नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले प्रतिजैविक प्रतिरोध (एएमआर) को जोखिम बढ्दै गएको भन्दै चिकित्सकको सल्लाहबिना यस्ता औषधि सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२६ को सन्दर्भमा विभागले यस्तो आग्रह गरेको हो। प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ सम्म मनाइने यस वर्षको सप्ताहको नारा ‘एक स्वास्थ्य, एक अभियानः प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ रहेको छ।
विभागका अनुसार एन्टिबायोटिकसहितका प्रतिजैविक औषधिको अनावश्यक र अत्यधिक प्रयोगले सूक्ष्मजीवमा औषधिको प्रभावविरुद्ध प्रतिरोध गर्ने क्षमता विकास भइरहेको छ। यसको परिणामस्वरूप सामान्य संक्रमणको उपचारसमेत कठिन र चुनौतीपूर्ण बन्दै गएको छ।
प्रतिजैविक प्रतिरोधले मानिसको स्वास्थ्यमा मात्रै नभई पशुपन्छी, कृषि क्षेत्र तथा खाद्य सुरक्षामा समेत नकारात्मक असर पार्ने विभागले जनाएको छ।
विभागले औषधि सेवन गर्दा चिकित्सकले निर्धारण गरेको मात्रा र समयावधि पालना गर्न तथा आफूखुसी एन्टिबायोटिक प्रयोग नगर्न अनुरोध गरेको छ। आवश्यकताअनुसार र जिम्मेवार ढंगले प्रतिजैविक औषधि प्रयोग गर्नु नै यसको प्रभावकारिता जोगाउने महत्वपूर्ण उपाय भएको विभागको भनाइ छ।
यस्तै, प्रतिजैविक औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता कायम राख्न विभागले नियमन तथा अनुगमनलाई प्राथमिकता दिएको जनाएको छ। चिकित्सकको सिफारिसबिना यस्ता औषधि बिक्री नगर्न तथा ‘रिजर्भ’ समूहमा पर्ने एन्टिबायोटिक अस्पतालका फार्मेसीबाट मात्रै वितरण हुने व्यवस्था कार्यान्वयनमा समेत निगरानी भइरहेको विज्ञप्तिमा उल्लेख छ।
विभागका महानिर्देशक भरत भट्टराईले जारी गरेको विज्ञप्तिमा सचेतना सप्ताहलाई प्रभावकारी बनाउन औषधि थोक तथा खुद्रा व्यवसायी, स्वास्थ्य संस्थाहरू, स्वास्थ्यकर्मी र सम्बन्धित पेशागत संघसंस्थालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
प्रतिजैविक औषधिको सही प्रयोग र जनचेतनाको विस्तारमार्फत भविष्यमा देखिन सक्ने औषधि प्रतिरोधको जोखिम न्यूनीकरण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको विभागले जनाएको छ।
१८ दिने शिशुको मृत्युपछि वीरगञ्जको नेशनल मेडिकल कलेजमा तनाव
बुधबार, मंसिर २, २०८३
प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यक : मन्त्री मेहता
बुधबार, मंसिर २, २०८३
विशेषज्ञ स्वास्थ्य सेवा समुदायमैः भक्तपुरमा बीएन्डबी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
बुधबार, मंसिर २, २०८३
