नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको परम्परागत खाद्य परिकार सातु गर्मी मौसममा शरीरका लागि अत्यन्त लाभदायी मानिने गरेको छ। पोषणविद्हरूका अनुसार सातुले शरीरलाई शीतलता प्रदान गर्नुका साथै ऊर्जा, आवश्यक पोषक तत्त्व र हाइड्रेशन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ।
नेपालमा मकै, जौ, गहुँ, चना, भटमासलगायतका गेडागुडीलाई भुटेर पिसी सातु बनाइन्छ। स्वादअनुसार अन्य गेडागुडी, चिनी वा सख्खर मिसाएर तयार गरिने सातु दूध, दही वा मोहीसँग सेवन गर्ने चलन छ। विशेषगरी अक्षय तृतीयाका अवसरमा सातु र सर्वत बाँड्ने परम्परा पनि नेपाली समाजमा प्रचलित छ।
पहिलेका पुस्ताले लामो यात्रामा सजिलै बोक्न मिल्ने र लामो समयसम्म नबिग्रिने भएकाले सातुलाई मुख्य खाद्यका रूपमा प्रयोग गर्ने गरेका थिए। पछिल्ला वर्षहरूमा पनि सन्तुलित आहारका रूपमा बिहान चना र जौको सातु सेवन गर्ने चलन बढ्दो छ।
पोषणका दृष्टिले सातु प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, स्वस्थ बोसो तथा क्याल्सियम, आइरन, म्याग्नेसियम र पोटासियमजस्ता खनिजको राम्रो स्रोत मानिन्छ। १०० ग्राम सातुमा औसत २० देखि २६ ग्राम प्रोटिन, ६० देखि ६५ ग्राम कार्बोहाइड्रेट, ९ देखि १८ ग्राम फाइबर तथा ३८० देखि ४१३ किलो क्यालोरी ऊर्जा पाइने विभिन्न अध्ययनले देखाएका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार सातुको कम ग्लाइसेमिक इन्डेक्स भएकाले यसले रक्तशर्करा नियन्त्रणमा सहयोग पुर्याउँछ। उच्च फाइबरका कारण पाचन प्रणालीलाई स्वस्थ राख्नुका साथै लामो समयसम्म पेट भरिएको अनुभूति गराउने भएकाले तौल नियन्त्रणमा समेत मद्दत पुग्छ।
आयुर्वेदले सातुलाई शीतल गुण भएको खाद्यका रूपमा व्याख्या गरेको छ। गर्मीमा पानी वा मोहीसँग सातु सेवन गर्दा शरीरको तापक्रम सन्तुलित राख्न, अत्यधिक पसिनाका कारण गुमेको पानी र खनिजको पूर्ति गर्न तथा हिट स्ट्रोकको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास गरिन्छ।
यस्तै, सातुले शरीरलाई स्थिर ऊर्जा उपलब्ध गराउने भएकाले कडा शारीरिक श्रम गर्ने व्यक्तिका लागि पनि उपयोगी मानिन्छ। गर्मीका बेला भोक कम लाग्ने र थकान बढ्ने समस्यामा पनि सातु प्रभावकारी विकल्प हुन सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ।
यद्यपि, सातुको अत्यधिक सेवन गर्दा केही व्यक्तिमा पेट फुल्ने वा अपच हुने समस्या देखिन सक्ने भएकाले सन्तुलित मात्रामा सेवन गर्न र पर्याप्त पानी पिउन चिकित्सकहरूले सुझाव दिएका छन्। पाचन क्षमता कमजोर भएका व्यक्तिले भने कम मात्राबाट सेवन सुरु गर्नु उपयुक्त हुने विज्ञहरूको भनाइ छ।
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३
नर्सिङ सुधारको माग गर्दै ज्योति रानाभाटको अनिश्चितकालीन सत्याग्रह सुरु
बिहीबार, साउन १४, २०८३
आईसीयूमा भर्ना नपाएको भन्दै बिरामीका आफन्तद्वारा भक्तपुर अस्पतालमा तोडफोड
बिहीबार, साउन १४, २०८३

