नेभिगेशन

‘नमस्ते’ गर्न डराउने युवती सफल म्यानेजर !

सात वर्षको संघर्ष, आत्मविश्वास र निरन्तर मेहनतले लेखिएको सफलताको प्रेरणादायी कथा 

नेपाल हेल्थ न्युज, काठमाडौं । ‘बजारमा आउने चुनौतीलाई अवसरका रूपमा लिन सके मेडिकल मार्केटिङमा महिलाहरूको भविष्य निकै उज्ज्वल छ । यो पेसा सुरुमा धेरैको रोजाइमा नपरे पनि एकपटक यसको अनुभव लिएपछि व्यक्तित्व, आत्मविश्वास र करिअरलाई नयाँ उचाइमा पु¥याउँछ ।’ यो भनाइ हो युएसए कोलाबोरेसन कम्पनी क्यारिनो डर्मिसमा म्यानेजर पदमा कार्यरत अञ्जु क्षेत्रीको  ।

उहाँको ७ वर्षे बजार यात्रामा अनेक उतारचढाव आएपनि विना अवरोध करिअरलाई अघि बढाइरहनुभएको छ । सानो परिवारमा हुर्कनुभएकी अञ्जुृलाई मानिसहरूसँग कसरी नजिकिने वा कुराकानी अघि बढाउने भन्ने खासै हेक्का थिएन । भर्खर ब्याचलर सकेर मेडिकल मार्केटिङको दुनियाँमा पाइला टेक्दा यो फिल्डले सम्पूर्ण व्यक्तित्व नै बदलिदिने सोच्नुभएको थिएन । ‘सुरुमा डाक्टरहरूलाई कसरी नमस्ते गर्नेसम्म आउँदैनथ्यो ।

जबर्जस्ती नमस्ते गर्दा पनि एकदम डर’—आफ्ना सुरुवाती दिन सम्झँदै अञ्जुले भन्नुभयो—‘पहिलो पटक ओपिडी भित्र छिरेर डाक्टरलाई प्रोडक्टबारे बुझाउँदा मेरो हात लकलक काँपेको थियो, अनुहारमा पसिना आएको थियो र आत्तिएकी थिएँ ।’ सुरुवाती एक हप्तासम्म कसैले ढाडस दिए त कतिपयले ‘राम्रोसँग प्रोडक्ट बुझाउन नआउने भए किन फिल्डमा आएको?’ भन्दै नमीठो वचन पनि सुनाए ।

‘हुन त मेडिकल मार्केटिङ सुरुमा कसैको पनि रोजाइ वा योजनामा पर्दैन । तर एकपटक स्वाद चाखिसकेपछि अरू कुनै पनि फिल्डमा जान मन लाग्दैन ।’                     

तर अञ्जुले ती सबै प्रतिक्रियालाई सकारात्मक रूपमा लिनुभयो । त्यसलाई आफ्नो ‘लर्निङ पिरियड’को रूपमा उपयोग गर्नुभयो । यो पेसामा कुनै निश्चित ‘टेन टु फाइभ’ को समय सीमा हुँदैन । डाक्टरहरूको समय र उपलब्धता अनुसार कहिले बिहानै ६ बजे त कहिले राति ९ बजेसम्म फिल्डमा खटिनुपर्ने हुन्छ ।

अर्कोतर्फ घरपरिवारलाई आफ्नो कामको प्रकृति बुझाएर विश्वासमा लिनु यसको सबैभन्दा चुनौतीपूर्ण पाटो हो । यही समयको तालमेल र पारिवारिक सन्तुलन मिलाउन नसक्दा धेरैजसो महिलाहरूले विवाहपछि यो पेसा छोड्ने गरेको तीतो यथार्थ भएको अञ्जुको अनुभव छ ।  

मेडिकल मार्केटिङमा सफल हुन अञ्जु क्षेत्रीका पाँच सफलता मन्त्र
१. गुणस्तरीय उत्पादनमा विश्वास

  •     गुणस्तरीय उत्पादन भए मात्र प्रतिनिधिमा आत्मविश्वास आउँछ ।
  •     डाक्टरहरूले पनि विश्वसनीय उत्पादनलाई निर्धक्क भएर प्रेस्क्रिप्सनमा समावेश गर्छन् ।
  •     उत्पादनको गुणस्तर नै बजारमा यसको वास्तविक मूल्य स्थापित गर्ने आधार हो ।

२. सम्बन्ध र विश्वास निर्माण

  •     फर्मा बजारको मेरुदण्ड भनेकै डाक्टर तथा सरोकारवालासँगको बलियो सम्बन्ध हो ।
  •     सम्मान, आत्मीयता र विश्वासको वातावरण निर्माण गर्न सके दीर्घकालीन व्यावसायिक सम्बन्ध कायम हुन्छ ।
  •     विश्वास जित्न सके मात्र बजारमा स्थायी सफलता सम्भव हुन्छ ।

३. धैर्यता र सहनशीलता

  •     ओपिडीमा डाक्टरहरू बिरामीको उपचारमा अत्यन्त व्यस्त हुन्छन् भन्ने बुझ्नुपर्छ ।
  •    आवश्यक परे आधा घण्टादेखि एक घण्टा वा सबै बिरामीको पालो सकिएसम्म पनि धैर्यपूर्वक पर्खिन सक्ने क्षमता हुनुपर्छ ।
  •     सफल एमआरका लागि धैर्यता सबैभन्दा ठूलो पूँजी हो ।

४. अनुशासन, समयपालन र आत्मविश्वास

  •     समयको सम्मान गर्नु, नियमितता कायम राख्नु र अनुशासित कार्यशैली अपनाउनु अनिवार्य छ ।
  •     चुनौतीपूर्ण परिस्थितिमा पनि आत्मविश्वास कायम राख्न सक्ने व्यक्ति मात्र यस क्षेत्रमा टिक्न सक्छ ।

५. पूर्व–योजना र स्पष्ट लक्ष्य
    भोलिको कार्ययोजना आजै तयार गर्ने बानी सफलताको महत्वपूर्ण आधार हो ।
    बजारको उतारचढावलाई सहज रूपमा स्वीकार गर्दै योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ ।
    स्पष्ट लक्ष्य र निरन्तर मेहनतले मात्र मेडिकल मार्केटिङमा दीर्घकालीन सफलता हासिल गर्न सकिन्छ ।

 
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप करियर