नेभिगेशन

स्वास्थ्य क्षेत्र सुधारका लागि तीन कार्यदल गठन

१५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

नेपाल हेल्थ न्युज, काठमाडौं । सरकार र नेपाल चिकित्सक सङ्घबीच गत साउन १३ गते भएको पाँचबुँदे सहमतिअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कानुन संशोधन तथा पूर्वसम्झौताहरूको कार्यान्वयनका लागि तीन वटा छुट्टाछुट्टै कार्यदल गठन गरेको छ।

गृह, कानुन र उद्योग मन्त्रालयका प्रतिनिधिहरूसमेतको सहभागितामा भएको सहमतिअनुसार गठित कार्यदलहरूलाई आगामी १५ दिनभित्र मस्यौदा तथा कार्यान्वयन खाकासहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।

उपभोक्ता संरक्षण ऐन संशोधनका लागि गठित पहिलो कार्यदलको संयोजकत्व गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. रोशन न्यौपानेले गरेका छन्। कार्यदलमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल, डा. बिना श्रेष्ठ, डा. योगेश भण्डारी तथा कानुन र उद्योग मन्त्रालयका प्रतिनिधि सदस्य रहेका छन्।

त्यसैगरी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र मुलुकी अपराध संहिता, २०७४ का निश्चित दफाहरू संशोधनको मस्यौदा तयार गर्न उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीको संयोजकत्वमा दोस्रो कार्यदल गठन गरिएको छ। यस कार्यदलमा बाला राई, डा. विश्वराज दवाडी, डा. संयुक्त आचार्य, डा. राकेश शाह तथा कानुन मन्त्रालयका प्रतिनिधि सदस्य रहेका छन् भने सुरेश चौलागाईं सदस्यसचिवको जिम्मेवारीमा छन्।

यसैबीच, तेस्रो कार्यदललाई विभिन्न मन्त्रालय र नेपाल चिकित्सक सङ्घबीच यसअघि भएका सम्झौताहरूको अध्ययन गरी कार्यान्वयन प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। प्रमुख स्वास्थ्य प्रशासक डा. यदुचन्द्र घिमिरेको संयोजकत्वमा रहेको यस कार्यदलमा कानुन उपसचिव राजेन्द्रप्रसाद लम्साल, डा. राहुल झा, चिकित्सक सङ्घका प्रतिनिधि डा. सञ्जीव तिवारी, डा. तेजसु सिंह मल्ल, डा. पल्पसा श्रेष्ठ सदस्य तथा डा. नवराज जोशी सदस्यसचिव रहेका छन्।

मन्त्रालयका अनुसार तीनै कार्यदलबाट प्राप्त हुने प्रतिवेदनका आधारमा चिकित्सकको सुरक्षा, स्वास्थ्य सेवा प्रणालीको सुदृढीकरण तथा उपभोक्ता हित अनुकूल कानुन संशोधन प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ