नेभिगेशन

औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तर अनिवार्य रूपमा सुनिश्चित गर्न विभागको निर्देशन

नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि उद्योगमा सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुँदै आएको रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर अनिवार्य रूपमा सुनिश्चित गर्न औषधि व्यवस्था विभागले सम्बन्धित उद्योग तथा सरोकारवालालाई निर्देशन दिएको छ।

विभागले जारी गरेको जरुरी सूचनाअनुसार अब औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट आधिकारिक औषधिसम्बन्धी ग्रन्थ (फार्माकोपियल स्ट्यान्डर्ड) मा तोकिएको मापदण्डअनुरूपको हुनुपर्नेछ।

हालसम्म विभिन्न अल्कोहल डिस्टिलरी, चिनी मिललगायत उद्योगबाट व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुँदै आएको रेक्टिफाइड स्पिरिट औषधि उत्पादनका विभिन्न प्रयोजनमा प्रयोग हुँदै आएको छ। तर, यसको उत्पादन तथा प्रशोधन प्रक्रिया आधिकारिक फार्माकोपियामा निर्धारित मापदण्डअनुसार भएरनभएको र सोही मापदण्डबमोजिम परीक्षण तथा विश्लेषण गरिएरनगरिएको सुनिश्चित गर्न आवश्यक रहेको विभागले जनाएको छ।

विभागका अनुसार रेक्टिफाइड स्पिरिटले औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको गुणस्तर सुनिश्चित गर्नु अत्यावश्यक छ।अब औषधि उद्योगहरूले इन्डियन फार्माकोपिया, ब्रिटिस फार्माकोपिया, युनाइटेड स्टेट्स फार्माकोपिया  लगायत मान्यताप्राप्त आधिकारिक फार्माकोपियामा तोकिएका मापदण्ड पूरा गरेको रेक्टिफाइड स्पिरिट मात्र प्रयोग गर्नुपर्नेछ।

विभागले उक्त व्यवस्था सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि अनिवार्य रूपमा लागू हुने जनाएको छ। विभागीय निर्णयअनुसार २०८३ कात्तिक १७ गते यो व्यवस्था गर्ने निर्णय भएको सूचनामा उल्लेख छ।

यसैबीच, सर्भरमा समस्या आएका कारण तत्कालका लागि सूचना विभागको वेबसाइटमा प्रकाशन गर्न नसकिएको विभागले स्पष्ट पारेको छ। समस्या समाधान भएपछि वेबसाइटमा समेत सूचना प्रकाशन गरिने विभागले जनाएको छ।

aushadi-bivag11-1795432491.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट