नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा आत्महत्या जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएको छ। नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा आत्महत्याका कारण ७ हजार १३२ जनाले ज्यान गुमाएका छन्। यो तथ्याङ्कअनुसार नेपालमा दैनिक औसत करिब २० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्।
आज (सेप्टेम्बर १०) विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व आत्महत्या रोकथाम दिवस मनाइँदैछ। यस वर्ष “आत्महत्या रोकथामबारे संवाद सुरु गरौँः दृष्टिकोण बदलौँ” भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन भइरहेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक वर्ष करिब ७ लाख मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। आत्महत्याले मृतकका परिवार, साथीभाइ तथा समुदायमा समेत गहिरो भावनात्मक, सामाजिक तथा मनोसामाजिक असर पार्ने गरेको स्वास्थ्य क्षेत्रका अधिकारीहरूले बताएका छन्।
आत्महत्याको कुनै एउटै कारण नहुने र व्यक्तिगत, पारिवारिक, सामाजिक, आर्थिक तथा वातावरणीयलगायत विभिन्न पक्षले जोखिम बढाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
मानसिक स्वास्थ्य समस्या, विशेषगरी डिप्रेसन, अत्यधिक चिन्ता, हिंसा, दुर्व्यवहार, आघातजन्य घटना, सामाजिक एक्लोपना, लाञ्छना तथा भेदभावले समेत व्यक्तिको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने जनाइएको छ। यसअघि आत्महत्याको प्रयास गरेका व्यक्तिमा पुनः प्रयास गर्ने वा आत्महत्याबाट मृत्यु हुने जोखिम तुलनात्मक रूपमा बढी हुने भएकाले उनीहरूको समयमै पहिचान, उपचार, निरन्तर सहयोग र अनुगमन आवश्यक रहेको महाशाखाले जनाएको छ।
सरकारले मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका तथा आत्महत्याको जोखिममा रहेका व्यक्तिका लागि राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ सञ्चालनमा रहेको छ।
यसैगरी, आधारभूत स्वास्थ्य सेवामार्फत मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने तथा प्रदेश र संघीय तहका अस्पतालमा मानसिक स्वास्थ्य सेवाको विस्तार गर्ने काम भइरहेको छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ ले संघ, प्रदेश र स्थानीय तहका सरकारको भूमिकालाई समेत स्पष्ट गर्दै मानसिक स्वास्थ्य सेवाको विस्तार तथा सुदृढीकरणका लागि मार्गदर्शन गरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनले आत्महत्या रोकथाम स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभएको बताउनुभएको छ। उहाँका अनुसार शिक्षा, सामाजिक सेवा, सञ्चार, सुरक्षा, स्थानीय सरकार, नागरिक समाज, समुदाय र परिवारलगायत सबै क्षेत्रबीचको सहकार्य आवश्यक छ।
यस वर्ष रसुवा र नुवाकोटमा आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायलाई थप सजग र संवेदनशील बन्न महाशाखाले आग्रह गरेको छ। विपद्पश्चात् प्रभावित व्यक्ति तथा परिवारको मानसिक स्वास्थ्य संरक्षण र प्रवर्द्धनका लागि मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य सेवा तथा आवश्यक सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
महाशाखाले आत्महत्याका विषयमा रहेको मौनता र हिचकिचाहट हटाउँदै समस्यामा रहेका व्यक्तिको कुरा सुन्ने, सहानुभूतिपूर्वक व्यवहार गर्ने तथा आवश्यक सहयोग र सेवासँग जोड्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम, नागरिक समाज, समुदाय, परिवार तथा आम नागरिकलाई आत्महत्या रोकथामसम्बन्धी जनचेतना अभिवृद्धि गर्न, मानसिक स्वास्थ्यसँग जोडिएको लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्न र जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग तथा आवश्यक सेवामा पहुँच पुर्याउन महाशाखाले आह्वान गरेको छ।
महाशाखाले “आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ र आत्महत्या रोकथामलाई साझा जिम्मेवारीका रूपमा अघि बढाऔँ” भन्ने सन्देश दिएको छ।
अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
बिहीबार, भदौ २५, २०८३
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३

