नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा, पर्वतारोहण तथा पर्यटनका क्रममा हुने लेक लाग्ने समस्याको रोकथाम, उपचार र आकस्मिक उद्धारलाई व्यवस्थित बनाउन ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ जारी गरेको छ ।
स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाले तयार पारेको मापदण्डले समुद्री सतहदेखि २ हजार ५०० मिटर वा सोभन्दा बढी उचाइमा देखिने लेक लाग्ने समस्याको समयमै पहिचान, उपचार र उद्धारमा जोड दिएको छ ।
मापदण्डअनुसार २ हजार ५०० मिटरभन्दा माथि उकालो चढ्दा अघिल्लो रात बसेको स्थानभन्दा दैनिक ३०० देखि ५०० मिटरभन्दा बढी उचाइमा नपुग्न, प्रत्येक एक हजार मिटर उचाइ चढेपछि कम्तीमा दुई रात विश्राम गर्न तथा पर्याप्त पानी र कार्बोहाइड्रेटयुक्त खाना खान सुझाव दिइएको छ ।
लेक लाग्ने समस्या देखिएमा थप उचाइमा जान रोक लगाउने, आराम गराउने र अवस्था सुधार नभए तत्काल ५०० देखि एक हजार मिटर तल झार्नुपर्ने व्यवस्था गरिएको छ । आवश्यकताअनुसार अक्सिजन तथा प्रेसर ब्याग प्रयोग गरी उपचार गर्न पनि मापदण्डले निर्देश गरेको छ ।
सामान्य लेक लाग्ने समस्यादेखि फोक्सो तथा मस्तिष्क सुन्निने गम्भीर अवस्थासम्मको पहिचान र उपचारका लागि एसिटाजोलामाइड, डेक्सामेथासोन र निफेडिपिनलगायत औषधिको प्रयोगसम्बन्धी व्यवस्था गरिएको छ ।
त्यस्तै, हिमाली क्षेत्रका स्वास्थ्य संस्थामा १७ प्रकारका आकस्मिक औषधि तथा पल्स अक्सिमिटर, ईसीजी मेसिन, स्ट्रेचर, हाइपोथर्मिया ब्ल्याङ्केट र स्याटेलाइट सञ्चार उपकरण अनिवार्य मौज्दात राख्नुपर्ने मापदण्डमा उल्लेख छ ।
मापदण्ड कार्यान्वयनका लागि संघीय सरकारले नीति, बजेट तथा अनुगमन, प्रदेश सरकारले स्वास्थ्यकर्मीको क्षमता विकास र स्थानीय तहले स्वास्थ्य संस्थामा औषधि तथा उपकरणको उपलब्धता, आकस्मिक सेवा र बिरामीको प्रेषण प्रणाली सुनिश्चित गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।
सरकारले यस व्यवस्थाबाट उच्च हिमाली पर्यटनलाई सुरक्षित बनाउनुका साथै लेक लाग्ने समस्याका कारण हुने मानवीय क्षति न्यूनीकरण गर्ने लक्ष्य लिएको छ ।
नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको अध्यक्षमा डा. दिप्तेश अर्याल
आइतबार, कात्तिक २९, २०८३
जाडो महिनामा निमोनियाबाट कसरी बच्ने ?
आइतबार, कात्तिक २९, २०८३
क्रिटिकल केयर नर्सेस एसोसिएसनको अध्यक्षमा बरुणा पौडेल निर्वाचित
आइतबार, कात्तिक २९, २०८३
२७ महिनामा भक्तपुर क्यान्सर अस्पतालमा सेवाको दायरा विस्तारः बाल क्यान्सर उपचारदेखि अस्पताल डिजिटलाइजेसनसम्म
शुक्रबार, कात्तिक २७, २०८३
