नेभिगेशन

कार्यविधिविपरीत उम्मेदवारलाई अन्तर्वार्तामा समावेश गरिएको भन्दै विशेषज्ञ आयुर्वेद चिकित्सक समाजको आपत्ति

नेपाल हेल्थ न्युज, काठमाडौं। आयुर्वेद चिकित्सा परिषद् नेपालको अध्यक्ष पदका लागि अन्तर्वार्तामा छनोट गरिएका उम्मेदवारहरूको सूचीप्रति विशेषज्ञ आयुर्वेद चिकित्सक समाजले गम्भीर आपत्ति जनाएको छ। समाजले योग्यता र मापदण्डविपरीत एक उम्मेदवारलाई अन्तर्वार्तामा समावेश गरिएको भन्दै प्रकाशित सूची तत्काल संशोधन गर्न माग गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत विभिन्न परिषद्, अस्पताल तथा बोर्डका पदाधिकारी नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्न गठित समितिले मिति २०८३ साउन १५ गते प्रकाशित गरेको अन्तर्वार्ता सम्बन्धी सूचनामा आयुर्वेद चिकित्सा परिषद् नेपालको अध्यक्ष पदका लागि छनोट गरिएका उम्मेदवारहरूमध्ये एक जना आयुर्वेद विषयमा स्नातकोत्तर नभई अकुपञ्चर (परम्परागत चिनियाँ चिकित्सा पद्धति) विषयमा स्नातकोत्तर योग्यता प्राप्त व्यक्ति रहेको समाजको दाबी छ।

समाजका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी छनोट, सिफारिस तथा नियुक्ति सम्बन्धी कार्यविधिले निर्धारण गरेको योग्यता र मापदण्डविपरीत उक्त उम्मेदवारलाई अन्तर्वार्ताका लागि समावेश गरिएको हो। यस्तो निर्णय कार्यविधिको भावना तथा कानुनी व्यवस्थाविपरीत रहेको समाजको भनाइ छ।

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजले अध्यक्ष पदका लागि आवेदन दिने उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशित भएकै बेला मन्त्रालयका सचिवलाई लिखित रूपमा ध्यानाकर्षण गराएको जनाएको छ। साथै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको सचिवालयमा मिति २०८३ साउन १३ गते दर्ता नं. २८ मार्फत औपचारिक निवेदनसमेत पेश गरिएको भए पनि त्यसलाई बेवास्ता गर्दै उक्त उम्मेदवारको नाम अन्तर्वार्ताको अन्तिम सूचीमा समावेश गरिएको समाजले जनाएको छ।

समाजले आयुर्वेद चिकित्सा र परम्परागत चिनियाँ चिकित्सा पद्धति (अकुपञ्चर) दुई पृथक् शैक्षिक तथा व्यावसायिक विधा भएकाले एउटाको योग्यता अर्को विधाको नेतृत्व पदका लागि मान्य हुन नसक्ने उल्लेख गरेको छ। योग्यता र मापदण्डविपरीत प्रक्रिया अघि बढाइनु विधिको शासन, पारदर्शिता र सुशासनका सिद्धान्तविपरीत भएको समाजको ठहर छ।

समाजले प्रकाशित अन्तर्वार्ता सम्बन्धी सूचना तत्काल सच्याई कार्यविधिअनुरूप योग्य उम्मेदवारहरू मात्र समावेश हुने गरी सूची संशोधन गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, आफू सधैं विधिसम्मत, पारदर्शी, निष्पक्ष तथा योग्यता–आधारित छनोट प्रक्रियाको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता पनि जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ