नेभिगेशन
सघन उपचार सेवाको गुणस्तर र बिरामी सुरक्षामा नयाँ नेतृत्वको जोड

नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको अध्यक्षमा डा. दिप्तेश अर्याल

४० भन्दा बढी देशका विशेषज्ञ सहभागी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

नेपाल हेल्थ न्युज, काठमाडौं । नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससीसीएम) को सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा डा. दिप्तेश अर्याल चयन हुनुभएको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा डा. सविन कोइराला, महासचिवमा डा. प्रदीप तिवारी र कोषाध्यक्षमा डा. ललितकुमार राजवंशी चयन हुनुभएको छ। त्यसैगरी सहसचिवमा डा. किशोर खनाल र सहकोषाध्यक्षमा डा. सचित शर्मा चयन हुनुभएको छ।

कार्यसमिति सदस्यमा डा। विपिन कारी, डा. शुभकल्याण श्रेष्ठ, डा. वसन्त गौली र डा.कल्पना खर्बुजा चयन हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष प्रा. डा. रविराम श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

नेपालमा सघन उपचार सेवाको विकास, विस्तार र गुणस्तर अभिवृद्धिका लागि काम गर्दै आएको एनएससीसीएम सघन उपचार विशेषज्ञहरूको व्यावसायिक संस्था हो।

यसैबीच, काठमाडौंस्थित होटल र्‍याडिसनमा कात्तिक २७ र २८ गते सघन उपचारसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा वर्ल्ड फेडेरेसन अफ क्रिटिकल केयर नर्सेस (डब्लुएफसीसीएन) को २१औँ विश्व सम्मेलन, एनएससीसीएमको आठौँ अन्तर्राष्ट्रिय सम्मेलन र क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपाल (सीसीएनएएन) को पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन एकैसाथ आयोजना गरिएको थियो।

‘एउटै समूह, एउटै लक्ष्य, न्यून तथा मध्यम आय भएका देशमा सघन उपचारको गुणस्तर र सुरक्षा अभिवृद्धि’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा ४० भन्दा बढी देशका १०० भन्दा बढी अन्तर्राष्ट्रिय विशेषज्ञ तथा विज्ञ र ८०० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो।

सम्मेलनले सघन उपचार सेवाको गुणस्तर र बिरामीको सुरक्षा अभिवृद्धिका लागि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीबीचको सहकार्य, ज्ञान आदानप्रदान र अन्तर्राष्ट्रिय अनुभवको आदानप्रदानलाई विशेष प्राथमिकता दिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष