नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले देशभर जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्ने उद्देश्यले ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको उपचारात्मक सेवा महाशाखाले तयार गरेको मापदण्डमा जलन भएका बिरामीको प्रारम्भिक उपचारदेखि विशेषज्ञ उपचार, रेफरल, पुनर्स्थापना र स्वास्थ्यकर्मीको तालिमसम्मका विषय समेटिएका छन्।
मापदण्डअनुसार नेपालमा जलन उपचार सेवालाई चार तहमा वर्गीकरण गरिएको छ। जसमा लेभल–१ मा आधारभूत जलन सेवा, लेभल–२ मा सामान्य जलन सेवा, लेभल–३ मा विशेषज्ञ जलन केन्द्र र लेभल–४ मा सुपर–विशेषज्ञ जलन केन्द्र रहने व्यवस्था गरिएको छ।
मापदण्डले स्वास्थ्यकर्मीको तालिमलाई पनि जलन उपचार प्रणालीको महत्वपूर्ण अंगका रूपमा समेटेको छ। स्थानीय तह तथा समुदायस्तरमा कार्यरत स्वास्थ्यकर्मीलाई जलनको प्रारम्भिक उपचार, बिरामीको वर्गीकरण, तरल पदार्थ व्यवस्थापन, पीडा नियन्त्रण, घाउको ड्रेसिङ, निगरानी, अभिलेखीकरण तथा आवश्यकताअनुसार रेफर गर्ने विषयमा तालिम दिनुपर्ने व्यवस्था गरिएको छ।
उच्च तहको उपचार केन्द्र दुई घण्टाभन्दा बढी दूरीमा रहेको अवस्थामा स्थानीय अस्पतालले जलन भएका बिरामीलाई प्रारम्भिक २४ घण्टासम्म पुनर्जीवन उपचार दिन सक्ने क्षमता विकास गर्नुपर्ने मापदण्डमा उल्लेख छ। लेभल–३ र लेभल–४ का केन्द्रलाई जलनसम्बन्धी थप विशेषज्ञ तथा उन्नत उपचारसँगै तालिम प्रदान गर्ने जिम्मेवारीसमेत दिइएको छ।
मापदण्डले जलनको प्राथमिक उपचारका क्रममा सम्भव भएसम्म चिसो बगिरहेको पानीले ३० मिनेटसम्म जलन भएको भाग चिस्याउन र त्यसपछि सफा कपडा वा ड्रेसिङले ढाक्न सुझाव दिएको छ।
त्यस्तै, जलन भएको भागमा टुथपेस्ट, माटो, घिउ, तेल, बटर वा जडीबुटीको लेप लगाउन तथा बरफ वा बरफ पानी प्रयोग गर्न नहुने स्पष्ट गरिएको छ।
जलन भएका सबै बिरामीलाई नियमित रूपमा प्रणालीगत एन्टिबायोटिक प्रयोग नगर्न पनि मापदण्डले सुझाएको छ। संक्रमणको स्पष्ट प्रमाण देखिएमा मात्र चिकित्सकीय मूल्यांकनका आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
मापदण्डले जलन उपचारलाई प्रारम्भिक उपचार, स्थिरीकरण, विशेषज्ञ उपचार, शल्यक्रिया, संक्रमण नियन्त्रण, पोषण, पुनर्स्थापना, मनोसामाजिक सहयोग तथा रेफरल प्रणालीसँग जोडेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मापदण्ड कार्यान्वयनपछि जलनका बिरामीलाई अवस्थाअनुसार उपयुक्त स्वास्थ्य संस्थामा समयमै उपचार तथा रेफरल सुनिश्चित गर्न सहयोग पुग्नेछ।
स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए, ४ जनाको सरुवा (सूचीसहित)
बुधबार, असोज २१, २०८३
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को परीक्षामा ३६.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण
बुधबार, असोज २१, २०८३
कांग्रेस महामन्त्रीमा मेडिकल व्यवसायी सुनिलकुमार शर्माले दिए उम्मेदवारी
मंगलबार, असोज २०, २०८३
अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा
मंगलबार, असोज २०, २०८३
