नेभिगेशन
विश्व आत्महत्या रोकथाम दिवस

नेपालमा हरेक दिन औसत २० जनाको मृत्युः आत्महत्या रोकथाममा संवाद र दृष्टिकोण परिवर्तनको खाँचो

मानसिक स्वास्थ्य समस्या, सामाजिक एक्लोपना, हिंसा, आर्थिक तथा पारिवारिक दबाबलगायतका जोखिम पहिचान गर्दै समयमै सहयोग र उपचारमा जोड दिनुपर्ने विज्ञहरूको भनाइ

नेपाल हेल्थ न्युज, काठमाडौं । आत्महत्या विश्वव्यापी रूपमा गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहँदै आएको छ। यसले एउटा व्यक्तिको जीवन मात्र प्रभावित गर्दैन, परिवार, आफन्त, साथीभाइ र समुदायमा समेत दीर्घकालीन भावनात्मक तथा सामाजिक असर पार्ने गर्दछ। यही चुनौतीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ।

यस वर्ष “आत्महत्या रोकथामबारे संवाद सुरु गरौँः दृष्टिकोण बदलौँ” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी निकायले जनचेतनामूलक, प्रवर्द्धनात्मक तथा रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै यो दिवस मनाइरहेका छन्।

नेपालमा आत्महत्या रोकथामलाई अझ प्रभावकारी बनाउन व्यक्ति, परिवार, समुदायदेखि राज्यका विभिन्न तह र क्षेत्रबीच सहकार्य आवश्यक रहेको स्वास्थ्य क्षेत्रले जनाएको छ।

नेपालमा दैनिक औसत २० जनाको मृत्यु

नेपाल प्रहरीबाट प्राप्त तथ्यांकअनुसार आर्थिक वर्ष २०८२, ८३ मा ७ हजार १३२ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन्। यो तथ्यांकअनुसार नेपालमा दैनिक औसत करिब २० जनाको मृत्यु आत्महत्याका कारण हुने गरेको देखिन्छ।

यो अवस्था नेपालका लागि गम्भीर जनस्वास्थ्य चुनौती भएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ। आत्महत्याका घटनालाई केवल व्यक्तिगत समस्या वा व्यक्तिगत निर्णयका रूपमा मात्र बुझ्नुको सट्टा यसको पछाडि रहेका मानसिक, पारिवारिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्षलाई समेत गहिराइमा बुझ्न आवश्यक देखिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार पनि आत्महत्या रोकथाम सम्भव छ। जोखिममा रहेका व्यक्तिको समयमै पहिचान, आवश्यक सहयोग, मानसिक स्वास्थ्य सेवामा पहुँच र संकटका समयमा उचित हस्तक्षेपले जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।

कारण एउटै हुँदैन

आत्महत्याको जोखिम कुनै एउटा कारणले मात्र उत्पन्न हुँदैन। व्यक्तिको मानसिक अवस्था, पारिवारिक सम्बन्ध, सामाजिक वातावरण, आर्थिक कठिनाइ, हिंसा तथा दुर्व्यवहार, आघातजन्य अनुभव, सामाजिक एक्लोपना, लाञ्छना र भेदभावजस्ता अनेक पक्षले व्यक्तिको मानसिक स्वास्थ्यमा असर पार्न सक्छन्।

विशेषगरी डिप्रेसन (उदासीनता), अत्यधिक चिन्ता तथा अन्य मानसिक स्वास्थ्य समस्याहरू आत्महत्याको जोखिमसँग सम्बन्धित हुन सक्छन्। त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिँदा त्यसलाई बेवास्ता नगरी समयमै पहिचान र उपचारमा जोड दिनुपर्ने हुन्छ।

यसैगरी, विगतमा आत्महत्याको प्रयास गरेका व्यक्तिमा पुनः जोखिम बढ्न सक्ने भएकाले त्यस्ता व्यक्तिलाई निरन्तर सहयोग, उपचार, परिवारको साथ र आवश्यक अनुगमन महत्वपूर्ण हुन्छ।

‘कुरा गरौँ’ भन्ने वातावरण आवश्यक

आत्महत्याका विषयमा समाजमा अझै पनि लाञ्छना, गलत धारणा र हिचकिचाहट रहेको पाइन्छ। मानसिक स्वास्थ्यसम्बन्धी समस्या वा संकटमा रहेका व्यक्तिले आफ्नो समस्या व्यक्त गर्न सुरक्षित वातावरण नपाउँदा उनीहरू थप एक्लो महसुस गर्न सक्छन्।

यस वर्षको नाराले यही मौनता तोडेर संवाद सुरु गर्न र दृष्टिकोण परिवर्तन गर्न आह्वान गरेको छ।

समस्यामा रहेको व्यक्तिको कुरा ध्यानपूर्वक सुन्ने, उसको भावनालाई गम्भीरतापूर्वक लिने, दोषारोपण नगर्ने र आवश्यक परे स्वास्थ्य सेवासँग जोड्ने वातावरण निर्माण गर्नु आत्महत्या रोकथामको महत्वपूर्ण आधार हो।

आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई ‘कमजोर’, ‘असफल’ वा ‘ध्यान आकर्षित गर्न खोजेको’ जस्ता आरोप लगाउनुको सट्टा उसको अवस्थालाई बुझ्ने र सहयोग गर्ने संस्कार विकास गर्न आवश्यक छ।

आत्महत्या रोकथाम स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी होइन

आत्महत्या रोकथामलाई केवल स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य संस्थाको जिम्मेवारीका रूपमा हेर्न नहुने स्वास्थ्य क्षेत्रले जनाएको छ।

यसका लागि शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, सुरक्षा निकाय, स्थानीय सरकार, सञ्चारमाध्यम, नागरिक समाज, समुदाय, परिवार तथा अन्य सरोकारवाला निकायबीच समन्वय आवश्यक हुन्छ।

विद्यालय तथा शैक्षिक संस्थामा मानसिक स्वास्थ्यबारे सचेतना, परिवारमा खुला संवाद, समुदायमा सहयोगी वातावरण, स्वास्थ्य संस्थामा मानसिक स्वास्थ्य सेवाको पहुँच र संकटमा रहेका व्यक्तिलाई समयमै सेवामा जोड्ने प्रणालीलाई थप बलियो बनाउनुपर्ने आवश्यकता छ।

हेल्पलाइन ११६६ मार्फत सहयोग

नेपाल सरकारले मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामका लागि राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ सञ्चालन गर्दै आएको छ। मानसिक स्वास्थ्यसम्बन्धी समस्या वा संकटमा रहेका व्यक्तिले आवश्यक सहयोग प्राप्त गर्न यस सेवाको उपयोग गर्न सक्छन्।

यससँगै आधारभूत स्वास्थ्य सेवाको तहदेखि नै मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने तथा प्रदेश र संघीय तहका अस्पतालमा मानसिक स्वास्थ्य सेवाको पहुँच बढाउने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ ले संघ, प्रदेश र स्थानीय तहका सरकारको भूमिकालाई समेत स्पष्ट गर्दै मानसिक स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणका लागि मार्गदर्शन गरेको छ।

विपद्पछि मानसिक स्वास्थ्यमा विशेष ध्यान

यस वर्ष नेपालका केही क्षेत्रमा आएको प्राकृतिक विपद्ले मानसिक स्वास्थ्यको जोखिमलाई थप संवेदनशील बनाएको छ।

विशेषगरी रसुवा र नुवाकोटमा आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकमा विपद्पश्चात् मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या बढ्न सक्ने सम्भावना रहेको स्वास्थ्य अधिकारीहरूले औँल्याएका छन्।

विपद्पछि मानिसले घर, परिवार, सम्पत्ति, रोजगारी तथा सामाजिक आधार गुमाउनुपर्ने अवस्था आउन सक्छ। यस्तो परिस्थितिले डर, चिन्ता, तनाव, निद्रामा समस्या, असुरक्षा तथा अन्य मनोसामाजिक समस्या उत्पन्न गर्न सक्छ।

त्यसैले विपद् व्यवस्थापनलाई राहत, उद्धार र पुनर्निर्माणमा मात्र सीमित नगरी मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई पनि विपद् प्रतिकार्यको अभिन्न अंग बनाउन आवश्यक छ।

प्रभावित व्यक्ति तथा परिवारलाई आवश्यक मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य सेवा र सामाजिक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायहरू थप संवेदनशील र सक्रिय हुनुपर्ने देखिन्छ।

रोकथाम सम्भव छ

आत्महत्या रोकथामका लागि सबैभन्दा महत्वपूर्ण सन्देश हो—रोकथाम सम्भव छ।

जोखिममा रहेका व्यक्तिको समयमै पहिचान, मानसिक स्वास्थ्य समस्याको उपचार, आत्महत्याको जोखिमको मूल्याङ्कन तथा व्यवस्थापन, संकटमा रहेका व्यक्तिलाई तत्काल सहयोग, सुरक्षित सामाजिक वातावरणको निर्माण र लाञ्छना तथा भेदभावको न्यूनीकरणले महत्वपूर्ण भूमिका खेल्छ।

परिवारले पनि आफ्ना सदस्यको व्यवहारमा आएको महत्वपूर्ण परिवर्तनलाई बेवास्ता गर्नु हुँदैन। लामो समयसम्म निराश देखिनु, सामाजिक रूपमा अलग हुन खोज्नु, अत्यधिक चिन्ता वा तनावमा रहनुजस्ता परिवर्तन देखिएमा संवेदनशील रूपमा कुरा गर्ने र आवश्यक परे स्वास्थ्यकर्मीको सहयोग लिन प्रोत्साहित गर्नुपर्छ।

सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण

आत्महत्या रोकथाममा सञ्चारमाध्यमको जिम्मेवारी पनि महत्वपूर्ण हुन्छ। आत्महत्यासम्बन्धी समाचार प्रकाशित गर्दा सनसनीपूर्ण प्रस्तुति, अनावश्यक विवरण तथा घटनालाई महिमामण्डन गर्ने शैलीबाट बच्नुपर्ने हुन्छ।

यसको सट्टा रोकथाम, मानसिक स्वास्थ्य, सहयोग प्राप्त गर्ने उपाय, उपलब्ध सेवाहरू र सकारात्मक समाधानका सन्देशलाई प्राथमिकता दिन आवश्यक छ।

सञ्चारमाध्यमले आत्महत्यालाई केवल घटना वा अपराधको समाचारका रूपमा प्रस्तुत गर्नुको सट्टा यसको सामाजिक तथा जनस्वास्थ्य पक्षमा बहस सिर्जना गर्न सकेमा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्न सक्छ।

‘संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’

विश्व आत्महत्या रोकथाम दिवस २०८३ ले नेपाललाई एउटा महत्वपूर्ण सन्देश दिएको छ—आत्महत्या रोकथामका लागि मौनता तोड्नुपर्छ।

मानसिक स्वास्थ्यबारे कुरा गर्नु कमजोरी होइन। समस्यामा परेको व्यक्तिको कुरा सुन्नु, उसको भावनालाई सम्मान गर्नु र आवश्यक सेवामा जोड्नु समाजको साझा जिम्मेवारी हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। अनुज भट्टचनले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम, नागरिक समाज, समुदाय, परिवार तथा आम नागरिकलाई आत्महत्या रोकथाममा आफ्नो स्थानबाट योगदान गर्न आह्वान गर्नुभएको छ।

आत्महत्या रोकथाम स्वास्थ्य क्षेत्रको मात्र विषय होइन। यो परिवारको विषय हो, समुदायको विषय हो, शिक्षाको विषय हो, सामाजिक सुरक्षाको विषय हो र समग्र राज्यको जनस्वास्थ्य जिम्मेवारी हो।

त्यसैले यस वर्षको सन्देशलाई व्यवहारमा उतार्दै 'आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ र रोकथामलाई साझा जिम्मेवारीका रूपमा अघि बढाऔँ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मानसिक स्वास्थ्य