नेभिगेशन

जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको सुविधासम्पन्न भवन हस्तान्तरण

तिहारपछि ५० शय्याको सेवा सञ्चालन गर्ने तयारी, विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध गराइने

नेपाल हेल्थ न्युज, खोटाङ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

नेपाल सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लागतमा निर्माण गरिएको चारतले अस्पताल भवनको प्रमाणपत्र बिहीबार आयोजना कार्यालय ओखलढुङ्गाका प्रमुख इन्जिनियर सुरज पौडेलले जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा. पुस्कल राईलाई हस्तान्तरण गरेका हुन् ।

२०७८ असार २४ गते सम्झौता गरी ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल भवन निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन । सुरुमा श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले निर्माणको जिम्मा लिएको भए पनि काममा ढिलाइ भएपछि निर्माण प्रक्रिया प्रभावित बनेको थियो ।

निर्माण कम्पनीले पटकपटकको ताकेतासमेत बेवास्ता गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको थियो । त्यसपछि जिल्लाकै निर्माण व्यवसायी सुनिल राईले भवन निर्माणको जिम्मेवारी लिएर लामो समयदेखि अलपत्र अवस्थामा रहेको आयोजना सम्पन्न गरेका हुन् । तुवाचुङ कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका राईले निर्माण कार्य पूरा गरी आयोजना कार्यालयलाई भवन हस्तान्तरण गरेका थिए ।

भवन औपचारिक रूपमा हस्तान्तरण भएसँगै अस्पतालले तिहारपछि ५० शय्याको सेवा सञ्चालन गर्ने तयारी गरेको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईका अनुसार आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री जडानको काम बाँकी रहेकाले ती काम पूरा भएपछि सेवा सुरु गरिनेछ ।

‘सुविधासम्पन्न अस्पताल भवनका लागि आवश्यक सामग्री जडान गर्न बाँकी छ । तिहारपछि सबै सामग्री जडान गरेर ५० शय्याको सेवा शुभारम्भ गर्ने योजनामा छौँ,’ उनले भने, ‘सेवा सञ्चालनपछि उपचारका लागि कोही पनि बाहिर जानुपर्दैन । विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध हुन्छ । विगतमा जस्तो सामान्य बिरामीको उपचारकै लागि जिल्लावासीले हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था अन्त्य हुनेछ ।’

चारतले आरसिसी ढलानयुक्त भवनमा लिफ्टको सुविधासमेत रहेको छ । भवनको पहिलो तलामा ओपीडी, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी तथा सुरक्षा कक्ष निर्माण गरिएको छ । दोस्रो तलामा प्रसूति सेवा र प्रसूतिसम्बन्धी शल्यक्रियाका लागि आवश्यक संरचना तयार गरिएको छ ।

त्यसैगरी, तेस्रो तलामा सघन उपचार कक्ष (आईसीयू), आइसोलेसन कक्ष तथा क्याबिन र चौथो तलामा प्रशासन, लेखा तथा सेमिनार हललगायतका संरचना निर्माण गरिएका छन् ।

भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षप्रति आयोजना कार्यालयका प्रमुख इन्जिनियर पौडेलले धन्यवाद व्यक्त गरेका छन् । आफ्नै जिल्लाको अस्पताल भवन निर्माणको जिम्मेवारी पाएर काम सम्पन्न गर्न पाउँदा खुसी लागेको निर्माण व्यवसायी सुनिल राईले बताएका छन् ।

विसं २०४९ वैशाख १ गते १५ शय्याको सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको जिल्ला अस्पताल खोटाङ ३३ वर्षपछि ५० शय्यामा स्तरोन्नति भएको हो । २०८२ असार २२ गते कोशी प्रदेश सरकारका तत्कालीन स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले ५० शय्याको सेवा शुभारम्भ गरेका थिए ।

तर, अस्पतालको भवन निर्माण सम्पन्न नहुँदै सेवा शुभारम्भ गरिएपछि त्यसबेला सामाजिक सञ्जालमा असन्तुष्टिसमेत व्यक्त भएको थियो । आवश्यक भौतिक पूर्वाधार अभावका कारण स्तरोन्नति गरिएको सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको थिएन ।

अब सुविधासम्पन्न भवन निर्माण सम्पन्न भई औपचारिक रूपमा हस्तान्तरण भएसँगै जिल्लावासीले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा आफ्नै जिल्लामा पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट