर्षामा अत्यधिक भिज्ने, कानमा पानी पस्ने तथा आवश्यक सावधानी नअपनाउँदा कान र घाँटीका सङ्क्रमण बढ्न सक्छन्”, उनले बताए।
डा. गुप्ताका अनुसार जाडोयाममा एलर्जीजन्य समस्या देखिए पनि गर्मी र मनसुनमा भने सङ्क्रमणजन्य रोगको प्रभाव बढछ। “घाँटीमा सङ्क्रमण हुँदा ज्वरो आउने, घाँटी अत्यधिक दुख्ने, निल्न गाह्रो हुने तथा नाक र घाँटी दुवैतर्फ सङ्क्रमणका लक्षण देखिन सक्छन्”, गुप्ताले भने।
सामान्य सङ्क्रमणको बेवास्ता गर्दा दीर्घकालीन जटिलता निम्तिन सक्ने भएकाले प्रारम्भिक लक्षण देखिनेबित्तिकै उपचार गराउनुपर्ने डा। गुप्ताको सुझाव छ। “कानको सङ्क्रमण समयमै उपचार नगरे कानको जालीमा प्वाल पर्न सक्ने, श्रवणशक्ति घट्न सक्ने तथा दीर्घकालीन कानको रोग विकसित हुन सक्ने जोखिम रहन्छ”, उनले बताए।
मनसुनमा कान, नाक र घाँटीका रोगबाट जोगिन केही सामान्य सावधानी अपनाउन डा गुप्ताको सुझाव छ। “सधैँ शुद्ध र सुरक्षित पानी पिउनुपर्छ। कानमा पानी पस्न दिन हुन्न र कानलाई सावधानीपूर्वक सुक्खा राख्नुपर्छ। चिकित्सकको सल्लाहबिना कानमा तेल वा अन्य कुनै तरल पदार्थ हाल्नु हुँदैन”, डा. गुप्ताले भने।
उनका अनुसार धुलोधुवाँ तथा एलर्जी गराउने वातावरणबाट सकेसम्म जोगिनुपर्ने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने, सन्तुलित आहार सेवन गर्नुपर्ने र पर्याप्त आराम तथा पानी पिउने बानी अपनाउनुपर्छ।
“नाक, कान वा घाँटी दुख्ने लक्षणलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन”, उनले भने, “समयमै चिकित्सकीय परामर्श र उपचार गरे अधिकांश सङ्क्रमण सजिलै निको हुन्छन् तर उपचारमा ढिलाइ गर्दा सङ्क्रमण फैलिने, जटिलता बढ्ने तथा दीर्घकालीन असर पर्ने सम्भावना रहन्छ।”
मनसुनका बेला विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा सङ्क्रमणको जोखिम हुने चिकित्सकको भनाइ छ।
प्रारम्भिक लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा गई चिकित्सकीय परामर्श तथा उपचार लिनु नै सुरक्षित विकल्प भएको विशेषज्ञको सुझाव छ। ( प्रगति ढकालःरासस )
नर्सिङ सुधारको माग गर्दै ज्योति रानाभाटको अनिश्चितकालीन सत्याग्रह सुरु
बिहीबार, साउन १४, २०८३
आईसीयूमा भर्ना नपाएको भन्दै बिरामीका आफन्तद्वारा भक्तपुर अस्पतालमा तोडफोड
बिहीबार, साउन १४, २०८३
कङ्गोमा इबोला नियन्त्रण गर्न राष्ट्रसङ्घको आग्रह
बिहीबार, साउन १४, २०८३
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
बिहीबार, साउन १४, २०८३
