नेभिगेशन

मस्तिष्कका जटिल रोगमा ‘न्यूरोइन्टरभेन्सन’ को नयाँ बाटो खोल्दै डा. काजन रानाभाट

एन्जियोग्राफीदेखि ब्रेन एन्युरिज्म र स्ट्रोकको उपचारसम्म—रेडियोलोजीलाई आधुनिक उपचारसँग जोड्दै एक नेपाली चिकित्सक

नेपालमा न्यूरोइन्टरभेन्सनको अभ्यास विस्तार हुँदै जाँदा यस क्षेत्रमा सक्रिय चिकित्सकहरूमध्ये डा. काजन रानाभाट एक महत्वपूर्ण नामका रूपमा अगाडि आउनुभएको छ । डा. रानाभाटले सन् २०१६ सालदेखि शुरु गर्नुभएको मस्तिष्कलगायत अन्य अंगहरुको इन्डोभास्कुलर सर्जरीबाट एक हजार भन्दा बढी बिरामीको उपचार गरिसक्नुभएको छ । 

रेडियोलोजीदेखि न्यूरोइन्टरभेन्सनसम्म
सन् १९९८ सालमा एसएलसी बोर्डको पाँचौं स्थान हाँसिल गर्न सफल डा. रानाभाटले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सन् २००८ मा एमबीबीएस पूरा गर्नुभएको हो । त्यसपछि विभिन्न विभाग तथा ग्रामीण क्षेत्रका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा इन्टर्नसिप गर्दै चिकित्सकीय अनुभव हाँसिल गर्नुभयो । रेडियोलोजीमा थप विशेषज्ञता हाँसिल गर्ने क्रममा उहाँले फिलिपिन्सको इष्ट एभिन्यु मेडिकल सेन्टर, मनिालाबाट चारवर्षे एमडी रेडियोलोजी पूरा गर्नुभयो । 

मस्तिष्कका रक्तनलीमा हुने जटिल समस्या तथा स्ट्रोकजस्ता रोगको आधुनिक उपचारमा विशेष रुचि बढेपछि उहाँले थाइल्यान्डस्थित सिरिराज हस्पिटल, फ्याकल्टी अफ मेडिसिन, माहिडोल युनिभर्सिटी अन्तर्गत सिरिराज सेन्टर अफ इन्टरभेन्सनल रेडियोलोजीमा एकवर्षे इन्टरभेन्सनल न्युरोरेडियोलोजी फेलोसिप पूरा गर्नुभयो ।
 

सन् २०१९ मे देखि २०२० अप्रिलसम्मको उक्त प्रशिक्षणले उहाँलाई मस्तिष्क तथा रक्तनलीसम्बन्धी रोगमा अत्याधुनिक इन्टरभेन्सनल उपचार गर्ने थप विशेषज्ञता प्रदान ग¥यो ।

चिरफारबिना मस्तिष्कको उपचारतर्फ
न्यूरोइन्टरभेन्सन आधुनिक चिकित्सा प्रविधि शरीरमा ठूलो शल्यक्रिया नगरी रक्तनलीको माध्यमबाट मस्तिष्कसम्म पुगेर विभिन्न समस्या पहिचान तथा उपचार गर्ने यस प्रविधिमा मस्तिष्कको रक्तनलीमा हुने एन्युरिज्म, केही प्रकारका स्ट्रोक तथा अन्य रक्तनलीसम्बन्धी जटिलतामा यस्तो प्रविधिको महत्वपूर्ण भूमिका हुन्छ ।

रेडियोलोजीको इमेजिङ ज्ञानसँग इन्टरभेन्सनल प्रविधिलाई जोडेर उपचार गर्ने भएकाले यस क्षेत्रमा अत्यन्त सूक्ष्म शारीरिक संरचनाको ज्ञान, इमेजिङको गहिरो समझ र उच्चस्तरीय प्राविधिक सीप आवश्यक हुन्छ ।

डा. रानाभाटले यही क्षेत्रमा आफ्नो व्यावसायिक पहिचान निर्माण गर्नुभएको छ ।  उहाँ नेपाल स्ट्रोक एसोसिएसनको सदस्यसमेत हुनुहुन्छ । साथै जर्नल अफ नेपाल स्ट्रोक एसोसिएसनको सम्पादकीय बोर्ड सदस्यका रूपमा पनि संलग्न हुनुहुन्छ । 

अनुसन्धानमा पनि सक्रिय
डा. रानाभाटले न्युरोलोजी, न्यूरोइमेजिङ तथा मस्तिष्कसँग सम्बन्धित विभिन्न विषयमा दुई दर्जन भन्दा बढी अनुसन्धान तथा वैज्ञानिक लेख प्रकाशन गर्नुभएको छ । उहाँका अनुसन्धान तथा लेखहरू अनल्स अफ मेडिसिन एण्ड सर्जरी, जर्नल अफ नेपाल मेडिकल एसोसिएसन, नेपाल जर्नल अफ न्युरोसाइन्सेस, काठमाडौं युनिभर्सिटी मेडिकल जर्नल  तथा वल्र्ड न्युरोसर्जरी  लगायतका जर्नलमा प्रकाशित भएका छन् । 

एन्युरिज्मदेखि न्यूरोभास्कुलर रोगसम्म
डा. रानाभाटले रप्चर्ड इन्ट्राक्रेनियल एन्युरिजमको प्रचलन, ट्रान्सभर्स–सिग्मोइड ड्युरल आर्टेरियोभेनस फिस्टुलाको इन्डोभास्कुलर उपचार तथा अन्य न्यूरोभास्कुलर अवस्थासम्बन्धी अध्ययनमा समेत काम गर्नुभएको छ । मस्तिष्कका रक्तनलीमा हुने असामान्य फैलावट वा अन्य विकृतिले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले यस्ता रोगमा समयमै पहिचान र उपचार अत्यन्त महत्वपूर्ण हुन्छ । 

अध्यापन र चिकित्सकीय सेवामा निरन्तरता
डा. रानाभाट हाल किस्ट मेडिकल कलेजमा रेडियोलोजी तथा न्यूरोइन्टरभेन्सनसम्बन्धी चिकित्सकीय तथा शैक्षिक भूमिकामा हुनुहुन्छ । साथै बी एण्ड बी हस्पिटलमा कन्सल्टेन्ट रेडियोलोजिस्ट तथा न्यूरोइन्टरभेन्सनिस्टका रूपमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँले उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाईड साइन्सेस, नर्भिक इन्टरनेशनल हस्पिटल, ग्रान्डी इन्टरनेशनल हस्पिटल तथा धुलिखेल हस्पिटललगायतका संस्थामा रेडियोलोजी तथा न्यूरोइन्टरभेन्सनसम्बन्धी जिम्मेवारी सम्हाल्नुभएको छ । 
 

तालिम, सम्मेलन र ज्ञान आदानप्रदान
न्यूरोइन्टरभेन्सन र रेडियोलोजीमा निरन्तर अद्यावधिक भइरहनुपर्ने भएकाले डा. रानाभाटले थाइल्यान्डको सिरिराज हस्पिटलमा सिरिराज इन्डोभास्कुलर ट्रिटमेन्ट अफ एन्युरिजम (सेटा)  सम्बन्धी तालिम लिनुभएको छ । साथै एसियाली तथा अन्तर्राष्ट्रियस्तरका न्यूरोइमेजिङ, कार्डियाक इमेजिङ, अल्ट्रासाउन्ड, एमएसके अल्ट्रासाउन्ड, इमर्जेन्सी इमेजिङ तथा इन्टरभेन्सनल प्रक्रियासम्बन्धी कार्यक्रमहरूमा सहभागिता जनाउनुभएको छ । नेपालमै पनि अल्ट्रासाउन्ड शिक्षा, इमर्जेन्सी अल्ट्रासाउन्ड तथा इन्टरभेन्सनल प्रक्रियासम्बन्धी प्रशिक्षणमा प्रशिक्षकका रूपमा सहभागी हुनुभएको छ ।

विद्यार्थी जीवनदेखि उत्कृष्टताको यात्रा

डा. रानाभाटले चितवनबाट एसएलसी परीक्षा वोर्डमा पाँचौँ स्थान हासिल गर्नुभएको थियो । उहाँले टुवोर्ग एक्सलेन्स अवार्ड, स्मल हेभन विद्यापदक (गोल्ड मेडल),  तथा अमिर स्मृति स्वर्णपदक (गोल्ड मेडललगायतका सम्मान प्राप्त गर्नुभएको छ । त्यस्तै, रोटर्याक्ट क्षेत्रमा नेतृत्वदायी भूमिकाका लागि लेट गोपाल प्रसाद कायस्थ अवार्ड फर वेष्ट कोअर्डिनेटर अफ द इयरसमेत प्राप्त गर्नुभएको थियो । 

एसियाली न्यूरोइन्टरभेन्सन समुदायमा पनि सहभागिता
चिकित्सकीय सेवासँगै व्यावसायिक संस्थामा उहाँको सक्रियता पनि उल्लेखनीय छ। उहाँ एशियन–अस्ट्रलेसियन फेडेरेशन अफ इन्टरभेन्सनल एन्ड थेराप्युटिक न्युरोरोरेडियोलोजीको कार्यकारी सदस्यका रूपमा आबद्ध हुनुहुन्छ । नेपाल स्ट्रोक एसोसिएसनसँगको आबद्धता तथा जर्नल अफ नेपाल स्ट्रोक एसोसिएसनको सम्पादकीय बोर्डको जिम्मेवारीमा हुनुहुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य लेख