नेभिगेशन

विराट क्यान्सर इन्स्टिच्युटमा फोक्सोमा हुने क्यान्सरको शल्यक्रिया सेवा सुरु

नेपाल हेल्थ न्युज, विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गत सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटले पूर्वी नेपालमै पहिलोपटक थोरासिक अन्कोसर्जरी (फोक्सो तथा छातीसम्बन्धी क्यान्सरको शल्यक्रिया) सेवा सञ्चालनमा ल्याएको छ।

अस्पतालका अनुसार यस सेवाको सुरुवातसँगै फोक्सो तथा छातीसम्बन्धी क्यान्सरको जटिल शल्यक्रियाका लागि बिरामीले काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। यसबाट पूर्वी नेपालका बिरामीले आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार सेवा पाउने अस्पतालले जनाएको छ।

अस्पताल प्रशासनका अनुसार उक्त सेवा जिआई–एचपिबी अन्कोसर्जन (पेट, आन्द्रा, कलेजो, पित्तनली र प्याङ्क्रियास), ब्रेस्ट अन्कोसर्जन तथा साइटोरिडक्टिभ एण्ड हाइपेक सर्जन डा. शिवराज शर्माले प्रदान गर्नेछन्।

डा. शर्माले भारतको टाटा मेडिकल सेन्टर, कोलकाताअन्तर्गतको थोरासिक अन्कोसर्जरी विभाग तथा चीनको सङ्घाइ पल्मोनरी अस्पतालबाट युनिपोर्टल भ्याट्स र र्‍याट्स सम्बन्धी प्रतिष्ठित फेलोसिप तालिम पूरा गरी पुनः विराट क्यान्सर इन्स्टिच्युटमा सेवा सुरु गरेका हुन्।

फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी उपचार सेवामा वरिष्ठ फोक्सो एवं श्वासप्रश्वास तथा निद्रा रोग विशेषज्ञ प्रा. डा. पुरु कोइराला र डा. रेजिना शाहीको पनि संलग्नता रहेको अस्पतालले जनाएको छ।

थोरासिक अन्कोसर्जरी सेवा प्रदान गर्ने टोलीमा अन्कोसर्जन डा. जगरनाथ चौधरी, अन्को एनेस्थेसियोलोजिस्ट डा. रुजन बम तथा अन्को फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ सहभागी रहेका छन्।

अस्पतालले यो सेवा पूर्वी नेपालमा क्यान्सर उपचारलाई थप प्रभावकारी, सहज र पहुँचयोग्य बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ