नेभिगेशन

राष्ट्रिय ट्रमा सेन्टरको १३औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

नेपाल हेल्थ न्युज, काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरले आफ्नो १३औँ वार्षिकोत्सवको अवसर पारेर मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको छ। सेन्टर परिसरमा बिहानैदेखि सञ्चालन भइरहेको कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरिरहेका छन्।

कार्यक्रममा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीसहित अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ।

राष्ट्रिय ट्रमा सेन्टरले बुधबार आफ्नो १३औँ वार्षिकोत्सव मनाउँदैछ। सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मरासिनीका अनुसार २०७१ साल मंसिर ९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा ट्रमा सेन्टरको सेवा शुभारम्भ गरेका थिए। सोही दिनलाई आधार मानेर हरेक वर्ष मंसिर ९ गते वार्षिकोत्सव मनाउने गरिएको हो।

वार्षिकोत्सवको पूर्वसन्ध्यामा सेन्टरले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न अतिरिक्त क्रियाकलापसमेत आयोजना गरेको थियो। यस क्रममा फुटसल प्रतियोगितालगायतका कार्यक्रम सम्पन्न भएका छन्।

आकस्मिक तथा दुर्घटनामा परी घाइते भएका बिरामीको उपचारमा रगतको अभाव हुन नदिन वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमले रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परेको समयमा बिरामीलाई रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट