नेभिगेशन
स्वास्थ्य प्रणालीमाथि समेत नयाँ चुनौती

जलवायु परिवर्तनको चपेटामा स्वास्थ्यः हिमालयदेखि मानव स्वास्थ्यसम्म बढ्दो जोखिम

नेपालले छिमेकी मुलुकहरूसँग साझा स्वास्थ्य रणनीति बनाउनुपर्ने आवश्यकता

हिमालयमा बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम, अनियमित वर्षा, बाढीपहिरो र वायु प्रदूषणले नेपालको जनस्वास्थ्यमा बहुआयामिक जोखिम सिर्जना गरिरहेका छन् । जलवायु परिवर्तन अब वातावरण र प्राकृतिक स्रोतको मात्र विषय रहेन, यो संक्रामक रोग, मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या, कुपोषण, मातृ तथा बालस्वास्थ्य र मानसिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको जनस्वास्थ्य चुनौती बनेको छ ।

नेपाल हेल्थ न्युज, काठमाडौं । जलवायु परिवर्तनको चर्चा गर्दा सामान्यतया हिमाल पग्लिएको, नदीको बहाव परिवर्तन भएको, वनजङ्गलमा डढेलो लागेको, बाढीपहिरो आएको र खेतीपाती प्रभावित भएको विषय अगाडि आउँछ । तर यी घटनाको अर्को गम्भीर पाटो पनि छ, त्यो हो मानव स्वास्थ्यमा पर्ने असर ।

हिमालय क्षेत्रमा बढ्दो तापक्रम र जलवायुजन्य विपद्ले मानिसको जीवनयापन मात्र प्रभावित गरिरहेको छैन, स्वास्थ्य प्रणालीमाथि समेत नयाँ चुनौती थपिरहेको छ । खानेपानीको उपलब्धता, खाद्य सुरक्षा, सरसफाइ, रोगको संक्रमण, अस्पताल तथा स्वास्थ्य संस्थाको सेवा प्रवाह र मानिसको मानसिक स्वास्थ्यसम्म जलवायु परिवर्तनको प्रभाव विस्तार भइरहेको छ ।

विशेषगरी हिन्दुकुश हिमालय क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको क्षेत्र हो । नेपालसहित अफगानिस्तान, पाकिस्तान, भारत, चीन, भुटान, बङ्गलादेश र म्यानमारका केही भूभाग समेटिएको यस क्षेत्रको पारिस्थितिक प्रणालीमा आउने परिवर्तनले करोडौँ मानिसको स्वास्थ्य र जीवनयापन प्रभावित गर्न सक्छ ।

यही चुनौतीलाई ध्यानमा राख्दै तुर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) का अवसरमा नेपालले क्षेत्रीय सहकार्यको विषयलाई प्राथमिकताका साथ उठाएको छ ।

नेपाल पेभिलियनमा आयोजित ‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक साइड इभेन्टलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरले राष्ट्रिय सीमा नचिन्ने भएकाले क्षेत्रीय सहकार्य र साझा संयन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले जलवायु जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन, प्रविधि हस्तान्तरण, ज्ञान आदानप्रदान र सफल अभ्यासहरूको विस्तारका लागि नीतिगत समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
मन्त्री खनालले उठाउनुभएको क्षेत्रीय सहकार्यको विषय वातावरण संरक्षणमा मात्र सीमित छैन । यसलाई जनस्वास्थ्यसँग जोडेर हेर्दा हिमालय क्षेत्रमा जलवायु परिवर्तनले सिर्जना गरिरहेको स्वास्थ्य जोखिमको सामना गर्न नेपालले छिमेकी मुलुकहरूसँग साझा स्वास्थ्य रणनीति बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

किनकि एउटा देशमा परेको बाढी, हिमताल विस्फोट वा खडेरीले अर्को देशको पानी, खाद्य सुरक्षा, सरुवा रोगको जोखिम र स्वास्थ्य सेवासम्म प्रभाव पार्न सक्छ ।
 

तापक्रम वृद्धिसँगै बढ्दै स्वास्थ्य जोखिम
जलवायु परिवर्तन र स्वास्थ्यबीचको सम्बन्धलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि आधारभूत खतराका रूपमा व्याख्या गरेको छ । सङ्गठनका अनुसार जलवायु परिवर्तनले अत्यधिक गर्मी, बाढी, खडेरी, आँधी, डढेलो र अन्य चरम मौसमी घटनामार्फत मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ । यसले संक्रामक रोग, नसर्ने रोग, कुपोषण तथा मानसिक स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँछ । 

तापक्रम बढ्दा सबैभन्दा पहिले देखिने स्वास्थ्य समस्यामध्ये गर्मीजन्य रोग प्रमुख हो । अत्यधिक गर्मीका कारण शरीरको तापक्रम नियन्त्रण गर्ने प्राकृतिक प्रक्रिया प्रभावित हुन्छ । यसले शरीरमा पानीको कमी, तापजन्य थकान र गम्भीर अवस्थामा हिट स्ट्रोकको जोखिम बढाउँछ ।

यस्तो जोखिम विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, दीर्घरोगी तथा खुला ठाउँमा काम गर्ने श्रमिकमा बढी हुन्छ । गर्मीले मुटु, मिर्गौला, श्वासप्रश्वास तथा मधुमेहसम्बन्धी समस्या भएका व्यक्तिको स्वास्थ्य अवस्था थप जटिल बनाउन सक्छ ।


डब्लुएचओले सन् २०००–२००४ को तुलनामा सन् २०१७–२०२१ मा ६५ वर्षभन्दा माथिका व्यक्तिमा गर्मीसम्बन्धी मृत्युदर करिब ८५ प्रतिशत बढेको उल्लेख गरेको छ । त्यस्तै, सन् २००० देखि २०१९ सम्मको अध्ययनले विश्वभर प्रतिवर्ष औसत चार लाख ८९ हजार मानिसको मृत्यु गर्मीका कारण हुने अनुमान गरेको छ । तीमध्ये ४५ प्रतिशत मृत्यु एसियामा हुने गरेको छ । 

नेपालमा पनि तराईका जिल्लामा गर्मीको तीव्रता बढ्दै जाँदा गर्मीजन्य स्वास्थ्य समस्या चुनौतीका रूपमा देखिएको छ । गर्मीका कारण रक्तचापमा उतारचढाव, मुटुसम्बन्धी समस्या, मिर्गौलामा असर तथा काम गर्ने क्षमतामा कमी आउन सक्छ। विशेषगरी कृषि, निर्माण, यातायात र अन्य खुला क्षेत्रमा काम गर्ने श्रमिक बढी जोखिममा हुन्छन् ।

तर जलवायु परिवर्तनको स्वास्थ्य प्रभाव गर्मीमा मात्र सीमित छैन । तापक्रम र वर्षाको ढाँचामा आउने परिवर्तनले लामखुट्टे तथा अन्य रोग सार्ने कीराको प्रजनन र फैलावटलाई समेत प्रभावित गर्छ ।


डेंगु, मलेरिया र अन्य संक्रामक रोगको जोखिम
नेपालमा जलवायु परिवर्तनसँग जोडिएको प्रमुख जनस्वास्थ्य चुनौतीमध्ये लामखुट्टेबाट सर्ने रोगको विस्तार पनि एक हो । तापक्रम, वर्षा र वातावरणीय अवस्थाले लामखुट्टेको जीवनचक्र, प्रजनन र रोग सार्ने क्षमतामा प्रभाव पार्छ ।
पहिले तराईका गर्मी क्षेत्र र सीमित भूभागमा बढी देखिने डेंगु अहिले पहाडी क्षेत्र र सहरी क्षेत्रमा समेत फैलिएको छ । काठमाडौं, पोखरा र अन्य पहाडी सहरमा डेंगु संक्रमण देखिनु यस परिवर्तनको एउटा महत्त्वपूर्ण उदाहरण हो ।

सन् २०२५ मा प्रकाशित ‘इन्क्रिस्ट थर्मल सुटबिलिटी एलिभेट्स द रिस्क अफ डेङ्गु ट्रान्समिसन अक्रस द मिड हिल्स अफ नेपाल’ शीर्षकको अनुसन्धानले नेपालको डेंगु जोखिमबारे महत्वपूर्ण तथ्य प्रस्तुत गरेको छ ।

सन् २००१ देखि २०२० सम्मको तापक्रमसम्बन्धी तथ्याङ्क र वैज्ञानिक मोडल प्रयोग गरी गरिएको उक्त अध्ययनले नेपालको करिब आधा भूभाग वर्षको कम्तीमा एक महिना डेंगु संक्रमणका लागि अनुकूल तापीय अवस्था भएको देखाएको छ । केही क्षेत्रमा वर्षको नौ महिनासम्म संक्रमणको जोखिम अनुकूल रहन सक्ने अध्ययनको निष्कर्ष छ ।


अध्ययनले काठमाडौं र पोखराजस्ता पहाडी सहरी क्षेत्रमा पनि डेंगु सार्ने लामखुट्टेका लागि अनुकूल तापक्रम रहने अवधिमा परिवर्तन देखाएको छ । सन् २००१–२०१० को तुलनामा वर्षमा कम्तीमा ६ महिनासम्म डेंगु संक्रमणका लागि अनुकूल तापक्रममा रहने जनसङ्ख्याको अनुपात एडिज एजिप्टाई का लागि १८ प्रतिशत र एडिज एल्बोपिक्टस का लागि २० प्रतिशतले बढेको अध्ययनले देखाएको छ । 
दूषित पानी, खाद्य असुरक्षा र कुपोषणको चुनौती
जलवायु परिवर्तनले पानी र खाद्य सुरक्षामा पार्ने असर पनि मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको छ । बाढीपहिरोका कारण खानेपानीका मुहान, पाइपलाइन र वितरण प्रणालीमा क्षति पुग्न सक्छ। बाढीको पानीले खानेपानीका स्रोत दूषित बनाउँदा झाडापखाला, हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्छ ।

त्यस्तै लामो खडेरी, अनियमित वर्षा र बाली उत्पादनमा आउने गिरावटले खाद्यान्नको उपलब्धता र मूल्यमा प्रभाव पार्न सक्छ । यसले विशेषगरी आर्थिक रूपमा कमजोर परिवार, बालबालिका, गर्भवती महिला र पोषणको जोखिममा रहेका समुदायलाई बढी प्रभावित गर्छ ।

खाद्यान्नको उत्पादन मात्र होइन, त्यसको पोषण गुणस्तर र विविधतामा समेत जलवायु परिवर्तनको प्रभाव पर्न सक्छ । पर्याप्त र पोषणयुक्त खाना उपलब्ध नहुँदा बालबालिकामा कुपोषण, पुड्कोपन तथा रोगसँग लड्ने क्षमतामा कमी आउने जोखिम हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले जलवायु परिवर्तनले खाद्य प्रणालीलाई प्रभावित पार्दै कुपोषण र खाद्य असुरक्षाको जोखिम बढाउने उल्लेख गरेको छ । पानी तथा खाद्यजन्य रोगको जोखिमसमेत बढ्ने भएकाले जलवायु अनुकूलनलाई खानेपानी, सरसफाइ र पोषण कार्यक्रमसँग जोड्नुपर्ने देखिन्छ । 


वायु प्रदूषण र श्वासप्रश्वाससम्बन्धी रोग
जलवायु परिवर्तन र वायु प्रदूषण एकअर्कासँग सम्बन्धित समस्या हुन् । जीवाश्म इन्धनको प्रयोग, उद्योग, सवारीसाधन र अन्य स्रोतबाट निस्कने हरितगृह ग्यासले पृथ्वीको तापक्रम बढाउँछन्। त्यही प्रक्रियासँग जोडिएका प्रदूषकले वायु प्रदूषणसमेत बढाउँछन् ।

अर्कोतर्फ, बढ्दो तापक्रम, लामो खडेरी र डढेलोले धुवाँ तथा सूक्ष्म कणको मात्रा बढाउन सक्छ । यसले दम, दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (सीओपीडी), श्वासप्रश्वासको संक्रमण र मुटुरोगको जोखिम बढाउन सक्छ।

नेपालका काठमाडौं उपत्यकासहितका सहरी क्षेत्रमा वायु प्रदूषण पहिलेदेखि नै जनस्वास्थ्यको चुनौती बनेको छ । जलवायु परिवर्तनका कारण डढेलो, धुलो र गर्मीजन्य प्रदूषणको समस्या थपिँदै गएमा यसले स्वास्थ्य सेवाको मागसमेत बढाउन सक्छ ।

नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको हेल्थ नेशनल एडप्सन प्लान (एचएनएपी) २०२४ ले पनि वायु प्रदूषण र धुवाँसँग सम्बन्धित नसर्ने तथा श्वासप्रश्वाससम्बन्धी रोगलाई जलवायु परिवर्तनसँग जोडिएको स्वास्थ्य जोखिमका रूपमा पहिचान गरेको छ । 

मानसिक स्वास्थ्यमा पनि जलवायु परिवर्तनको असर
जलवायु परिवर्तनको अर्को कम चर्चित तर महत्वपूर्ण पक्ष मानसिक स्वास्थ्य हो । बाढीपहिरो, डुबान, खडेरी र अन्य प्राकृतिक विपद्ले मानिसको घर, सम्पत्ति, जीविकोपार्जन र सामाजिक सम्बन्धमा क्षति पु¥याउँछन् । यस्तो अवस्थाले प्रभावित व्यक्तिमा चिन्ता, तनाव, असुरक्षा र दीर्घकालीन मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

विपद्का कारण घरबार छोड्नुपर्ने, परिवारबाट छुट्टिनुपर्ने वा जीविकोपार्जनको आधार गुमाउनुपर्ने अवस्थाले मानसिक स्वास्थ्यमा थप दबाब सिर्जना गर्छ। किसानले लामो समयसम्म खडेरी वा बाली नष्ट हुने समस्या भोग्दा आर्थिक तनाव र भविष्यप्रतिको अनिश्चितता बढ्न सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनले जलवायुजन्य विपद् र विस्थापनका कारण तत्कालीन तथा दीर्घकालीन मानसिक स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने उल्लेख गरेको छ । त्यसैले विपद् व्यवस्थापनमा उद्धार र राहतसँगै मनोसामाजिक सहयोग तथा मानसिक स्वास्थ्य सेवालाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी), इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड), इन्स्टिच्युट फर ग्लोबल इन्भाइरोन्मेन्टल स्ट्राटेजिज र संयुक्त राष्ट्रसङ्घीय विश्वविद्यालयले सन् २०२६ मा सार्वजनिक गरेको ’ह्युमन सेक्युरिटी अन्डर क्लाइमेट स्ट्रेस इन द हिन्दुकुश हिमालय रिजन’ प्रतिवेदनले यस क्षेत्रका जलवायुजन्य जोखिमको अन्तरसम्बन्धलाई उजागर गरेको छ ।


अफगानिस्तान, भारत, नेपाल र पाकिस्तानलाई केन्द्रमा राखेर गरिएको उक्त अध्ययनले हिन्दुकुश हिमालय क्षेत्रका करिब दुई अर्ब मानिसको जीवन पानी, खाद्य तथा ऊर्जा प्रणालीसँग जोडिएको उल्लेख गरेको छ ।  जलवायु परिवर्तनले यी प्रणालीमा पार्ने प्रभावले खाद्य सुरक्षा, जीविकोपार्जन, बसाइँसराइ र समग्र मानव कल्याणमा एकसाथ जोखिम सिर्जना गर्न सक्ने प्रतिवेदनको निष्कर्ष छ ।  अन्ततः जलवायु परिवर्तनविरुद्धको लडाइँ पृथ्वी जोगाउने अभियान मात्र होइन, मानव स्वास्थ्य, जीवन र भावी पुस्ताको भविष्य जोगाउने अभियान पनि हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष