नेपाल हेल्थ न्युज । क्यान्सरको उपचारका क्रममा प्रजनन क्षमता गुम्ने जोखिम भएका महिलाका लागि भविष्यमा आमा बन्ने सम्भावना सुरक्षित राख्नु ठूलो चुनौती हो। तर आधुनिक चिकित्सा प्रविधिले यस्तो चुनौतीलाई पनि सम्भव बनाउँदै गएको छ। बेलायतकी क्यासान्ड्रा बेकन यसको एउटा प्रेरणादायी उदाहरण बनेकी छन्।
१७ वर्षको उमेरमा हजकिन लिम्फोमा (एक प्रकारको रक्त क्यान्सर) भएको पत्ता लागेकी बेकनले भविष्यमा आमा बन्न सक्ने सम्भावना जोगाउन आफ्नो डिम्बाशयका तन्तु निकालेर फ्रिज गरी सुरक्षित राखेकी थिइन्। त्यसको २३ वर्षपछि ती तन्तु पुनः आफ्नो शरीरमा प्रत्यारोपण गराइन्। अन्ततः आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) प्रविधिको सहायताले उनले ४४ वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी छन्।
बीबीसी वर्ल्ड सर्भिसको कार्यक्रम ‘न्युजआवर’सँग कुरा गर्दै बेकनले आफ्नो अनुभव सार्वजनिक गरेकी छन्। लामो समयसम्म फ्रिज गरेर सुरक्षित राखिएका डिम्बाशयका तन्तु पुनः प्रत्यारोपण गरेपछि जन्मिएको उनको छोरा ल्यान्डनलाई यस प्रक्रियाबाट जन्मिएको संसारकै पहिलो शिशुका रूपमा प्रस्तुत गरिएको छ।
बेकनलाई १७ वर्षको उमेरमा हजकिन लिम्फोमा भएको पत्ता लागेको थियो। सुरुमा केमोथेरापी दिएपछि क्यान्सर नियन्त्रणमा आएको थियो। तर एक वर्षपछि रोग पुनः बल्झियो। यसपटक अवस्था गम्भीर भएकाले चिकित्सकहरूले पहिलेभन्दा शक्तिशाली केमोथेरापी र बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बताए।
कडा क्यान्सर उपचारले डिम्बाशयमा क्षति पुर्याउन सक्ने र भविष्यमा प्राकृतिक रूपमा सन्तान जन्माउने क्षमता गुम्न सक्ने जोखिम थियो। त्यसैले उपचार सुरु गर्नुअघि नै प्रजनन क्षमता सुरक्षित राख्ने उपाय खोज्नुपर्ने अवस्था आयो।
सामान्यतया भविष्यमा सन्तान जन्माउन कठिनाइ हुनसक्ने महिलाका लागि डिम्ब निकालेर फ्रिज गर्ने प्रविधि प्रयोग गरिन्छ। तर यसका लागि केही हप्तासम्म हर्मोनको इन्जेक्सन दिएर डिम्ब परिपक्व बनाउनुपर्ने हुन्छ। बेकनसँग भने क्यान्सरको उपचार सुरु गर्नुअघि त्यति समय उपलब्ध थिएन।
त्यसैले उनले डिम्बाशयका तन्तु निकालेर सुरक्षित राख्ने विकल्प रोजिन्। त्यतिबेला यो प्रविधि प्रयोगात्मक अवस्थामै थियो।
उनको उपचारका क्रममा भेट भएकी शल्यचिकित्सक डा. सारा म्याथ्युजले डिम्बाशयबाट डिम्ब उत्पादन गर्ने तन्तुका चारवटा साना नमूना निकालिन्। ती तन्तु भविष्यमा पुनः प्रत्यारोपण गर्दा काम लाग्छन् कि लाग्दैनन् भन्ने निश्चित थिएन। तर बेकनले भविष्यमा आमा बन्न सक्ने आशा भने जीवित राखिन्।
क्यान्सर निको भयो, तर प्रजनन क्षमता गुम्यो
बेकनको ज्यान बचाउन बोनम्यारो प्रत्यारोपण गरियो र कडा केमोथेरापी दिइयो। उपचार सफल भयो र उनी क्यान्सरमुक्त भइन्। तर चिकित्सकहरूले आशङ्का गरेजस्तै उपचारले उनको डिम्बाशयमा गम्भीर असर पुर्यायो। ३३ वर्षको उमेरमै उनको महिनावारी बन्द भयो। अर्थात् समयअगावै रजोनिवृत्ति (प्रिम्याच्योर मेनोपज) भयो। प्राकृतिक रूपमा गर्भधारण गर्ने सम्भावना निकै कम भएपछि उनले पहिले सुरक्षित राखिएका डिम्बाशयका तन्तु पुनः प्रत्यारोपण गराउने प्रयास सुरु गरिन्।
यसका लागि उनले करिब एक दशक सङ्घर्ष गर्नुपर्यो।
डिम्बाशयबाट तन्तु निकालिएको समयमा बेलायतमा यस प्रक्रियासम्बन्धी कानुनी व्यवस्था स्पष्ट थिएन। त्यसैले लामो समयपछि ती तन्तु पुनः प्रत्यारोपण गर्न आवश्यक प्रक्रिया पूरा गर्नु सहज थिएन। डा. म्याथ्युजले उनलाई निरन्तर सहयोग गरिन्। अन्ततः इजरायलको रमत गानस्थित शेबा मेडिकल सेन्टरमा तन्तु प्रत्यारोपण गराउन सकिने व्यवस्था मिल्यो। तर उनको यो प्रयासमा पनि अवरोध आयो। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध र त्यसपछि गाजामा इजरायलले गरेको सैन्य कारबाहीका कारण प्रत्यारोपण प्रक्रिया पछाडि धकेलियो। बेकनका लागि यो अर्को ठूलो निराशा थियो। उनी भन्छिन्, ‘मलाई एउटै आशा पनि तुहिन लागे झैँ भयो।’
अन्ततः सन् २०२४ मेमा युद्धविराम भएपछि उनी इजरायल पुग्न र सुरक्षित राखिएका तन्तु पुनः प्रत्यारोपण गराउन सफल भइन्। रोचक कुरा, उनी उपचारपछि बेलायत फर्किन विमान चढेको केही घण्टामै युद्धविराम समाप्त भएको थियो।
कसरी गरिन्छ डिम्बाशयका तन्तुको प्रत्यारोपण ?
डिम्बाशयका तन्तु सुरक्षित राख्ने प्रक्रियालाई ‘ओभेरियन टिस्यु क्रायोप्रिजर्भेसन’ भनिन्छ। यो विशेषगरी क्यान्सरको उपचारका कारण भविष्यमा प्रजनन क्षमता गुम्ने जोखिम भएका महिला तथा किशोरीका लागि उपयोगी प्रजनन क्षमता संरक्षण विधि हो। यस प्रक्रियामा डिम्बाशयको बाहिरी भागबाट डिम्ब उत्पादन गर्ने सूक्ष्म संरचना अर्थात् फोलिकल्स रहेको तन्तुको केही भाग निकालिन्छ। त्यसपछि विशेष प्रविधिबाट अत्यन्त कम तापक्रममा फ्रिज गरेर सुरक्षित राखिन्छ।
भविष्यमा सन्तान जन्माउने योजना बनाएको समयमा ती तन्तुलाई पगालेर पुनः डिम्बाशय वा शरीरको उपयुक्त स्थानमा प्रत्यारोपण गरिन्छ। प्रत्यारोपित तन्तुमा नयाँ रक्तनली विकसित भई रक्तसञ्चार पुनः स्थापित हुन सकेमा त्यसले काम गर्न थाल्छ। यसबाट डिम्ब उत्पादन र हर्मोनको कार्यसमेत पुनः सुरु हुनसक्छ।
यो विधिको महत्त्वपूर्ण विशेषता भनेको डिम्ब परिपक्व बनाउन हर्मोनको इन्जेक्सन दिएर केही हप्ता कुर्नुपर्ने आवश्यकता नहुनु हो। त्यसैले तत्काल क्यान्सर उपचार सुरु गर्नुपर्ने बिरामीका लागि यो विकल्प उपयोगी हुनसक्छ। यौवनावस्था सुरु नभएका बालिकाको प्रजनन क्षमता संरक्षणमा समेत यसको विशेष महत्त्व छ। अध्ययनहरूले डिम्बाशयका तन्तु पुनः प्रत्यारोपण गरेपछि धेरै महिलामा महिनावारी र डिम्ब उत्पादन गर्ने प्रक्रिया पुनः सुरु हुन सक्ने देखाएका छन्। सन् २०२४ मा प्रकाशित एक अध्ययनअनुसार यस प्रक्रियापछि ९४ प्रतिशतसम्म महिलामा महिनावारी तथा डिम्बाशयको कार्य पुनः सुरु भएको पाइएको थियो। त्यस्तै, सन् २०२२ मा प्रकाशित अर्को अध्ययनले प्रत्यारोपण गरिएका घटनामध्ये करिब २८ प्रतिशतमा जीवित शिशुको जन्म भएको देखाएको थियो। यद्यपि, यी सफलता दर बिरामीको उमेर, तन्तुको अवस्था, क्यान्सरको प्रकार, उपचारको प्रकृति र प्रत्यारोपणको समयअनुसार फरक हुन सक्छन्।
विश्वभर २०० भन्दा बढी शिशुको जन्म
डिम्बाशयका तन्तु फ्रिज गरेर सुरक्षित राख्ने र पछि पुनः प्रत्यारोपण गर्ने प्रविधि पछिल्लो समय प्रजनन चिकित्सा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा विकसित भएको छ। सन् २०१६ मा दुबईकी २४ वर्षीया मोआजा अल मतरुशीले यौवनावस्था सुरु हुनुअघि नै सुरक्षित राखिएका डिम्बाशयका तन्तु पुनः प्रत्यारोपण गराएर शिशुलाई जन्म दिएकी थिइन्। उनलाई यस प्रविधिबाट सन्तान जन्माउने पहिलो महिलाका रूपमा चिनिन्छ। अहिलेसम्म विश्वभर डिम्बाशयका तन्तु पुनः प्रत्यारोपण गरेपछि २०० भन्दा बढी शिशुको जन्म भइसकेको अनुमान गरिएको छ। यसले क्यान्सर उपचारका कारण प्रजनन क्षमता गुम्ने जोखिम भएका महिलाका लागि नयाँ सम्भावना खोलेको छ। बेकनको मामिलामा भने विशेष उपलब्धि के हो भने उनका तन्तु २३ वर्षसम्म सुरक्षित राखिएपछि पुनः प्रत्यारोपण गरिएको थियो। यसले लामो समयसम्म प्रजनन क्षमता संरक्षण गर्ने प्रविधिको सम्भावनालाई थप उजागर गरेको छ।
तेस्रो प्रयासमा सफल भयो आईभीएफ
सन् २०२४ मा डिम्बाशयका तन्तु प्रत्यारोपण गराएको केही महिनापछि नै बेकनको महिनावारी पुनः सुरु भयो। यसले उनको डिम्बाशयले फेरि काम गर्न थालेको सङ्केत दिएको थियो। त्यसपछि उनले प्राकृतिक रूपमा गर्भधारण गर्ने प्रयास गरिन्। तर सफल हुन सकिनन्। चिकित्सकहरूले उनलाई र उनका पार्टनरलाई आईभीएफ प्रविधि अपनाउन सुझाव दिए। आईभीएफ अर्थात् इन भिट्रो फर्टिलाइजेसनमा महिलाको डिम्ब र पुरुषको शुक्रकीटलाई शरीरबाहिर प्रयोगशालामा निषेचन गराई बनेको भ्रूणलाई पाठेघरमा प्रत्यारोपण गरिन्छ।बेकनले तीनपटक आईभीएफको प्रयास गरिन्। तेस्रो प्रयासमा सफल भइन्। सन् २०२५ को क्रिसमसका दिन उनले आफू गर्भवती भएको परीक्षणबाट पुष्टि गरिन्। उनी भन्छिन्, ‘१९ वर्षको उमेरमा मेरो शरीरमा आमा बन्ने जुन क्षमता थियो, त्यसैले मलाई ४३ वर्षको उमेरमा नयाँ जीवन दियो।’
अन्ततः उनले गत सेप्टेम्बरमा छोरा ल्यान्डनलाई जन्म दिइन्। उनी पछिल्ला २५ वर्षदेखि क्यान्सरमुक्त छिन्।
आफ्नो अनुभव सार्वजनिक गरेपछि बेकनले विभिन्न देशका महिलाबाट धेरै सन्देश प्राप्त गरेकी छन्। क्यान्सरको उपचार गर्नुपर्ने अवस्थामा भविष्यमा सन्तान जन्माउन सकिन्छ कि सकिँदैन भन्ने चिन्तामा रहेका महिलाका लागि उनको अनुभव आशाको विषय बनेको छ।
क्यान्सर उपचारअघि प्रजनन क्षमताबारे परामर्श आवश्यक
बेकनको उपचारमा संलग्न डा। म्याथ्युजका अनुसार पछिल्लो समय क्यान्सर भएका बालबालिका तथा किशोरकिशोरीको उपचार सुरु गर्नुअघि भविष्यमा प्रजनन क्षमता सुरक्षित राख्ने विकल्पबारे छलफल गर्ने अभ्यास बढ्दै गएको छ। क्यान्सर उपचारमा प्रयोग हुने केही केमोथेरापी औषधि, रेडियोथेरापी तथा बोनम्यारो प्रत्यारोपणले डिम्बाशयको कार्यमा असर पुर्याउन सक्छन्। यसबाट महिनावारी अनियमित हुने, समयअगावै रजोनिवृत्ति हुने तथा भविष्यमा गर्भधारण गर्न कठिनाइ हुने जोखिम रहन्छ।
तर क्यान्सर उपचारपछि निको हुने सम्भावना बढ्दै जाँदा बिरामीले भविष्यमा सामान्य जीवन बिताउन सक्ने अवस्थालाई पनि उपचारको महत्त्वपूर्ण पक्षका रूपमा लिन थालिएको छ।
डा. म्याथ्युज भन्छिन्, ‘हामी यी बालबालिका हुर्किऊन् र सामान्य जीवन बिताऊन् भन्ने चाहन्छौँ। सन्तान जन्माउन सक्ने सम्भावना पनि सामान्य जीवनको एउटा महत्त्वपूर्ण पाटो हो।’
क्यान्सरको उपचार सुरु गर्नुअघि बिरामीको उमेर, क्यान्सरको प्रकार, उपचारको योजना र उपलब्ध समयका आधारमा डिम्ब, भ्रूण वा डिम्बाशयका तन्तु सुरक्षित राख्ने विकल्पबारे चिकित्सकसँग परामर्श गर्न सकिन्छ। कुन विधि उपयुक्त हुन्छ भन्ने कुरा व्यक्तिगत स्वास्थ्य अवस्था र उपचारको आवश्यकतामा निर्भर गर्छ।
बेकनले किशोरावस्थामै भविष्यमा आमा बन्ने सम्भावना जोगाउन गरेको निर्णयले अहिले सार्थकता पाएको छ। उनी आफ्नो विगत सम्झँदै आफूले त्यति सानो उमेरमा देखाएको दृढ सङ्कल्पप्रति आश्चर्य व्यक्त गर्छिन्।
‘म अहिले पनि आफूलाई १८ वर्षको उमेरमा राखेर सोच्ने प्रयास गर्छु। मैले त्यतिबेला त्यतिबिघ्न प्रयास कसरी गरिरहेँ हुँला ? आफ्नो निर्णयमा यति दृढ कसरी रहन सकेँ हुँला ?’ उनी भन्छिन्, ‘मेरो विचारमा यो त्यस्ता कुराहरूमध्ये एउटा हो, जसका लागि मैले विगतलाई फर्केर हेर्दै स्वयंलाई धन्यवाद दिनुपर्छ।’
४३ परिवार र मोरङ सहकारी अस्पतालको करोडौँ लगानी जोखिममा
शुक्रबार, कात्तिक २०, २०८३



