नेपाल हेल्थ न्युज, नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लामो समयदेखि बिग्रिएर प्रयोगविहीन बनेका ४४ वटा विभिन्न चिकित्सकीय उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल प्राविधिक टोलीले एक साताको अवधिमा उपकरणहरूको मर्मत सम्पन्न गरेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका निर्देशक डा. नीरज भट्टराईका अनुसार मर्मत गरिएका सबै उपकरण अहिले सञ्चालनमा आइसकेका छन् भने केही उपकरण थप मर्मतका लागि प्राविधिक टोलीले काठमाडौं लगेको छ।
मर्मत भएका उपकरण सञ्चालनमा आएपछि बिरामीलाई उपचार तथा परीक्षणमा निकै सहज भएको छ, निर्देशक डा. भट्टराईले बताए।
लामो समयदेखि बिग्रिएका अत्यावश्यक उपकरण मर्मतका लागि साउनको पहिलो साता राष्ट्रिय आविष्कार केन्द्र र अस्पतालबीच सम्झौता भएको थियो। सम्झौतापछि आविष्कार केन्द्रका बायोमेडिकल टोली प्रमुख इञ्जिनियर उमेश किरातीको नेतृत्वमा पाँच सदस्यीय टोलीले अस्पतालमा पुगेर उपकरण मर्मत गरेको हो।
मर्मत गरिएका उपकरणमा दुई वटा एक्स–रे मेसिन, एउटा अल्ट्रासाउन्ड मेसिन, तीन वटा भेन्टिलेटर, एउटा एनेस्थेसिया मेसिन, एउटा केमो क्याबिनेट, माइक्रोस्कोप, ल्याप्रोस्कोपी टावर लगायत क्यान्सर परीक्षण तथा उपचारमा प्रयोग हुने महत्वपूर्ण उपकरण रहेका छन्।
इञ्जिनियर किरातीका अनुसार ल्याप्रोस्कोपी टावरका केही आवश्यक पार्टपुर्जा नेपालमा उपलब्ध नभएकाले बाहिरबाट मगाउनुपर्ने अवस्था छ। सोही कारण मेमोग्राफ उपकरणको मर्मतमा पनि कठिनाइ भएको उनले बताए। थप मर्मत आवश्यक रहेका दुई उपकरण काठमाडौं लगिएको पनि उनले जानकारी दिए।
स्थानीय अगुवा शिवराज श्रेष्ठले लामो समयदेखि थन्किएका उपकरण सञ्चालनमा आएपछि बिरामीले सामान्य परीक्षणका लागि समेत बाहिर धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए। उनले सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई थप सशक्त बनाउँदै देशभरका अस्पताल तथा अन्य क्षेत्रमा बिग्रिएका उपकरण मर्मत र नयाँ प्रविधि विकासमा सक्रिय भूमिका खेल्ने वातावरण बनाउनुपर्ने धारणा राखे।
यसअघि गत वर्ष पनि राष्ट्रिय आविष्कार केन्द्रले भेरी अस्पतालका १२ वटा विभिन्न उपकरण मर्मत गरी सञ्चालनमा ल्याएको थियो।
स्वास्थ्य क्षेत्र सुधारका लागि तीन कार्यदल गठन
आइतबार, साउन १७, २०८३
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३


