नेभिगेशन

ब्लूएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता उठाउने

नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को क्षेत्रीय निर्देशक पदका लागि नेपालले डा. संगीता कौशल मिश्रालाई उम्मेदवार बनाउने तयारी गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. मिश्रालाई उक्त पदमा अघि सार्ने निर्णय सरकारले गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार सरकारले डा. मिश्राको उम्मेदवारीका लागि सदस्य राष्ट्रहरूसँग कूटनीतिक समन्वय र समर्थन जुटाउने कामसमेत अघि बढाइसकेको छ।

तत्कालीन क्षेत्रीय निर्देशक बंगलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिएपछि सेरोको क्षेत्रीय निर्देशक पद रिक्त छ। उक्त पदका लागि डब्लूएचओले आगामी अक्टोबर १२ मा उम्मेदवारी आह्वान गर्ने र जनवरी २४ मा निर्वाचन गर्ने तयारी गरिरहेको स्रोतको भनाइ छ।

नेपालसँगै भुटान, माल्दिभ्स र श्रीलंकाले पनि आफ्ना उम्मेदवार अघि सार्ने तयारी गरिरहेका छन्। डब्लूएचओको दक्षिण–पूर्वी एसियाली क्षेत्रमा ११ सदस्य राष्ट्र छन्। यद्यपि यसपटक १० देशले मात्रै मतदान गर्नेछन्। सन् २०२१ मा भएको सैन्य ‘कु’पछि संयुक्त राष्ट्रसंघीय प्रतिबन्धमा रहेको म्यानमार मतदान प्रक्रियाबाट बाहिर रहनेछ।

निर्वाचनमा नेपाल, भारत, भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका, थाइल्यान्ड र टिमोर–लेस्टेलगायतका सदस्य राष्ट्रको मत निर्णायक हुने अपेक्षा गरिएको छ। विशेषगरी भारतको समर्थनले निर्वाचनको परिणाममा महत्वपूर्ण प्रभाव पार्न सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार डा. मिश्रालाई उम्मेदवार बनाउने निर्णय मन्त्रिपरिषद्बाट समेत भइसकेको छ। ‘उहाँलाई निर्देशकको उम्मेदवारका लागि मन्त्रिपरिषद्ले समेत निर्णय गरेको छ। अब सदस्य राष्ट्रहरूसँग मत जुटाउने गृहकार्यमा जुटेका छौं,’ ती अधिकारीले भन्नुभयो।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका पालामा डा. मिश्रालाई स्वास्थ्यमन्त्री नियुक्त गर्ने प्रस्तावसमेत गरिएको थियो। उहाँको नाम अनुमोदनका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको थियो। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेर छानबिन भइरहेको जानकारी पाएपछि उहाँलाई मन्त्री नियुक्त गर्ने निर्णयबाट कार्की पछि हट्नुभएको थियो। उक्त मुद्दामा विशेष अदालतले गत १ असारमा डा. मिश्रालाई सफाइ दिएको थियो।

यसअघि सन् २०२३ मा भएको डब्लूएचओ सेरोको क्षेत्रीय निर्देशक निर्वाचनमा नेपालका तर्फबाट डब्लूएचओ मुख्यालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्य उम्मेदवार बन्नुभएको थियो। उक्त निर्वाचनमा तत्कालीन बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले ८ मत प्राप्त गर्दा डा. आचार्यले २ मत मात्रै पाउनुभएको थियो।

बंगलादेशमा भएको राजनीतिक परिवर्तन, वाजेदमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोप तथा डब्लूएचओको आन्तरिक छानबिनपछि उहाँलाई पदबाट निलम्बन गरिएको थियो। त्यसपछि उहाँले सेप्टेम्बर ९ मा क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिनुभएको थियो।

अब रिक्त रहेको उक्त पदमा नेपालले डा. मिश्रालाई अघि सार्ने तयारी गरेसँगै सेरोको नेतृत्वका लागि हुने निर्वाचनमा नेपालको कूटनीतिक सक्रियता बढ्ने देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट