नेपाल हेल्थ न्युज, काठमाडौं। अमेरिकाको भर्जिनियामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या तथा बेपत्ता प्रकरणमा उनका श्रीमान् नरेश भट्टले अदालतमा चकित पार्ने बयान दिएका छन्। उनले ममताको शव फेला पारेपछि त्यसलाई टुक्रा–टुक्रा पारेको स्वीकार गरेका हुन्।
हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बिहीबार अदालतमा बयान दिँदै नरेशले सन् २०२४ जुलाई ३० मा बिहान शयनकक्षको भुइँमा ममतालाई मृत अवस्थामा फेला पारेको दाबी गरे। त्यसपछि शव व्यवस्थापन गर्ने क्रममा आफूले शरीरका विभिन्न भाग छुट्याएको उनले बताएका छन्।
अदालतमा दिएको बयानअनुसार ममताको मुख र भुइँमा वान्ता देखिएको थियो। त्यसमा रगत, खानाका अवशेष, क्याप्सुल तथा विषादीका रूपमा प्रयोग हुने सेलफोसका अंश रहेको नरेशको दाबी छ।
उनले सुरुमा ममताको अवस्था जाँच गरेको, बोलाएर प्रतिक्रिया लिन खोजेको र सीपीआरलगायतका प्राथमिक जीवनरक्षक उपाय अपनाएको बताएका छन्। तर त्यसबाट कुनै परिणाम नआएपछि शव टुक्र्याउने निर्णयमा पुगेको उनको भनाइ छ। उनले सुरुमा खुट्टाको भाग छुट्याउने प्रयास गरेको पनि अदालतमा बताएका छन्।
नरेशका अनुसार शवलाई बाथरुममा लगेपछि शारीरिक रूपमा कमजोर महसुस भएकाले पहिलो दिन थप काम गर्न सकेनन्। त्यसपछि बेबी चेन्जिङ स्टेसन प्रयोग गरी शयनकक्षको ढोका छेकेर उनी छोरीको हेरचाहमा लागेको बयान दिएका छन्। घटनापछि आफू रातभर सुत्न नसकेको र डरका कारण पूजा कोठासमेत जान नसकेको उनले अदालतलाई बताएका थिए।
यस प्रकरणमा नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा शव क्षतविक्षत बनाउनेलगायतका गम्भीर अभियोग लगाइएको छ। उनी सन् २०२४ अगस्टमा पक्राउ परेयता प्रहरी हिरासतमै छन्।
यसरी खुलेको थियो घटना
युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत ममता नियमित काममा नपुगेपछि उनको खोजी सुरु भएको थियो। सुरुमा नरेशले ममता हराएको कुरा स्वीकार नगरी उनलाई अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए।
ममताका परिवार र नजिकका साथीहरूले भने उनी सानी छोरीलाई छाडेर कतै जान नसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। नरेशले अगस्ट ५ मा मात्रै प्रहरीमा ममता बेपत्ता भएको उजुरी दिएका थिए। उजुरीका क्रममा उनले ममताले आफूलाई छाड्ने चेतावनी दिएको र सम्बन्धविच्छेदको कुरा उठाएको दाबी गरेका थिए।
अनुसन्धानका क्रममा प्रहरीले दम्पतीको मुख्य शयनकक्ष र बाथरुममा रगतका दाग फेला पारेको थियो। साथै, कपालका टुक्रा अड्किएको अवस्थामा विद्युतीय आरा पनि बरामद गरिएको थियो। यी प्रमाणहरूका आधारमा प्रहरीले सन् २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो। ममताको शव भने हालसम्म फेला परेको छैन। उनको अवस्था र घटनाको सम्पूर्ण वास्तविकता पत्ता लगाउने प्रयास अझै जारी छ। एजेन्सी
लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
शुक्रबार, कात्तिक २०, २०८३
जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको सुविधासम्पन्न भवन हस्तान्तरण
शुक्रबार, कात्तिक २०, २०८३
डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्न सरकारसँग नेपाल चिकित्सक संघको माग
बिहीबार, कात्तिक १९, २०८३
नेपालका ९९ लाख बालबालिका वायु प्रदूषणको जोखिममा: युनिसेफ
बिहीबार, कात्तिक १९, २०८३
