नेभिगेशन

क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्न नेपाल प्रतिबद्धः मन्त्री मेहता

नेपाल हेल्थ न्युज, कोलम्बो । श्रीलङ्काको कोलम्बोमा आयोजित प्रथम बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले क्षेत्रीय स्वास्थ्य सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई उत्थानशील बनाउनुका साथै सीमापार रोग निगरानी, एक स्वास्थ्य (वन हेल्थ), एन्टिमाइक्रोबियल प्रतिरोध तथा जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्न सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले डिजिटल स्वास्थ्य प्रविधिको विकास, जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली र गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिनुभयो।

बैठकका क्रममा मन्त्री मेहताले बिमस्टेक सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुभएको थियो। भेटवार्तामा द्विपक्षीय तथा क्षेत्रीय स्वास्थ्य साझेदारी विस्तार, प्राविधिक विशेषज्ञताको आदानप्रदान र साझा जनस्वास्थ्य चुनौतीको समाधानका लागि सहकार्य बढाउने विषयमा छलफल भएको थियो।

नेपालले सामूहिक प्रयास, पारस्परिक विश्वास र साझा उत्तरदायित्वलाई क्षेत्रीय स्वास्थ्य सहकार्यको आधार बनाउनुपर्ने धारणा राखेको छ। स्वस्थ, सुरक्षित र उत्थानशील क्षेत्र निर्माणका लागि बिमस्टेक सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै क्षेत्रीय प्रतिबद्धतालाई व्यवहारमा उतार्न नेपाल तयार रहेको मन्त्री मेहताले स्पष्ट पार्नुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट