नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा मुद्दाका निवेदकलाई नै सदस्यका रूपमा सिफारिस गरिएको भन्दै डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले आपत्ति जनाएको छ। एसोसिएसनले उक्त सिफारिसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने भन्दै नियुक्ति तथा निर्णय प्रक्रियामा तत्काल पुनरावलोकन गर्न माग गरेको छ।
एसोसिएसनले परिषद्का अध्यक्ष सगुन पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै सर्वोच्च अदालतको फैसलाले डेन्टल हाइजेनिस्टहरूको ‘कोड अफ इथिक्स’ कानुनसम्मत ठहर गरिसकेको अवस्थामा समेत उनीहरूको स्थापित कार्यक्षेत्र र पेसागत अधिकार प्रभावित पार्ने गतिविधि भइरहेको आरोप लगाएको छ।
ध्यानाकर्षण पत्रमार्फत एसोसिएसनले स्वार्थको द्वन्द्व रोक्नुपर्ने मागसहित परिषद्सँग १० बुँदे माग अघि सारेको छ। मागमा डेन्टल समूहको छुट्टै निर्वाचन हुने गरी परिषद्को नियमावली संशोधन गर्नुपर्ने, कार्यकाल समाप्त भइसकेका सदस्यलाई जिम्मेवारीमा निरन्तरता दिन नहुने तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा १० (४) अक्षरशः कार्यान्वयन गर्नुपर्ने उल्लेख छ।
त्यसैगरी, स्वास्थ्य मन्त्रालय र परिषद्बीच विगतमा भएका सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने, परिषद्को परीक्षा प्रणाली पारदर्शी र निष्पक्ष बनाउनुपर्ने तथा दर्तावाल डेन्टल जनशक्तिको पेसागत हकहित, सम्मान र सुरक्षाको सुनिश्चितता गर्नुपर्ने माग पनि एसोसिएसनले राखेको छ।
एसोसिएसनले आफ्ना माग सम्बोधन गर्न ध्यानाकर्षण पत्र प्राप्त भएको मितिले ४८ घण्टाभित्र ठोस लिखित प्रतिबद्धता सार्वजनिक गर्न परिषद्लाई अल्टिमेटम दिएको छ। तोकिएको समयभित्र माग सम्बोधन नभए देशभरका सदस्यलाई सहभागी गराएर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।
आन्दोलनका क्रममा परिषद् अध्यक्षको कार्यकक्षमा धर्ना दिने, नियमित कामकाज अवरुद्ध गर्ने र आवश्यक परे तालाबन्दीसमेत गर्ने एसोसिएसनले जनाएको छ। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी पनि ध्यानाकर्षण पत्रमा दिइएको छ।
डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्न सरकारसँग नेपाल चिकित्सक संघको माग
बिहीबार, कात्तिक १९, २०८३
नेपालका ९९ लाख बालबालिका वायु प्रदूषणको जोखिममा: युनिसेफ
बिहीबार, कात्तिक १९, २०८३
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय समिति गठन
बुधबार, कात्तिक १८, २०८३
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बुधबार, कात्तिक १८, २०८३
