नेपाल हेल्थ न्युज, काठमाडौं । विश्वकै ठूलो महिला स्वयंसेवी सेवा संस्थामध्ये एक इनर ह्विलको स्थानीय शाखा इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमितिको पदस्थापन समारोह सम्पन्न भएको छ ।
नयाँ कार्यसमितिमा प्रेमा गुरुङ अध्यक्ष, उषा बुढाथोकी उपाध्यक्ष, निशा श्रेष्ठ सचिव तथा धनकुमारी राई कोषाध्यक्षमा पदस्थापित हुनुभएको छ । त्यसैगरी मन्नु थापा आईएसओ (इन्टरनेशनल सर्भिस अर्गनाइजर), डा. देवकी शाक्य गुभाजु सम्पादक (इडिटर) तथा पूजा खनाल, प्रनिशा बस्नेत, अञ्जना श्रेष्ठ र आशा थापा कार्यकारी सदस्यका रूपमा जिम्मेवारी सम्हाल्नुभएको छ ।
डा. देवकी शाक्य गुभाजुका अनुसार, श्रावण १४ गते काठमाडौंको कोटेश्वरस्थित दी बुके होटलमा आयोजित विशेष समारोहबीच क्लबको नयाँ नेतृत्वले आगामी कार्यकालका लागि औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्व, क्लबका सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष प्रेमा गुरुङले नयाँ कार्यसमितिले सेवा, सहकार्य र समर्पणलाई प्राथमिकतामा राख्दै समुदायको आवश्यकता अनुसार सामाजिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सबै सदस्यहरूको सक्रिय सहभागितामार्फत क्लबलाई अझ सशक्त, प्रभावकारी र उदाहरणीय सामाजिक संस्थाका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा वक्ताहरूले महिलाको नेतृत्व र सहभागिताले समाजमा दिगो परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै इनर ह्विलले वर्षौंदेखि सामाजिक उत्तरदायित्वका क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गरेका थिए । उनीहरूले मित्रता, सहकार्य र सेवाभावलाई केन्द्रमा राखेर आगामी दिनमा अझ प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
क्लबले यस वर्षका लागि ‘ग्रो एण्ड फ्लरिश’ अर्थात् ‘बढौँ र समृद्ध बनौँ’ भन्ने नारालाई आफ्नो मूल अभियानका रूपमा अघि सारेको छ । नयाँ नेतृत्वले यस नारालाई आत्मसात गर्दै सामाजिक सेवा, महिला नेतृत्व विकास, स्वास्थ्य सचेतना, शिक्षा, वातावरण संरक्षण तथा समुदाय केन्द्रित कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
सामाजिक सेवामा महिलाको सक्रिय नेतृत्वलाई अझ सुदृढ बनाउँदै समुदायमा सकारात्मक परिवर्तनको अभियानलाई निरन्तरता दिने लक्ष्यका साथ इनर ह्विल क्लब अफ महालक्ष्मीले आफ्नो नयाँ कार्यकालको औपचारिक सुरुवात गरेको जनाएको छ ।
इनर ह्विल क्लब पूर्ण रूपमा महिलाहरूको सहभागितामा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था हो । समाजसेवा, मानवीय सहयोग, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य तथा समुदाय विकासका विविध क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले यस संस्थाले विश्वभर सक्रिय रूपमा काम गर्दै आएको छ ।
सन् १९२४ मा बेलायतमा मार्गरेट गोल्डिङ द्वारा स्थापना गरिएको इनर ह्विल आज विश्वका सयौँ देशमा फैलिएको महिला स्वयंसेवी सञ्जालका रूपमा परिचित छ । संस्थाले साँचो मित्रता, व्यक्तिगत सेवा र अन्तर्राष्ट्रिय समझदारीलाई आफ्नो मूल आधार मान्दै समाजमा सकारात्मक परिवर्तनका लागि निरन्तर काम गर्दै आएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

