नेभिगेशन

सर्पदंशका बिरामीको मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक डा. सिंह मन्त्रालय तानिए

नेपाल हेल्थ न्युज, जनकपुरधाम । आईसीयू अभावमा सर्पदंशका बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनापछि जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अधिकृतस्तरको १०औँ तहमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन डा. सिंहलाई मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कामकाज गर्ने गरी सरुवा गरेको हो ।

डा. सिंहको स्थानमा मन्त्रालयमा कार्यरत १०औँ तहका प्रमुख मेसु डा. इन्द्रजीतकुमार रजकलाई जनकपुर प्रादेशिक अस्पतालमा काज सरुवा गरिएको छ ।

गत असोज १३ गते राति सर्पले टोकेपछि जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका २५ वर्षीय महेश यादव आफैँ स्कुटर चलाएर उपचारका लागि प्रादेशिक अस्पताल पुगेका थिए ।

अस्पतालमा उनलाई १० भायल एन्टिस्नेक भेनम दिएर उपचार गरिएको थियो । तर, स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्नुपर्ने अवस्था आएको थियो । यद्यपि, आईसीयू खाली नभएको भन्दै अस्पतालले उनलाई अन्यत्र रेफर गरेको थियो ।

प्रादेशिक अस्पतालबाट रेफर भएपछि यादवलाई अन्य दुई अस्पतालमा समेत लगिएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव हुन सकेन । अन्ततः उनलाई सर्पदंश उपचार केन्द्र, बर्दिबास पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

आईसीयू अभावका कारण बिरामीले समयमै उपचार पाउन नसकेको र ज्यान गुमाउनुपरेको घटनापछि जनकपुर प्रादेशिक अस्पतालको सेवा प्रवाह र व्यवस्थापनमाथि व्यापक आलोचना भइरहेको छ । यस घटनापछि अस्पतालका निर्देशकलाई मन्त्रालयमा सरुवा गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट