नेभिगेशन

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यक : मन्त्री मेहता

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक प्रतिरोध (एएमआर) को बढ्दो जोखिम नियन्त्रण तथा न्यूनीकरणका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, खाद्य प्रणाली र वातावरण क्षेत्रबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२६ को अवसरमा भिडियो सन्देश जारी गर्दै मन्त्री मेहताले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यमा मात्र सीमित नभई बहुक्षेत्रीय साझा चुनौतीका रूपमा देखा परेको बताउनुभयो।

उहाँले प्रतिजैविक औषधिले प्रभावकारी रूपमा काम नगर्दा सामान्य सङ्क्रमणको उपचारसमेत कठिन बन्ने र यसले मानव तथा पशु स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्नुभयो।

नेपालमा टाइफाइड, क्षयरोग, मलेरिया, श्वासप्रश्वाससम्बन्धी तथा अस्पतालजन्य सङ्क्रमण गराउने सूक्ष्मजीवमा प्रतिजैविक प्रतिरोध बढ्दै जानु चिन्ताजनक विषय भएको उहाँको भनाइ छ।

मन्त्री मेहताले प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि सरकारले राष्ट्रिय कार्ययोजना तर्जुमा गर्नुका साथै विभिन्न नीति, कार्यक्रम तथा पहल अघि बढाएको जानकारी दिनुभयो।

उहाँले चिकित्सकको सल्लाहबिना आफूखुसी प्रतिजैविक औषधि सेवन नगर्न, स्वास्थ्यकर्मीले आवश्यकताअनुसार मात्र यस्ता औषधि प्रयोग गर्न तथा सङ्क्रमणबाट बच्न खोप, सरसफाइ र हातको स्वच्छतामा विशेष ध्यान दिन सबैलाई आग्रह गर्नुभयो।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियानः प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट