नेभिगेशन

अत्यधिक धुम्रपानका कारण गायक अनिल सिंहको खुट्टा काट्नुपर्ने अवस्था, धुम्रपान छाड्न सबैलाई आग्रह

नेपाल हेल्थ न्युज, काठमाडौं । चर्चित गायक अनिल सिंहले अत्यधिक धुम्रपानका कारण आफ्नो स्वास्थ्यमा गम्भीर समस्या देखिएको खुलासा गरेका छन्। चिकित्सकले खुट्टा नै काट्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको बताउँदै उनले सबैलाई धुम्रपान त्याग्न आग्रह गरेका छन्।

अस्ट्रेलियामा सांगीतिक कार्यक्रमका लागि पुगेका सिंहले एक भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन्। उनले विगतमा आफू अत्यधिक धुम्रपान गर्ने गरेको र दैनिक दुईदेखि तीन बट्टासम्म चुरोट सेवन गर्ने गरेको बताएका छन्।

उनका अनुसार अत्यधिक धुम्रपानकै कारण स्वास्थ्यमा जटिलता देखिएको हो। काठमाडौंमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सक डा. दिपेश शाक्यले खुट्टा काट्नुपर्ने अवस्था आउन सक्ने बताउँदै तत्काल धुम्रपान छाड्न सुझाव दिएका थिए।

‘दिनको दुई बट्टासम्म चुरोट खान्थेँ। त्यसैले गर्दा समस्या देखियो। काठमाडौंमा चेक गराउँदा डा. दिपेश शाक्यले खुट्टा नै काट्नुपर्छ होला भन्नुभयो। तत्काल धुम्रपान छाड्न सल्लाह दिनुभयो,’ सिंहले भनेका छन्।

चिकित्सकको यस्तो सुझावपछि आफू निकै आत्तिएको उनले बताएका छन्। हाल अस्ट्रेलियामा रहेका सिंहले पहिलेको तुलनामा चुरोटको मात्रा घटाए पनि पूर्ण रूपमा छाड्न नसकेको स्वीकार गरेका छन्। अहिले पनि दैनिक एक–दुई खिल्ली चुरोट सेवन गरिरहेको र त्यसले समेत स्वास्थ्यमा असर गरिरहेको उनको भनाइ छ।

नेपालमा रहँदा धुम्रपानको लत त्याग्न कठिन भइरहेको अवस्थामा अस्ट्रेलिया भ्रमणको अवसर मिलेको उनले बताएका छन्। गत बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका सिंहले त्यहाँको सांगीतिक भ्रमणका क्रममा आफ्नो स्वास्थ्यको विशेष ख्याल राखिरहेको उल्लेख गरेका छन्।

अस्ट्रेलिया टुरमा सँगै रहेका गायक प्रकाश सपूत र गायिका रचना रिमालले आफ्नो स्वास्थ्यको निकै ख्याल राखेको पनि उनले बताएका छन्। विशेषगरी प्रकाश सपूतले चुरोट सेवन नगर्न आफूलाई निगरानी गरिरहेको सिंहको भनाइ छ।

हाल चिकित्सकले सिफारिस गरेका औषधि नियमित सेवन गरिरहेका उनले एडिलेडमा हुने सांगीतिक कार्यक्रमपछि पूर्ण रूपमा धुम्रपान त्याग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिंहले अस्ट्रेलियामा हालै सिड्नी र तास्मानियामा आयोजित ‘नेपाल फेस्टिभल’मा सांगीतिक प्रस्तुति दिइसकेका छन्। आगामी नोभेम्बर २८ मा एडिलेडमा हुने कार्यक्रममा पनि उनले प्रस्तुति दिने तयारी गरेका छन्।

आफ्नो स्वास्थ्यप्रति विगतमा लापरबाही गरेको स्वीकार गर्दै उनले आफ्नो अनुभवबाट पाठ सिक्न सबैलाई आग्रह गरेका छन्। धुम्रपानले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै उनले सबैलाई चुरोट सेवन त्याग्न अपिल गरेका छन्।

‘सबैलाई भन्न चाहन्छु, स्मोकिङ छाड्नुस्,’ उनले भनेका छन्। संगीतमार्फत जीवनभर दर्शक तथा स्रोताको मनोरञ्जन गराइरहने प्रण गरेका सिंहका ‘इन्जिन गाडीमा’, ‘आई लभ यु’, ‘डुब्न देऊ मलाई’, ‘सक्छौ भने’ र ‘चिसो हावाले’ लगायत गीत लोकप्रिय छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट