नेभिगेशन

राप्ती प्रतिष्ठानमा एक महिनामै मुटुको ७ जटिल शल्यक्रिया

नेपाल हेल्थ न्युज, दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुटुसम्बन्धी जटिल रोगको उपचार सेवा विस्तार गरेसँगै यस क्षेत्रका बिरामीलाई ठूलो राहत मिल्ने भएको छ। प्रतिष्ठानमा कोरोनरी एन्जियोग्राफी तथा एन्जियोप्लास्टी सेवा सञ्चालनमा आएपछि मुटुको रक्तनलीमा समस्या भएका बिरामीले अब जिल्लामै विशेषज्ञ उपचार पाउने भएका छन्।

यसअघि मुटुरोगको उपचारका लागि दाङसहित रोल्पा, रुकुम, प्युठान र सल्यानका बिरामी नेपालगन्ज, बुटवल तथा काठमाडौंसम्म पुग्नुपर्ने अवस्था थियो। तर प्रतिष्ठानमा आवश्यक प्रविधि र विशेषज्ञ जनशक्तिसहित सेवा सुरु भएपछि लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता क्रमशः कम हुने अपेक्षा गरिएको छ।

मुटुरोगको उपचारलाई प्रभावकारी बनाउन प्रतिष्ठानले क्याथ ल्याबसहित आवश्यक आधुनिक उपकरणको व्यवस्था गरेको छ। साथै, उपचारमा आर्थिक समस्या भएका नागरिकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठानले विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृत हुन आवश्यक प्रक्रिया अघि बढाएको छ। कोषमा आबद्ध भएपछि बिरामीले उपचारमा थप सहुलियत पाउने अपेक्षा गरिएको छ।

प्रतिष्ठानमा मुटुसम्बन्धी विशेषज्ञ उपचार सेवा फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेतीको नेतृत्वमा सञ्चालन भइरहेको छ। इन्टरभेन्सनल कार्डियोलोजी सेवाको जिम्मेवारी सम्हालिरहेका डा. उप्रेतीका अनुसार कोरोनरी एन्जियोग्राफीबाट उक्त सेवा औपचारिक रूपमा अघि बढाइएको हो।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले मुटुरोगका बिरामीका लागि छुट्टै बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा रहेको जानकारी दिए। उनका अनुसार कार्डियोलोजी विभागमार्फत विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउनुका साथै उपचार र शल्यक्रियासम्बन्धी सुविधा पनि विस्तार हुँदै गएको छ। उनले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आवश्यक उपकरण र पूर्वाधार थप्ने कार्यलाई प्राथमिकता दिइएको बताए।

प्रतिष्ठानको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज महिनामा मात्रै १९७ जनाले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा लिएका छन्। तीमध्ये १९० जना बिरामीले ओपीडीबाट उपचार गराएका थिए भने सातजनालाई अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। यसै अवधिमा डा. उप्रेती नेतृत्वको चिकित्सक टोलीले मुटुसम्बन्धी सातवटा साना तथा ठूला शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको प्रतिष्ठानले जनाएको छ।

मुटुको रक्तनलीसम्बन्धी उपचारका लागि आवश्यक प्रविधि, उपकरण र विशेषज्ञ चिकित्सकको उपलब्धताले लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रसहित आसपासका जिल्लाका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। प्रतिष्ठानमा सेवा विस्तार हुँदै जाँदा उपचारका लागि बाहिरी जिल्लामा निर्भर हुनुपर्ने अवस्थासमेत घट्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट