नेभिगेशन
स्वास्थ्य पत्रकारिता जिम्मेवार र तथ्यमा आधारित हुनुपर्ने

स्वास्थ्य समाचारमा संवेदनशीलता अपनाउन चिकित्सकको आग्रह

पर्याप्त जानकारीबिना प्रकाशित हुने समाचारले बिरामी, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई नकारात्मक असर पार्न सक्ने

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गर्दा उपचार पद्धति, औषधि र अस्पतालको सुरक्षा संवेदनशीलतालाई ध्यान दिन चिकित्सकहरूले सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

प्रेस काउन्सिल नेपालले मंसिर ९ गते आयोजना गरेको ‘मिडियाप्रतिको जनगुनासो र आचारसंहिता’ विषयक अन्तरक्रियामा सहभागी चिकित्सकहरूले स्वास्थ्य पत्रकारिता जिम्मेवार र तथ्यमा आधारित हुनुपर्ने बताएका हुन् ।

उनीहरूले स्वास्थ्य सचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहे पनि पर्याप्त जानकारीबिना प्रकाशित हुने समाचारले बिरामी, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई नकारात्मक असर पार्न सक्ने बताएका थिए ।

चिकित्सकहरूले प्रेस काउन्सिललाई स्वास्थ्य क्षेत्र र सञ्चारमाध्यमबीच समन्वयकारी भूमिका खेल्नसमेत आग्रह गरेका छन् ।

काउन्सिलकी निमित्त अध्यक्ष नम्रता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा न्याम्सका उपकुलपति प्रा.डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. नविसमान सिंह प्रधान, विभिन्न सरकारी तथा निजी अस्पतालका निर्देशक, चिकित्सा क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी थिए ।

कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहराले सहभागीका जिज्ञासाको जवाफ दिनुभएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष