नेभिगेशन

लोक सेवा आयोगद्वारा ठूलो संख्यामा कर्मचारी माग, कम्प्युटर, स्वास्थ्य र इन्जिनियरिङ क्षेत्रमा अवसर: कुन पदमा कति जना ?

नेपाल हेल्थ न्युज, काठमाडौं । लोक सेवा आयोगले निजामती सेवा, सङ्घीय संसद् सेवा, राष्ट्रिय मानव अधिकार सेवा तथा नेपाल स्वास्थ्य सेवाका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन आह्वान गरेको छ।

आयोगको केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार राजपत्राङ्कित तृतीय श्रेणी, अधिकृत तृतीय श्रेणी (शाखा अधिकृत वा सो सरह) तथा स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त माग गरिएको हो। आयोगले विभिन्न सेवातर्फ बढुवासम्बन्धी सूचना पनि प्रकाशन गरेको छ।

आयोगका अनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामा सहभागी हुन इच्छुक र योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

मंसिर १५ सम्म नियमित दस्तुरमा आवेदन दिन सकिने

विज्ञापनअनुसार उम्मेदवारले नियमित दस्तुर तिरी २०८३ मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरी मंसिर २२ गतेसम्म दरखास्त दिन पाउनेछन्। दोब्बर दस्तुर बुझाउने अवधि मंसिर २३ गते समाप्त हुनेछ।

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर १ हजार २०० रुपैयाँ तोकिएको छ। एउटै सेवा तथा समूहअन्तर्गत थप समावेशी समूहमा आवेदन दिँदा प्रत्येक अतिरिक्त समूहका लागि ४०० रुपैयाँ थप दस्तुर बुझाउनुपर्नेछ।

उमेरको हद कति ?

निजामती सेवा तथा राष्ट्रिय मानव अधिकार सेवातर्फ आवेदन दिन २०८३ मंसिर १५ गतेसम्म २१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेदवारका हकमा भने अधिकतम उमेर सीमा ४० वर्ष कायम गरिएको छ। त्यस्तै, नेपाल स्वास्थ्य सेवातर्फ आवेदन दिन उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

बढुवाका लागि मंसिर २९ गतेसम्म दरखास्त

आयोगले निजामती सेवा तथा राष्ट्रिय मानव अधिकार सेवातर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवासम्बन्धी सूचना पनि जारी गरेको छ।

बढुवाका सम्भाव्य उम्मेदवारले निर्धारित दरखास्त फाराम भरी २०८३ मंसिर २९ गतेभित्र आवेदन बुझाउनुपर्नेछ। काठमाडौँ उपत्यकाभित्रका उम्मेदवारले दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा र उपत्यकाबाहिरका उम्मेदवारले आयोगका सम्बन्धित कार्यालयमा दरखास्त बुझाउन सक्नेछन्।

परीक्षाको पाठ्यक्रम, विज्ञापनअनुसार पद सङ्ख्या, परीक्षा केन्द्र, आवश्यक योग्यता तथा अन्य विस्तृत विवरण लोक सेवा आयोगको आधिकारिक वेबसाइट www.psc.gov.np मा उपलब्ध रहेको आयोगले जनाएको छ। इच्छुक उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणाली psconline1.psc.gov.np मार्फत आवेदन दिन सक्नेछन्।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट