नेपाल हेल्थ न्युज, काठमाडौं । पाँच दिनदेखि आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाटको बिग्रँदो स्वास्थ्य अवस्था र उनका मागप्रति सरकार गम्भीर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बताएकी छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री मेहताले आफू पनि स्वास्थ्यकर्मी भएकाले सत्याग्रही रानाभाटको अवस्थाप्रति पूर्ण रूपमा संवेदनशील रहेको उल्लेख गरेकी छन्। उनले समस्याको समाधान वार्ता र संवादमार्फत नै सम्भव हुने विश्वास व्यक्त गर्दै मन्त्रालयले सुरुदेखि नै निरन्तर समन्वय र संवादको प्रयास गरिरहेको दाबी गरिन्।
मन्त्रीका अनुसार मन्त्रालयले वार्ता समिति, अतिरिक्त सचिव, सचिव तथा अन्य सम्बन्धित निकायमार्फत पटक–पटक संवादको पहल गरेको छ। साथै, स्वास्थ्य तथा शिक्षा सम्बन्धी संसदीय समितिका सभापतिले पनि यस विषयलाई सकारात्मक निष्कर्षमा पुर्याउन निरन्तर मध्यस्थता र वार्ताको प्रयास गरिरहेको उनले जानकारी दिइन्।
मन्त्री मेहताले गत साता सुनसरीमा भएको दुःखद घटनापछि त्यहाँको अवस्था व्यवस्थापन, पीडित परिवारसँग समन्वय तथा शान्ति–सुरक्षाको अवस्था सामान्य बनाउन आफू खटिइरहेको बताइन्। सुनसरीको अवस्था पूर्ण रूपमा सामान्य भइनसकेकाले आफ्नो उपस्थिति त्यहाँ आवश्यक रहेको स्पष्ट पार्दै उनले अनशनको विषयलाई पनि उच्च प्राथमिकतामा राखिएको उल्लेख गरिन्।
उनका अनुसार स्वास्थ्य मन्त्रालयले सोमबार पनि सम्बन्धित पक्षसँग पुनः वार्ताको तयारी गरेको छ। सरकारले निरन्तर संवादमार्फत समाधान खोजिरहेको उल्लेख गर्दै मन्त्री मेहताले सत्याग्रहको सकारात्मक निष्कर्षका लागि सबै पक्षबाट सहयोग, संयमता र लचकता आवश्यक रहेको बताएकी छन्।
स्वास्थ्य बीमा बोर्डले हटायो १८७ प्रकारका औषधि, बिरामीलाई कस्तो असर पर्छ ?
बुधबार, साउन २७, २०८३
चिकित्सा शिक्षा सुधारको माग गर्दै आवासीय र इन्टर्न चिकित्सकले गरे आन्दोलनको घोषणा
बुधबार, साउन २७, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० स्टाफ नर्ससहित ४६ पदमा दरखास्त आह्वान
बुधबार, साउन २७, २०८३
१७ वर्षीया बालिकाको डिम्ब निकालिएको घटनाबारे सांसद सेञ्चुरीले गराइन् सरकारको ध्यानाकर्षण
बुधबार, साउन २७, २०८३
