नेपाल हेल्थ न्युज, काठमाडौं । नर्सिङ अभियन्ता तथा नर्स संघर्ष समिति संयोजक ज्योति रानाभाटले नर्स तथा समग्र स्वास्थ्यकर्मी–चिकित्सकहरूको पेशागत हक, हित, अधिकार, सम्मान, सुरक्षा, सेवा–सुविधा र पेशागत सुनिश्चितताको माग राख्दै जारी राखेको सत्याग्रहको चौथो दिनसम्म आइपुग्दा पाँच स्वास्थ्यकर्मी संगठनले संयुक्त संस्थागत ऐक्यबद्धता जनाएका छन्।
आइतबार जारी संयुक्त प्रेस विज्ञप्तिमा रानाभाटको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक र गम्भीर बन्दै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ।
विज्ञप्तिमा उहाँले उठाएका मागहरू केवल नर्सिङ पेशासँग सीमित नभई सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान, अधिकार, सुरक्षा, सेवा–सुविधा तथा सुरक्षित भविष्यसँग सम्बन्धित साझा, न्यायोचित र संवेदनशील विषय भएको उल्लेख गरिएको छ।
संयुक्त संघर्ष समितिले स्वास्थ्यकर्मीहरूको सम्मान, सुरक्षा र पेशागत सुनिश्चितताबिना गुणस्तरीय, प्रभावकारी तथा सुरक्षित स्वास्थ्य सेवाको परिकल्पना गर्न नसकिने जनाएको छ। साथै आफ्नो स्वास्थ्य र जीवनलाई जोखिममा राखेर सत्याग्रहमा बसेकी रानाभाटको अवस्थाप्रति नेपाल सरकार तथा सम्बन्धित निकायको निरन्तर मौनता, उदासीनता र बेवास्ता दुःखद, गैरजिम्मेवार तथा मानवीय संवेदनशीलताविहीन भएको टिप्पणी गरिएको छ।
विज्ञप्तिमा अब पनि रानाभाटको स्वास्थ्य अवस्थाको गम्भीरतालाई बेवास्ता गर्दै मागहरूको सम्बोधन र कार्यान्वयनमा ढिलाइ गरिए त्यसबाट उत्पन्न हुन सक्ने कुनै पनि गम्भीर परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी दिइएको छ।
संयुक्त संघर्ष समितिले सत्याग्रहमाथि पूर्ण संस्थागत ऐक्यबद्धता जनाउँदै नेपाल सरकार र सम्बन्धित निकायसँग तत्काल सार्थक संवाद, ठोस पहल तथा उठाइएका न्यायोचित मागहरूको सम्मानजनक, प्रभावकारी र शीघ्र सम्बोधन एवं कार्यान्वयन गर्न जोडदार माग गरेको छ। साथै २०८२ सालमा आमरण अनशनका क्रममा भएको सहमति पनि यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्यकर्मीहरूको सम्मान, अधिकार, सुरक्षा तथा पेशागत हकहित सुनिश्चित गर्ने विषयमा सम्बन्धित स्वास्थ्यकर्मी संगठनहरू एकताबद्ध, प्रतिबद्ध र निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरिएको छ।
यस संयुक्त विज्ञप्तिमा डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन अफ नेपाल, नेपाल पब्लिक हेल्थ एसोसिएसन, हेल्थ असिस्टेन्ट एसोसिएसन अफ नेपाल, नेपाल मेडिकल ल्याबोरेटरी एसोसिएसन र नेपाल सीएमए संघ सहभागी रहेका छन्।

विराट क्यान्सर इन्स्टिच्युटमा फोक्सोमा हुने क्यान्सरको शल्यक्रिया सेवा सुरु
आइतबार, साउन १७, २०८३
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
आइतबार, साउन १७, २०८३


