नेपाल प्रहरीले सन् २०२५ मा सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष करिब सात हजार मानिसले आत्महत्याका कारण ज्यान गुमाउँछन् । यसको अर्थ दिनमै औसत १८ जनाको जीवन समाप्त भइरहेको छ ।
यी केवल अङ्क मात्र होइनन्, यी तिनै मानिस हुन् जसलाई हामी वरपर भेट्दा के छ खबर ? सन्चै छौ ? भनेर सोध्छौँ । अनि उनीहरूले सबै ठिकै छ भन्दा हामी नयाँ प्रसङ्गतिर मोडिन्छौँ । हुनसक्छ, वास्तविक पीडा उनीहरूको त्यही ठिकै छ भन्ने शब्दभित्रै लुकेको थियो कि ।
विश्वभर नै आत्महत्याका वास्तविक घटनाहरू दर्ता नहुने समस्या व्यापक छ र नेपालमा पनि प्रहरी र अस्पतालको कमजोर अभिलेख प्रणाली तथा मानसिक स्वास्थ्यप्रतिको सामाजिक लान्छनाका कारण तथ्यहरू लुकाउने गरिएको छ । यसका साथै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार आत्महत्याका कारण ज्यान गुमाउनेहरूको तुलनामा आत्महत्याको प्रयास गर्नेहरूको संख्या २० गुणासम्म बढी हुने अनुमान छ ।
आउँदो सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस नजिकिँदै गर्दा यी तथ्याङ्कहरूले हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहेका छन् के हामी आफ्नै कुनै मान्छे गुमाउने खतरामा त छैनौँ ?
सबैभन्दा बढी जोखिममा को छन् ?
आत्महत्याले कुनै खास उमेर, लिङ्ग वा जातजाति भन्दैन । तर पहिलेदेखि नै मानसिक स्वास्थ्यमा समस्या भएका, निरन्तर सामाजिक–आर्थिक दबाब र भेदभाव झेलिरहेका तथा विगतमा कुनै प्रकारको हिंसा वा दुव्र्यवहार भोगेका मानिस विशेष रूपमा जोखिममा पर्छन् ।
नेपालमा १५ देखि ४५ वर्षका महिलाहरूमा आत्महत्याको मुख्य कारण घरेलु हिंसा, वैवाहिक कलह, यौन दुव्र्यवहार र पितृसत्तात्मक पारिवारिक ढाँचाबाट सिर्जित गहिरो मनोसामाजिक तनाव बन्ने गरेको छ । अर्कोतिर नेपालमा कुल आत्महत्याका घटनाहरूमध्ये करिब ६० प्रतिशत पुरुषहरू छन् ।
पुरुषहरूका लागि साझा कारणहरूमा वैदेशिक रोजगारीको संघर्ष, आर्थिक भार र पुरुष रुनु हुँदैन, पुरुषले कमजोरी देखाउनु हुँदैन भनेर सानैदेखि सिकाइएको पुरुषत्वको सामाजिक मान्यता पर्छन् । यसले पुरुषहरूलाई आफ्नो पीडा लुकाउन बाध्य पार्छ जसले गर्दा मानसिक स्वास्थ्य समस्याको पहिचान नै हुन पाउँदैन ।
विभिन्न अध्ययनहरूका अनुसार पुरुषहरूमा आत्महत्याका कारण ज्यान जाने सम्भावना बढी भए पनि महिलाहरूमा आत्महत्याको विचार आउने दर बढी हुन्छ र उनीहरूले आत्महत्याको प्रयास गर्ने सम्भावना पुरुषको तुलनामा तीन गुणा बढी हुन्छ ।
आत्महत्याको जोखिम कसरी पहिचान गर्ने ?
भाषिक सङ्केतः कोही मानिस मेरो समस्याले गर्दा सबैलाई गाह्रो भयो भन्न सक्छन् । अरू कोही भन्लान्, सधैँका लागि सुत्न पाए हुन्थ्यो वा म नभए सबैलाई सजिलो हुन्थ्यो । हामी प्रायः त्यसरी नबोल भनेर हाँसेर पन्छाउने गर्छौँ । तर सम्झनुहोस् यी सामान्य गुनासा मात्र होइनन् ।
सामाजिक र व्यावहारिक दूरीः धेरैजसो मानिस साथीभाइ र परिवारबाट टाढिन थाल्छन् । उनीहरूले फोन उठाउन वा म्यासेजको जवाफ दिन छाड्छन् र सोसल मिडिया अकाउन्टहरू डिलिट गर्छन् । उनीहरूले आफूलाई पहिला मनपर्ने काम वा रुचिहरू छाडिदिन्छन् । यसलाई हामीले सामान्य रूपमा हेर्नुहुँदैन ।
अन्तिम बिदाइको सङ्केतः कहिलेकाहीँ मानिसहरू सदाका लागि छुटिन लागेझैँ व्यवहार गर्छन् । आफ्ना प्रिय वस्तुहरू अरूलाई सुम्पिने, हतार–हतार वसीयत लेख्ने वा हिसाब–किताब मिलाउने वा अनौठो र अपरिचित तरिकाले बिदा माग्ने गरेको पाइन्छ ।
अचानक र अस्पष्ट शान्तपनाः अनि सबैभन्दा अन्योलमा पार्ने सङ्केत त के हुन्छ भने लामो समयदेखि गम्भीर तनावमा रहेको मानिस अचानक असामान्य रूपमा शान्त वा खुसी देखिन सक्छ । हामीमध्ये धेरैले यसलाई सुधार आएको राम्रो सङ्केतका रूपमा लिन्छौँ । तर कहिलेकाहीँ यसको अर्थ उनीहरूले अन्तिम निर्णय लिइसकेको र राहत महसुस गरेको पनि हुनसक्छ ।
सीधै सोध्दैमा जोखिम बढ्दैन
आफ्ना नजिकका मान्छे गम्भीर सङ्कटमा छन् भन्ने बुझ्दाबुझ्दै पनि हामी अक्सर कुरा गर्न हिचकिचाउँछौँ । सिधै आत्महत्याका बारेमा सोध्दा कतै उनीहरूलाई त्यतातिर धकेलेझैँ होला कि भन्ने एउटा ठूलो भ्रम हामीमा हुन्छ । तर मानसिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार यो डर सर्वथा गलत हो । के तिमीलाई आफ्नो ज्यान नै लिऊँ जस्तो लागिरहेको छ ? वा के तिमीलाई मरिदिऊँ जस्तो लागिरहेको छ ? भनेर सीधै सोध्दा जोखिम बढ्दैन, उल्टै घट्छ ।
यस्तो स्पष्ट प्रश्नले उनीहरूलाई मैले तिमीभित्रको पीडा देखेको छु, तिमी एक्लो छैनौ भन्ने सन्देश दिन्छ र मनको बोझ बिसाउने बाटो खोलिदिन्छ । अनि कहिलेकाहीँ, कसैलाई त्यो कठिन बाटोबाट फर्काउन यो एउटै वाक्य पनि पर्याप्त हुन सक्छ ।
हामी वास्तवमा के गर्न सक्छौँ ?
सबैभन्दा पहिलो र सरल काम उनीहरूको कुरा सुनिदिनु हो । केही भएको छैन, सबैको जीवनमा दुःख हुन्छ भनेर पीडालाई सानो नबनाइदिनुहोस् । बरु यति भन्नुहोस्ः म बुझ्न सक्छु तिमीलाई गाह्रो भइरहेको छ, तर म तिम्रै साथमा छु ।
यत्तिमै नरोकिनुहोस् । उनीहरूलाई कुनै विशेषज्ञ वा परामर्शदाताबाट सहयोग लिन प्रेरित गर्न आफूले सक्ने सहयोग गर्नुहोस् । आत्महत्या रोकथाम कुनै मनोविद् वा अस्पतालको मात्र काम होइन । यो त हामी सबैको जिम्मेवारी हो । तपाईंको, मेरो र हाम्रा वरपरका सबैको । यो सेप्टेम्बरमा, कसैलाई उनीहरूको खबर सोधौँ र उनीहरूको उत्तर सुन्न साँचो अर्थमा पर्खौँ । त्यो एउटा सानो कुराकानी नै कसैको जीवन बचाउने माध्यम बन्न सक्छ ।
किन मानिसहरू आत्महत्या गर्न बाध्य हुन्छन् ?
बिहीबार, असार ४, २०८३
मानसिक अस्पतालको किशोर–किशोरी मानसिक स्वास्थ्य इकाइभित्रका कथा
सोमबार, फागुन ११, २०८२
सरकारी मानसिक अस्पतालभित्रको वास्तविकता, चुनौती र साइक्याट्रिक नर्सिङको अपरिहार्यता
आइतबार, फागुन १०, २०८२

