नेभिगेशन

दाह्रीजुँगा पाल्नुको पछाडि स्वास्थ्य सचेतनाको सन्देश, के हो नो सेभ नोभेम्बर र मुभेम्बर ?

नेपाल हेल्थ न्युज, काठमाडौं । सामान्यतया हरेक दिन वा साता दाह्रीजुँगा काटेर सफा देखिन रुचाउने पुरुषहरू नोभेम्बर महिनामा भने आफ्नो लुक्स परिवर्तन गर्न थाल्छन्। कोही दाह्री बढाउँछन् त कोही जुँगालाई नयाँ आकार दिन्छन्। बाहिरबाट हेर्दा यो फेसन वा व्यक्तिगत रुचिजस्तो देखिए पनि यसको पछाडि एउटा महत्वपूर्ण सामाजिक सन्देश लुकेको हुन्छ।

नोभेम्बर महिनामा सञ्चालन हुने ‘नो सेभ नोभेम्बर’ र ‘मुभेम्बर’ अभियानले पुरुष स्वास्थ्यसम्बन्धी विषयमा समाजको ध्यान आकर्षित गर्ने काम गर्दै आएका छन्। विशेषगरी क्यान्सर, मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे खुला संवाद गर्न यी अभियानले प्रेरित गर्छन्।

के हो नो सेभ नोभेम्बर ?
नो सेभ नोभेम्बर यस्तो अभियान हो, जसमा सहभागीहरूले नोभेम्बर महिनाभरि दाह्री, जुँगा तथा शरीरका रौं खौरिँदैनन्। यस अभियानको मुख्य उद्देश्य क्यान्सरबाट प्रभावित व्यक्तिहरूप्रति समर्थन जनाउनु र रोगसम्बन्धी जनचेतना फैलाउनु हो।

दाह्रीजुँगा काट्न तथा शरीरका रौं हटाउन प्रयोग हुने सामग्री र सेवामा खर्च हुने रकम बचाएर क्यान्सर उपचार, अनुसन्धान तथा पीडितलाई सहयोग गर्न प्रोत्साहन गरिन्छ।

क्यान्सरको उपचारका क्रममा धेरै बिरामीले कपाल तथा शरीरका रौं गुमाउनुपर्ने अवस्था आउँछ। यस्तो परिस्थितिबाट गुज्रिरहेका व्यक्तिहरूको पीडा र संघर्षलाई सम्झिँदै आफूले पनि एक महिनासम्म रौं नकाटेर ऐक्यबद्धता जनाउने अवधारणा यस अभियानसँग जोडिएको छ।

यस अभियानको सुरुआत सन् २००९ मा अमेरिकाको इलिनोइसबाट भएको मानिन्छ। कोलोन क्यान्सरका कारण म्याथ्यु हिलको निधन भएपछि उनको परिवारले उनको सम्झनामा यो अभियान सुरु गरेको थियो।

परिवारले सामाजिक सञ्जालमार्फत नोभेम्बर महिनाभरि रौं नकाट्न र त्यसका लागि खर्च हुने रकम क्यान्सरसम्बन्धी काममा सहयोग गर्न आग्रह गरेको थियो। त्यसपछि अभियानले विस्तारै अन्तर्राष्ट्रिय रूप लिन थाल्यो।

यसमा सहभागी हुन दाह्री बाक्लो हुनैपर्छ वा जुँगा आकर्षक देखिनैपर्छ भन्ने कुनै नियम छैन। अभियानको मूल भावना सहभागी हुनु, स्वास्थ्यबारे सचेतना फैलाउनु र सकेको सहयोग गर्नु हो।

मुभेम्बरमा जुँगामार्फत स्वास्थ्यको सन्देश
नो सेभ नोभेम्बरसँगै नोभेम्बर महिनामा चर्चामा रहने अर्को अभियान हो ‘मुभेम्बर’। यसको नाम अंग्रेजी शब्द ‘मोस्टास’ (जुँगा) र ‘नोभेम्बर’ मिलाएर बनाइएको हो।

यस अभियानमा सहभागी हुने पुरुषहरूले नोभेम्बर महिनाभरि जुँगा पाल्छन्। उनीहरूले जुँगालाई पुरुष स्वास्थ्यबारे छलफल सुरु गर्ने माध्यमका रूपमा प्रयोग गर्छन्।

मुभेम्बर अभियानको सुरुआत सन् २००३ मा अस्ट्रेलियाको मेलबर्नबाट भएको थियो। ट्राभिस गारोन र लुक स्लाटरी नामका दुई साथीले पुरानो शैलीको जुँगालाई पुनः प्रचलनमा ल्याउने विषयमा छलफल गर्दै यसको अवधारणा अघि सारेका थिए।

उनीहरूले आफ्ना ३० जना साथीलाई नोभेम्बर महिनाभरि जुँगा पाल्न आग्रह गरे। सुरुमा मनोरञ्जन र फेसनसँग जोडिएको यो गतिविधि पछि पुरुष स्वास्थ्यसम्बन्धी महत्वपूर्ण अभियानका रूपमा विकसित भयो।

सन् २००४ देखि यस अभियानले पुरुष स्वास्थ्यका क्षेत्रमा आर्थिक सहयोग जुटाउन पनि थाल्यो। प्रोस्टेट क्यान्सर, अण्डकोषको क्यान्सर, मानसिक स्वास्थ्य समस्या र आत्महत्या रोकथाम यसका प्रमुख सरोकारका विषय हुन्।

विश्वभरका चर्चित व्यक्तिको पनि साथ
नोभेम्बर महिनामा सञ्चालन हुने यी अभियानमा मनोरञ्जन तथा खेलकुद क्षेत्रका विभिन्न चर्चित व्यक्तिहरूले समेत सहभागिता जनाउँदै आएका छन्।

हलिउडका कलाकारदेखि गायक र खेलाडीसम्मले दाह्रीजुँगा पालेर स्वास्थ्य सचेतनाको सन्देश फैलाउने प्रयास गरेका छन्। त्यस्तै, भारतका टेलिभिजन कलाकारहरूले पनि विभिन्न वर्षमा नो सेभ नोभेम्बर अभियानलाई समर्थन गरेका थिए।

सन् २०१९ मा शशांक व्यास, मृणाल जैन, अर्जुन बिजलानी, सञ्जय गगनानी र मोहम्मद नाजिमलगायत कलाकार यस अभियानसँग जोडिएका थिए।

यी अभियानको अर्को रोचक पक्ष भनेको जुँगाको शैली र बनोट पनि हो। कसैले आफ्नो जुँगालाई आकर्षक ढंगले सजाउँछन् भने कसैले प्राकृतिक रूपमा बढ्न दिन्छन्। सामाजिक सञ्जालमा पनि सहभागीहरूले आफ्नो नयाँ लुक्स सार्वजनिक गर्दै अरूलाई अभियानमा जोडिन आग्रह गर्ने गरेका छन्।

तर, यी अभियानको वास्तविक उद्देश्य दाह्रीजुँगा कस्तो देखियो भन्ने प्रतिस्पर्धा गर्नु मात्र होइन। यसले उठाउन खोजेको मुख्य विषय पुरुष स्वास्थ्य हो।

नेपालमा पनि बढ्दै छ आकर्षण
पछिल्लो समय नेपालमा पनि नो सेभ नोभेम्बर र मुभेम्बरप्रति युवाहरूको चासो बढ्दै गएको देखिन्छ। सामाजिक सञ्जालमा दाह्रीजुँगासहितका तस्बिर सार्वजनिक गर्ने, साथीभाइलाई अभियानमा सहभागी हुन आग्रह गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने क्रम बढिरहेको छ।

काठमाडौंमा पनि यस वर्ष क्यान्सरसम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न गतिविधि आयोजना गरिएका छन्। एन्ट फाउन्डेसन र नो सेभ नोभेम्बर नेपालको आयोजनामा नोभेम्बर २३ मा ‘रन फर रिजिलियन्सः नो सेभ नोभेम्बर ५के’ दौड आयोजना गरिएको थियो। क्यान्सरबारे जानकारी फैलाउने र यसबाट प्रभावित व्यक्तिहरूप्रति एक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रम गरिएको थियो।

यसअघि साइकल तथा मोटरसाइकल र्‍यालीसमेत आयोजना गरिएका थिए। नोभेम्बर २८ मा ‘लेट्स वाक टुगेदर फर क्यान्सर अवेयरनेस’ नारासहित अर्को कार्यक्रम गर्ने तयारी गरिएको छ।

दाह्रीजुँगाभन्दा ठूलो छ स्वास्थ्यको सन्देश
नो सेभ नोभेम्बर र मुभेम्बरले सामान्य व्यक्तिगत रुचिलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेका छन्। यी अभियानले पुरुषलाई आफ्नो स्वास्थ्यबारे खुलेर कुरा गर्न, समस्यालाई लुकाएर नराख्न र आवश्यक पर्दा चिकित्सकीय तथा मनोवैज्ञानिक सहयोग लिन प्रेरित गर्छन्।

विशेषगरी पुरुषले मानसिक स्वास्थ्यका समस्या खुलेर व्यक्त नगर्ने सामाजिक प्रवृत्तिलाई परिवर्तन गर्न पनि यस्ता अभियान उपयोगी हुन सक्छन्।

एक महिनासम्म दाह्रीजुँगा नखौरिनु वा जुँगा पाल्नु आफैँमा ठूलो उपलब्धि होइन। त्यसबाट समाजमा स्वास्थ्यसम्बन्धी संवाद सुरु हुनु, रोगबारे भ्रम हट्नु र प्रभावित व्यक्तिले साथ तथा सहयोग पाउनु नै यी अभियानको वास्तविक उपलब्धि हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट