नेपाल हेल्थ न्युज, ललितपुर । स्वास्थ्य सेवा केवल उपचारमा सीमित हुनुहुँदैन, बिरामीको आर्थिक अवस्था र आवश्यकतालाई पनि उत्तिकै महत्त्व दिनुपर्छ। विशेषगरी निःसन्तान दम्पतीका लागि सन्तान प्राप्तिको उपचार आर्थिक रूपमा महँगो र मानसिक रूपमा संवेदनशील हुने गर्छ। यस्तो अवस्थामा गुणस्तरीय उपचारलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित स्त्री तथा प्रजनन स्वास्थ्य विशेषज्ञ डा. नूतन शर्माले नयाँ स्वास्थ्य संस्था सञ्चालनमा ल्याउनुभएको छ ।
ललितपुरको जावलाखेलस्थित स्टिल टावरको भुइँतलामा करिब १३ हजार वर्गफिट क्षेत्रफलमा स्थापना भएको ‘नाभ्या स्पेशियालिटी सेन्टर’ उहाँको आफ्नै पहलमा अघि बढाइएको स्वास्थ्य संस्था हो। हाल सेन्टरले ओपीडी सेवा सुरु गरिसकेको छ। आगामी दिनमा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेवालाई मुख्य प्राथमिकतामा राख्दै विभिन्न विशेषज्ञताका स्वास्थ्य सेवा विस्तार गर्ने योजना छ। उहाँले लक्ष्मीपूजाको दिन औपचारिक सेवाको उद्घाटन गर्नुभएको छ ।
करिब १८ देखि २० वर्षको व्यावसायिक अनुभव हासिल गरेकी डा. शर्माले यसअघि नर्भिक, अल्का, बीएन्डबी लगायतका विभिन्न अस्पतालमा काम गर्नुभएको छ। विभिन्न संस्थामा काम गर्ने क्रममा उहाँले स्वास्थ्य सेवाको गुणस्तर कायम राख्न चिकित्सकको दक्षतासँगै संस्थागत संरचना र निर्णय गर्ने स्वतन्त्रता पनि महत्त्वपूर्ण हुने अनुभव गर्नुभयो ।
त्यही अनुभवले उहाँलाई आफ्नै स्वास्थ्य संस्था स्थापना गर्ने सोचसम्म पुर्याएको हो।

डा. शर्माका अनुसार विभिन्न अस्पतालमा काम गर्दा बिरामीलाई सेवा दिन सक्ने क्षमता भए पनि कतिपय अवस्थामा संस्थागत सीमाका कारण आफूले चाहेजस्तो निर्णय गर्न सहज हुँदैन। विशेषगरी आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारमा सहुलियत दिन चाहँदा चिकित्सकसँग सबै निर्णय गर्ने अधिकार नहुन सक्छ।
त्यसैले आफ्नै संस्थाबाट चिकित्सकीय निर्णय र सेवा प्रवाहमा बढी स्वतन्त्रता हासिल गर्दै आर्थिक अवस्था कमजोर भएका बिरामीलाई पनि गुणस्तरीय उपचार उपलब्ध गराउने उहाँको उद्देश्य छ।
‘मैले आफ्नो सेन्टरबाट आफ्नो क्षमता र निर्णयअनुसार आर्थिक रूपमा कमजोर बिरामीलाई पनि उपचार दिन सक्छु। दस जना शुल्क तिर्न सक्ने बिरामीको उपचार गर्दा एक जना आर्थिक रूपमा कमजोर बिरामीलाई निःशुल्क सेवा दिन मलाई कुनै समस्या हुँदैन,’ डा. शर्मा भन्नुहुन्छ।
उहाँले आफ्नो संस्थाबाट कम्तीमा १० प्रतिशत बिरामीलाई आर्थिक अवस्थाका आधारमा निःशुल्क उपचार उपलब्ध गराउने सोच बनाउनुभएको छ। यसलाई उहाँ आफ्नो चिकित्सकीय अभ्यासको सामाजिक उत्तरदायित्वका रूपमा लिनुहुन्छ।
आईभीएफ मुख्य प्राथमिकतामा
नाभ्या स्पेशियालिटी सेन्टरको मुख्य विशेषज्ञ सेवा आईभीएफ रहनेछ। सन्तान प्राप्तिका लागि विभिन्न उपचार विधि अपनाउनुपर्ने निःसन्तान दम्पतीलाई एउटै संस्थाबाट आवश्यक परामर्श, परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
आईभीएफसँगै सेन्टरमा उच्च जोखिमयुक्त गर्भावस्थाको हेरचाह (हाई रिस्क प्रेग्नेन्सी केयर) र ल्याप्रोस्कोपिक सर्जरीलाई पनि प्राथमिकतामा राखिएको छ। त्यसबाहेक अन्य विशेषज्ञ चिकित्सकको सेवासमेत विस्तार गर्ने योजना डा. शर्माको छ।

उहाँका अनुसार सेन्टरलाई प्रजनन स्वास्थ्यमा मात्र सीमित नराखी बहुविशेषज्ञ सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाका रूपमा विकास गरिनेछ। यसअन्तर्गत छाला रोग (डर्माटोलोजी), आँखा रोग (अप्थाल्मोलोजी) लगायतका सेवा पनि समावेश गरिनेछन्।
‘हाम्रो मुख्य सेवा आईभीएफ हो। त्यसका अतिरिक्त हाई रिस्क प्रेग्नेन्सी केयर, ल्याप्रोस्कोपिक सर्जरी र अन्य विशेषज्ञ सेवासमेत उपलब्ध गराउने योजना छ,’ उहाँ बताउनुहुन्छ।
अस्पतालमा निर्भर नभई आफ्नै निर्णयमा सेवा दिने चाहना
डा. शर्माले आफ्नै स्वास्थ्य संस्था स्थापना गर्नुको प्रमुख कारण चिकित्सकीय अभ्यासमा स्वतन्त्रता र बिरामीलाई आवश्यकताअनुसार सेवा दिन पाउने वातावरण निर्माण गर्नु रहेको बताउनुहुन्छ।
विभिन्न अस्पतालमा काम गर्दा चिकित्सकले बिरामीको उपचारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे पनि आर्थिक सहुलियत, सेवा शुल्क तथा संस्थागत व्यवस्थापनका कतिपय निर्णयमा स्वतन्त्रता नहुने उहाँको अनुभव छ।
आर्थिक अवस्था कमजोर भएका बिरामीलाई उपचारमा सहयोग गर्न चाहे पनि अस्पतालको व्यवस्थापन र संस्थागत नीतिका कारण कतिपय अवस्थामा चाहेजस्तो सहयोग गर्न नसकिने उहाँ बताउनुहुन्छ । तर आफ्नै संस्थामा भने सेवा शुल्क निर्धारणदेखि आर्थिक रूपमा कमजोर बिरामीलाई सहुलियत दिनेसम्मका निर्णय आफैँले गर्न सक्ने उहाँको भनाइ छ।
‘यहाँ मेरो आफ्नै सेन्टर हो। मैले दस जना शुल्क तिर्न सक्ने बिरामीको उपचार गर्दा एक जना आर्थिक रूपमा कमजोर बिरामीलाई निःशुल्क सेवा दिन चाहेँ भने त्यसमा कुनै समस्या हुँदैन। यो मेरो आफ्नै निर्णय हुनेछ,’ उहाँ भन्नुहुन्छ ।
उहाँले कम्तीमा १० प्रतिशत बिरामीलाई आर्थिक अवस्थाका आधारमा निःशुल्क सेवा दिने लक्ष्य राख्नुभएको छ। यसले उपचार खर्चकै कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थालाई केही हदसम्म कम गर्न सहयोग पुग्ने उहाँको अपेक्षा छ।
दुई दशकको अनुभवलाई आफ्नै संस्थामार्फत उपयोग गर्ने योजना
डा. शर्माले करिब १८ देखि २० वर्षदेखि चिकित्सा क्षेत्रमा अभ्यास गर्दै आउनुभएको छ। यस अवधिमा उहाँले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने अवसर पाउनुभएको छ। लामो समयको यही अनुभवलाई अब आफ्नै संस्थामार्फत व्यवस्थित र प्रभावकारी रूपमा उपयोग गर्ने उहाँको योजना छ।
विशेषगरी निःसन्तान दम्पतीको उपचारमा चिकित्सकीय दक्षतासँगै निरन्तर परामर्श, बिरामीको अवस्थाअनुसार उपचार योजना र आर्थिक पहुँच पनि महत्त्वपूर्ण हुने उहाँ ठान्नुहुन्छ ।
निःसन्तान उपचार एउटा लामो प्रक्रिया हुनसक्ने भएकाले बिरामीलाई आवश्यकताअनुसार विभिन्न विशेषज्ञको सेवा एउटै संस्थाबाट उपलब्ध गराउने सोच रहेको उहाँको भनाइ छ।
उहाँको लक्ष्य स्पष्ट छ—नेपालमै गुणस्तरीय आईभीएफ, ल्याप्रोस्कोपिक सर्जरी तथा बहुविशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने र आर्थिक अवस्थाका कारण कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने वातावरण निर्माण गर्ने।
२३ वर्षसम्म फ्रिज गरेर राखिएको डिम्बाशयको तन्तु प्रत्यारोपणपछि जन्मियो शिशु
मंगलबार, कात्तिक २४, २०८३
४३ परिवार र मोरङ सहकारी अस्पतालको करोडौँ लगानी जोखिममा
शुक्रबार, कात्तिक २०, २०८३


