नेभिगेशन

कांग्रेस महामन्त्रीमा मेडिकल व्यवसायी सुनिलकुमार शर्माले दिए उम्मेदवारी

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मेडिकल व्यवसायी सुनिलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौं मेडिकल कलेज (केएमसी) तथा नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्माले कांग्रेसलाई पुनः आमनागरिकको घरदैलोसम्म जोड्ने लक्ष्यसहित महामन्त्रीमा प्रतिस्पर्धा गर्न लागेको बताउनुभएको छ।

उहाँका अनुसार पार्टीको वास्तविक शक्ति राजधानीमा हुने बैठक वा पार्टी कार्यालयमा मात्र सीमित नरही गाउँ–गाउँका नागरिकसँगको सम्बन्धमा निर्भर हुन्छ। किसान, मजदुर, शिक्षक, विद्यार्थी, व्यवसायी, युवा तथा आम मतदातासँग पार्टीको प्रत्यक्ष सम्बन्ध बलियो बनाउन आफूले प्राथमिकता दिने उहाँको भनाइ छ।

महामन्त्रीको जिम्मेवारी पाए जनतासँग नियमित संवाद गर्ने, उनीहरूका समस्या र अपेक्षा बुझ्ने तथा ती विषयलाई कांग्रेसको राजनीतिक एजेन्डासँग जोड्ने गरी संगठन निर्माण गर्ने शर्माले बताउनुभएको छ।

यसैबीच, कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी मनोनयनको समय थप गरिएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार यसअघि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको मनोनयनको समय बढाएर साँझ ६ बजेसम्म पुर्‍याइएको हो।

महामन्त्री पदमा खुला तथा महिला समूहबाट विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन्। खुलातर्फ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, शंकर तिवारी र नैनसिंह महरले उम्मेदवारी दर्ता गराउनुभएको हो । महिला महामन्त्रीतर्फ डिला संग्रौला र रिता खनाल प्रतिस्पर्धामा हुनुहुन्छ।

सहमहामन्त्री पदमा पनि विभिन्न समूहबाट उम्मेदवारी परेको छ। महिलातर्फ प्रतिमा गौतम, खुलातर्फ देवेन्द्रराज कंडेल र रामहरि खतिवडा, खस आर्यतर्फ मनोजमणि आचार्य तथा पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ। त्यस्तै, उपसभापति पदमा महिलातर्फ पुष्पा भुसाल तथा समावेशीतर्फ विनोद चौधरी र फरमुल्लाह मन्सुरले उम्मेदवारी दिनुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट