नेभिगेशन

विश्व सीओपीडी दिवस: फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ

नेपाल हेल्थ न्युज, काठमाडौं । प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो बुधबार विश्वभर ‘विश्व सीओपीडी दिवस’ मनाइन्छ। यस वर्ष ‘राम्रो जीवनका लागि शीघ्र पहिचान र व्यवस्थापन’ भन्ने नारासहित यो दिवस मनाइँदैछ। दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी यो रोगबारे विश्वभर जनचेतना फैलाउनु र समयमै यसको रोकथाम तथा उपचार गर्नु यसको मुख्य उद्देश्य हो।

हाम्रो समाजमा धेरैले दम, खोकी वा सास फेर्न गाह्रो हुने समस्यालाई सामान्य उमेर वा चिसो लागेर हुने समस्या भन्ने ठान्दछौं, तर यो गम्भीर प्रकारको फोक्सोको रोग सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) पनि हुन सक्दछ। 

१. सीओपीडी भनेको के होर ?

सीओपीडी भनेको फोक्सोको एक दीर्घकालीन (लामो समयसम्म रहने) र क्रमश बढ्दै जाने स्वास नली र फोक्सोको  रोग हो। यस रोगमा फोक्सोका वायुनलीहरू साँघुरा हुन्छन् र हावा थैलीहरू (एल्भिओलाई) बिग्रन्छन्। परिणामस्वरुप, फोक्सोमा हावाको आवतजावतमा कठिनाइ आउँछ र बिरामीलाई श्वास फेर्न असहज हुन्छ।

मुख्य लक्षणहरू:

  • लामो समयसम्म खोकी लाग्ने: विशेष गरी बिहान उठ्नेबित्तिकै बढी खोकी लाग्ने।  
  • खकार आउने: खोकीसँगै बाक्लो खकार आउनु।  सास फुल्ने: अलिकति हिँड्दा, भर्याङ वा उकालो चढ्दा वा भारी बोक्दा अस्वभाविक रूपमा सासमा कठिनाइ हुनु।  
  • घ्यारघ्यार आवाज आउनु: सास फेर्दा छातीबाट घ्यारघ्यार आवाज आउनु।  छाती भारी हुनु वा दुख्नु।

रोग लाग्ने प्रमुख कारणहरू:  

  • चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन: यो यसको सबैभन्दा मुख्य कारण हो (कुल बिरामीको ८०-९०% मा यही कारण देखिन्छ)।  
  • घरायसी धुवाँ: नेपालका गाउँघर तथा शहरहरूमा दाउरा, गुइँठा बाल्दा भान्सामा निस्कने धुवाँको दीर्घकालीन असर।  
  • वायु प्रदूषण र धुलो: शहरको धुलोधुवाँ र कारखानामा निस्कने रासायनिक धुवाँ।  वंशाणुगत कारण तथा बाल्यकालमा हुने फोक्सोका बारम्बार संक्रमण।

२. सीओपीडीबाट कसरी बच्नेर ? (रोकथामका उपायहरू)

सीओपीडीबाट बच्ने र यसको गति रोक्ने सबैभन्दा प्रभावकारी उपाय भनेको यसका जोखिमका कारकहरूबाट बाट बच्नु नै हो।  

  • धूम्रपान पूर्ण रूपमा त्याग गर्ने: यदि तपाईं चुरोट वा सुर्ती खानुहुन्छ भने आजैदेखि बन्द गर्नुहोस्। यसले फोक्सोको कार्यक्षमता थप बिग्रनबाट बचाउँछ।  
  • धुवाँबाट बच्ने: भान्सामा खाना पकाउँदा धुवाँरहित चुलो जस्तै-बायोग्याएस, एलपीजी ग्यास, विद्युतीय चुलो वा राम्रो भेन्टिलेसन (हावा आवतजावत गर्न सक्ने) भएको भान्साको प्रयोग गर्ने।   
  • कार्यस्थलको सुरक्षा: धुलो, धुवाँ र रासायनिक गन्ध आउने ठाउँमा काम गर्दा अथवा जाँदाखेरि सुरक्षित मास्क वा सुरक्षात्मक उपकरण प्रयोग गर्ने।  
  • रोग प्रतिरोधात्मक क्षमता बढाउने: रुघाखोकी र फ्लुबाट बच्न चिकित्सकको सल्लाह अनुसार समयमै इन्फ्लुएन्जा  र निमोनियाविरुद्धको खोप लगाउने। यसले फोक्सोमा हुने घातक संक्रमणबाट बचाउँछ।

COPD-1-1794981431.png
३. उपचार विधि:

  • यस रोगलाई पूर्ण रूपमा निको पार्न त सकिंदैन, तर सही उपचार विधि अपनाएमा बिरामीले एकदमै सहज र आरामदायी जीवन बिताउन सक्छन्।  
  • इन्हेलरको सहि प्रयोग:  सीओपीडीको उपचारमा मुखबाट तान्ने औषधी (इन्हेलर वा पम्प) सबैभन्दा प्रभावकारी मानिन्छ। यसले सिधै फोक्सोको नलीमा पुगी सास फेर्न सहज बनाउँछ। डाक्टरको सल्लाह बिना पम्प छाड्नु हुँदैन।
  • बिरामीको रोगको अवस्था अनुसार चिकित्सकले खाने औषधिहरू पनि प्रयोग गर्न सक्दछन्।  
  • पुनर्स्थापना र व्यायाम (Pulmonary Rehabilitation): चिकित्सक र फिजियोथेरापिस्टको सल्लाह बमोजिम हल्का शारीरिक व्यायाम, श्वासप्रश्वासका विशेष अभ्यासहरू गर्दा फोक्सोको कार्यक्षमतामा बल पुग्दछ।  
  • अक्सिजन थेरापी: रगतमा अक्सिजनको मात्रा कम भएका बिरामीहरूका लागि चिकित्सकको सल्लाहमा नियमित वा आवश्यक पर्दा अक्सिजन लिनुपर्छ।  
  • सन्तुलित आहार र पोषण: शरीरको तौललाई सन्तुलनमा राख्न पोषिलो खाना खाने। धेरै पेट भरेर खानुभन्दा थोरै(थोरै गरी दिनमा धेरै पटक खानु राम्रो हुन्छ।
  • यस रोगका बिरामीहरूलाई खासै खानेकुराहरु बार्नु आवश्यक छैन।  प्रोटिन युक्त खानेकुरा, सागपात, फलफुल र प्राकृतिक रुपमा आएका खानेकुराहरुमा विशेष जोड दिँदाखेरि स्वस्थ रहन र यस रोगमा पनि फाइदा पुग्दछ।

कहिले जाने त अस्पताल ?

यदि तपाईंलाई वा तपाईंको परिवारका कसैलाई लामो समयदेखि खोकी छ, सामान्य हिँडडुल गर्दा पनि सास फुलेर गाह्रो हुन्छ भने ढिला नगरी सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ। विशेष गरी ओठ वा नङ नीलो हुने, अचानक अत्यधिक सास फुल्ने, छातीमा तीव्र पीडा हुने वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त आकस्मिक कक्षमा लगी उपचार गराउनु पर्छ। समयमै पहिचान गरौँ, धूम्रपान त्यागौँ र फोक्सोलाई स्वस्थ राखौँस् यस रोगको समयमै उपचार गरेमा सीओपीडीका बिरामीले पनि स्वस्थ र हँसिलो जीवन बिताउन सक्छन्। 

(डा. महत ग्रान्डी इन्टरनेशनल हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट